शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
समाचार

क्यानको कार्यक्रममा प्रधानमन्त्रीको नाम दुरुपयोग !

सोमबार, ०३ भदौ २०८१, २१ : ४१
सोमबार, ०३ भदौ २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम दुरुपयोग भएको पाइएको छ । सोमबार साँझ राजधानीको सोल्टी होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री जाने कुनै कार्यक्रम नभएपनि आयोजकले ‘प्रधानमन्त्री आउने भनेर प्रचार मात्रै गरेन, उनी बिरामी भएको' भन्दै सहभागीलाई ढाँटेको पाइएको हो । 

नेपाल प्रिमियर लिग (एनपीएल)को लोगो सार्वजनिक कार्यक्रममा आयोजकले प्रधानमन्त्री सहभागी हुने भनेर आन्तरिक सर्कुरमात्रै गरेको थिएन उनी आउँदैछन् भनेर निर्धारित समयभन्दा ढिलागरी कार्यक्रम सुरु गरेको क्यानका एक पदाधिकारीले बताए । 

‘उहाँलाई निम्ता दिइनु त स्वाभाविकै हो । तर आउने तय भएको थिएन’, ती पदाधिकारीले भने, ‘तर एकाएक उहाँ आउँदै हुनुहुन्छ भनेर प्रचार गरियो । कार्यक्रमस्थलमा प्रधानमन्त्री आउँदै हुनुहुन्छ भनेर माइकिङसमेत गरियो ।’ क्यानको नेतृत्वकै निर्देशनमा मिडिया संयोजक भानु सिग्देललाई प्रयोग गरेर यसरी आन्तरिक सर्कुलर गर्नुका साथै सहभागीलाई ढाँड्ने काम भएको ती पदाधिकारीले बताए । जवकि मिडियालाई पठाइएको निमन्त्रणापत्रमा समेत प्रधानमन्त्री सहभागी हुने उल्लेख थिएन । 

प्रधानमन्त्रीको सचिवालयले ओली कुनै बिरामी नभएको र उनी क्यानको उक्त कार्यक्रममा जाने कार्यक्रम पनि नबनेको स्पष्ट पारेको छ । ‘प्रधानमन्त्री ल्याउन सकेन भन्ने पर्छ भनेर आयोजकले चलाखी गरेको होला । तर उहाँ जाने कार्यक्रम नै थिएन’, सचिवालयका एक अधिकारीले बताए । बरु प्रधानमन्त्री सोमबार साँझ राष्ट्रिय नाचघरमा आयोजित गाइजात्रा कार्यक्रममा सहभागी भएको उनले बताए । त्यसअघि दिनभर प्रधानमन्त्री विभिन्न कार्यक्रममा सहभागी भएकाले बिरामी भएको भन्ने प्रश्न नै नहुने उनको भनाइ छ । 

सचिवालयले आयोजकले प्रधानमन्त्री बिरामी भएको भन्नु र आउने तय नै नभएको कार्यक्रममा आउँदैछन् प्रचार गर्नु गलत भएको जनाएको छ । 

सोही टी–२० फ्रेन्चाइज लिग आगामी मंसिर १५ गतेदेखि हुन लागेको हो भने त्यसका लागि सोमबार लोगो सार्वजनिक गर्न कार्यक्रम तय भएको हो । सो कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी भने सहभागी भए । उनले सो अवसरमा उनले क्रिकेट खेलाडीका लागि भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको जानकारी दिए । 

उनले भने, ‘क्रिकेट रंगशालाहरू बनाउनका लागि प्राथमिकतामा राखेर धमाधम काम अगाडि बढाएको छु। धनगढी क्रिकेट रंगशाला, चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालगायतका खेल पूर्वाधारहरू मेरै पालामा सुरु गर्छु।’ 

उनले क्रिकेटका लागि धनगढीमा बन्न लागेको क्रिकेट रंगशाला सभ्य र भव्य रूपमा निर्माण हुनेमा विश्वाससमेत दिलाए । 

मन्त्री चौधरीले नेपालका मुख्य सहरहरूको नाममा आधारित फ्रेन्चाइज प्रणालीमा खेलिने क्रिकेट संघको उद्देश्य एकदमै सराहनीय रहेको भन्दै स्थानीयस्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिए । 

‘अब नेपालका मुख्य सहरहरूको नाममा आधारित फ्रेन्चाइज प्रणाली ल्याउने क्यानको उद्देश्य सराहनीय छ,’ उनले भने, ‘यसबाट स्थानीयस्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्नुपर्छ। यो क्रिकेटको दीर्घकालीन विकासका लागि उत्तम हुन्छ।’ 

नेपाली क्रिकेटले भविष्यमा पर्यटन, अर्थतन्त्र र रोजगारीलाई ठुलो टेवा पुग्नेमा उनको जोड थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप