बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
महँगी

महँगियो भान्सा, मन्त्रालय भन्छ– मूल्यवृद्धि भएको छैन

सोमबार, ०३ भदौ २०८१, १९ : ३७
सोमबार, ०३ भदौ २०८१

काठमाडौँ । एक महिना अघिसम्म २५ केजीको जिरा मसिनो एक बोरा चामल खरिद गर्दा उपभोक्ताले प्रतिबोरा साढे २२ रुपैयाँ पर्थ्यो । तर अहिले सोही चामलको मूल्य २४ सय रुपैयाँ पुगेको छ । एक महिना अघि प्रतिकिलो १०५ रुपैयाँ पर्ने चिनीको मूल्य १२० रुपैयाँ पुगेको छ । एक महिनाको अन्तरमा चामल र चिनीमात्र होइन नुन, तेल, दाल र तरकारीको मूल्य पनि प्रतिकेजी ५ देखि १५ रुपैयाँसम्म बढेको छ ।

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर खाद्यान्नको मूल्य सामान्य बढेको बताउँछन् ।

‘चामल र चिनीको मूल्य बढेको छ । चिनीमा ५/७ रुपैयाँ बढेको छ’, तुलाधरले भने, ‘चिनीको मूल्य ११० रुपैयाँ प्रतिकिलो निर्धारण छ । तर १२० रुपैयाँसम्म पर्छ ।’

चाड पर्वको समयमा विशेषतः खाद्यान्नको मूल्य वृद्धि हुनुलाई उनी सामान्य ठान्छन् । ‘वर्षैपिच्छे मूल्य वृद्धि हुन्छ तर सरकारले वास्ता गर्दैन’ उनले भने, ‘जब अप्ठेरो पर्छ तब मूल्यको विषय आउँछ । गत वर्षको यही समयमा १६० देखि १७० रुपैयाँ प्रतिकिलोमा विक्री भएको चिनी सरकारले ११५ रुपैयाँ मूल्य कायम गरेको थियो ।

नेपाल राष्ट्र बैंकको आर्थिक वित्तीय रिर्पोट २०८०/८१ अनुसार औसत वार्षिक मूल्य वृद्धि ५.४४ प्रतिशतले भएको छ । गत वर्ष २०७९/८० मा ७.७४ प्रतिशतले मूल्य वृद्धि भएकोमा त्यसअघि २०७८/७९ मा ६.३२ प्रतिशतले मूल्य वृद्धि भएको थियो ।

यस्तै, राष्ट्र बैंकको तथ्यांक अनुसार खाद्यान्न तथा पेय पदार्थको मूल्य वृद्धिदर २६.४० प्रतिशतले बढेको छ । यस्तै, दाल गेडागुडी ९.९६ प्रतिशत, चिनीको मूल्य ९.८७ ले बढेको छ । यस्तै, खाद्यान्नको मात्रै ९.८५ प्रतिशत, तरकारीको ८.२९ प्रतिशत र घिउ तेल ११ प्रतिशतले बढेको छ ।

मूल्य वृद्धि विवरण:

m

नुनको भाउ बढ्यो

चामल, चिनी, दाल र तेलको मात्र होइन आयो नुनको मूल्य पनि बढेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सञ्चालक समितिको गत असार १८ गते बसेको बैठकले नुनको मूल्य वृद्धि गरेको हो । नयाँ मूल्यसूची अनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुन हाल चार रुपैयाँ बढ्दा उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्छ ।

न्यु शक्ति नुनको उपभोक्ता मूल्य प्रतिकिलो २० रुपैयाँमा पुगेको छ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १६ रुपैयाँ थियो । आयो नुन र न्यु शक्तिको थोक मूल्य भने क्रमशः २३ र १७ रुपैयाँ रहेको छ । अर्थात उपभोक्ता मूल्य भन्दा थोक मूल्य ३–३ रुपैयाँ सस्तो छ । साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ । साल्ट ट्रेडिङले भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ ।

नुनको मूल्य वृद्धि भएपनि पहिलाको प्याकेजिङमा पुरानै मूल्य रहेकाले बजारमा केही समय नुन पाउन मुस्किल भएको नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरको भनाइ छ । तर अहिले सो समस्या समाधान भएको उनको दाबी छ ।

अण्डामा मनलाग्दी मूल्य

अण्डाको मूल्य पनि महिना दिनमै उतारचढाव आएको छ । अण्डा उत्पादक व्यवसायीहरुले मनलाग्दी तरिकाले महिनादिन नपुग्दै अण्डाको मूल्य बढाउने र घटाउने गर्दा मूल्यमा उतारचढाव आएको हो । नेपाल लेयर्स कुखुरापालक संघले बैशाखयता मालाग्दी ढंगले पाँच पटकसम्म अण्डाको मूल्य फेरबदल गरेको पाइएको छ ।

पछिल्लो पटक भदौ २ गते अण्डाको मूल्य घटेको छ । यसअघि मूल्य बढेको थियो । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य गत असार २८ मा सबैभन्दा ठुलो (एक्सएल) साइजको अण्डाको मूल्य प्रतिक्रेट ५ सय ३० रुपैयाँ, ठुलो अण्डा प्रतिक्रेट ५ सय १० रुपैयाँ, मिडियम साइजको अण्डा प्रतिक्रेट ४ सय ४५ रुपैयाँ तोकेको थियो । सबैभन्दा ठुलो साइज अण्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ तोकेको छ । यसैगरी ठुलो अण्डाको प्रतिक्रेट मूल्य ४ सय ८५ र मिडियम अण्डा प्रतिक्रेट ४ सय १५ रुपैयाँ तोकेको हो ।

नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले देशभरका किसानसँग छलफल गरेर मूल्य समायोजन गरेको बताए । किसानलाई अण्डा बिक्री गर्न समस्या भएकाले चितवनलाई आधार मानेर अण्डाको मूल्य समायोजन गरिएको उनको भनाइ छ ।

कहिले कति भयो अण्डाको मूल्यमा फेरबदल विवरण:  

mm11

मन्त्रालय भन्छ– मूल्य बढेको छैन

बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएपनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मूल्य वृद्धि नभएको दाबी गर्छ । मन्त्रालयका प्रवक्ता चण्डी प्रसाद घिमिरे बजारमा खाद्यान्नको मूल्य सामान्य उतारचढाव भइरहने बताउँछन् । यस्तोलाई मूल्य वृद्धि भएको भन्न नमिल्ने घिमिरेको तर्क छ ।

‘खाद्यान्नको मूल्य केही तलामाथि भइरहन्छ र चिनीहरुको समस्या नै छ’, उनले रातोपाटीसँग भने, ‘हाल १९ हजार मेट्रिक टन चिनी ल्याउने पहल भइरहेको छ, यो ल्याउन सकिए पर्वमा मूल्य नियन्त्रण गर्न सहज हुन्छ ।’

उनले यदि १९ हजार मेट्रिक  टन चिनी ल्याउन नसकेमा अन्य विकल्प खोजिने पनि बताए ।

सरकारले पर्वमा चिनी अभाव हुन नदिने उद्देश्यका साथ उद्योगीलाई आयात अनुमति दिइएको बताएको छ । १० वटा उद्योगलाई कच्चापदार्थको रूपमा प्रयोग गर्नेगरी १९ हजार मेट्रिक टन चिनी आयात अनुमति दिएकाले त्यो चिनी औद्योगिक रूपमा प्रयोग गर्ने र स्वदेशी उत्पादनको चिनी सार्वसाधरणलाई बिक्री गर्ने सरकारको तयारी छ । नियमित रूपमा बजार अनुगमन गर्दै आएको र पर्व विशेषमा खाद्यान्नको मूल्य नियन्त्रण गर्ने योजना बनाइरहेको प्रवक्ता घिमिरेको भनाइ छ ।

‘नियमन र अनुगमन फितलो’

जथाभाबी खाद्य वस्तुको मूल्य वृद्धि हुँदा पनि सरकारले प्रभावकारी अनुगमन र नियमन गर्न नसकेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् ।

‘खासगरी सामग्री खाद्य वस्तुको मूल्य वृद्धि भइरहेको छ’, उनले भने, ‘सरकारको नियमन र अनुगमन फितलो र कमजोर भयो, आपूर्ति सहज गर्ने र मूल्य नियन्त्रण गर्नतर्फ सरकारको ध्यान छैन ।’

अनुगमन चुस्त नहुनुका साथै माग र आपूर्तिबिच तालमेल नहुँदा समस्या हुने गरेको तिमिल्सिनाले बताए ।

‘अहिले विभिन्न बाहानामा धानमा २.४ प्रतिशत, दाल लगायतका वस्तुमा १० प्रतिशत कर लगाउँदा मूल्य वृद्धि भएको हो’, उनले भने, ‘अति आवश्यक वस्तुमा अग्रिम कर र भ्याट लगाउनाले मूल्य वृद्धि भएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप