शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, ०३ भदौ २०८१, २१ : ५४
सोमबार, ०३ भदौ २०८१

आज मिति २०८१ साल भदौ महिनाको ३ गते सोमबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. माओवादी बनाउन प्रचण्डमाथि चुनौती

नेकपा माओवादी केन्द्रले गुट र उपगुटका कारण पार्टी कमजोर भएको निष्कर्ष निकालेको छ । साउन ३१ गते सम्पन्न माओवादीको स्थायी समिति बैठकले व्यक्तिगत स्वार्थ र पद प्रतिष्ठा केन्द्रित प्रवृत्तिहरू हाबी हुँदा पार्टीमा विधान र विधि पद्धतिलाई अवलम्बन गर्न नसकिएको समेत निष्कर्ष निकालेको छ ।

पार्टी निर्माणका लागि निजी स्वार्थ केन्द्रित गुट, उप–गुटजन्य प्रवृत्तिहरूलाई दुरुत्साहित गर्दै माओवादीलाई नयाँ उचाइमा लैजानुपर्ने निर्णयसहित आइतबार मातहतका समितिलाई परिपत्र पठाएको एक स्थायी समिति सदस्यले रातोपाटीलाई जानकारी दिए ।

२. बाढी पहिरोको घटना

बाढी, पहिरो लगायतका विपद्‍का घटनामा परी जेठ २८ गतेयता हालसम्म १ सय ९० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय ९० जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैबीच पहिरोमा पुरिएर आइतबार ७ जनाको मृत्यु भएको छ ।

३. जनैपूर्णिमा मनाइयो

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ ।

श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई श्रावणी स्नान पनि भनिन्छ ।

४. फोटो फोटोग्राफी दिवस

आज अगस्त १९ अर्थात विश्व फोटोग्राफी दिवस । यस अवसरमा ललितपुरको पाटन दरबार स्क्वायरमा फोटो प्रर्दशनी गरिएको छ ।

राष्ट्रिय फोटो पत्रकार समुह नेपालद्वारा आयोजना गरिएको सो प्रदर्शनीमा ४५ जना फोटोग्राफर र फोटो पत्रकारको ६० भन्दा बढी फोटोहरु प्रदर्शनीमा राखिएको छ ।

५. घरजग्गाको कारोवार वृद्धि

चालु आर्थिक वर्षको साउनमा ४३ हजार ८३५ वटा जग्गा खरिद बिक्री भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।  गत आर्थिक वर्षको साउन महिनामा ३९ हजार २६३ वटा जग्गा कारोबार भएको थियो ।

जसअनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्षको सोही महिनामा ११‍।६४ प्रतिशतले जग्गा कारोबार बढेको पाइएको छ । घरजग्गा कारोबाट बढेसँगै यस अवधिमा राजस्व सङ्कलनसमेत बढेको छ ।  साउन महिनामा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ बराबर राजस्व सङ्कलन भएको  छ ।

थप आर्थिक समाचार

६. लामिछानेसँग बयानको तयारी

सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।

समितिका एक सदस्यले भदौ ७ गते समितिमा बोलाएर लामिछानेसँग बयान लिने तयारी भइरहेको रातोपाटीलाई जानकारी दिए ।

७. मोर्चाको बैठक

समाजवादी मोर्चाको सचिवालय बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम नसकिएकाले बुधबार बस्ने गरी सकिएको छ । सोमबार दिउँसो एकान्तकुनामा बसेको बैठकमा छलफल जारी नै रहेकाले राजनीतिक दस्ताबेजले पूर्णता नपाएको सदस्य सचिव खड्कबहादुर विश्वकर्माले बताए ।

८. दिल्लीमा परराष्ट्रमन्त्रीको व्यस्तता

राष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय समकक्षीसँग आफ्नो भेट फलदायी भएको बताएकी छन् । राणाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र  विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी हुन् ।

उनले भनेकी छन्, ‘नयाँ दिल्लीमा एस जयशंकरसँग फलदायी भेट भयो । हामीबिच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको थियो । यो भ्रमणले नेपाल र भारतबिचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छु ।’

सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले देश र जनताका पक्षमा राम्रा–राम्रा कामको थालनी गरेको दाबी गरेका छन् । अर्थतन्त्र सुधारका लागि समेत सरकारले राम्रो काम गर्ने उनको भनाइ छ ।

९. भक्तपुर दुर्घटना

भक्तपुरको गठ्ठाघरमा साउन ३१ मा ट्रकले स्कुटरलाई ठक्कर दिएको घटनाबारे दुई वटा छानबिन समितिले काम  गरिरहेका छन् । दुर्घटनामा परेर ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–४ घर भएका उत्तम कोइरालाले ज्यान गुमाएका थिए ।

ट्राफिक प्रहरीले अवैज्ञानिक तरिकाले चेकजाँच गरेको कारण दुर्घटना भएको भनेर नागरिकस्तरबाट आलोचना भएपछि उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय भक्तपुरले दुई वटा छुट्टाछुट्टै छानबिन समिति गठन गरेको थियो । उपत्यका प्रहरी कार्यालयका एसपी प्रजित केसी नेतृत्वको समितिले छानबिन सकेर मंगलबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

१०. प्रदेश समाचार

८ वर्षअघि हेटौँडा उपमहानगरपालिका–१४, स्थित मयुरधापमा शिलान्यास गरिएको ‘मयुरधाप औद्योगिक क्षेत्र’ हालसम्म अलपत्र अवस्थामा रहेको छ । सातै प्रदेशमा एकरएक वटा औद्योगिक क्षेत्र निर्माण गर्ने योजना सहित २०७३ मा औद्योगिक क्षेत्र घोषणा भएअनुसार तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उक्त औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए ।

यो पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप