बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
दुई छानबिन समिति फिल्डमा

गठ्ठाघर दुर्घटनाको कारण ‘भवितव्य’, मान्छे किचेको थाहै नपाएको चालकको बयान

सोमबार, ०३ भदौ २०८१, १८ : ५८
सोमबार, ०३ भदौ २०८१

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा साउन ३१ मा ट्रकले स्कुटरलाई ठक्कर दिएको घटनाबारे दुई वटा छानबिन समितिले काम  गरिरहेका छन् । दुर्घटनामा परेर ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–४ घर भएका उत्तम कोइरालाले ज्यान गुमाएका थिए ।

ट्राफिक प्रहरीले अवैज्ञानिक तरिकाले चेकजाँच गरेको कारण दुर्घटना भएको भनेर नागरिकस्तरबाट आलोचना भएपछि उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय भक्तपुरले दुई वटा छुट्टाछुट्टै छानबिन समिति गठन गरेको थियो । उपत्यका प्रहरी कार्यालयका एसपी प्रजित केसी नेतृत्वको समितिले छानबिन सकेर मंगलबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला नेतृत्वको समितिले आइतबारबाट छानबिन थालेको छ । निरौला नेतृत्वको समितिमा जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्की र एक जना मेकानिकल इन्जिनियर सहित पाँच जना सदस्य छन् ।

बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिँदा कोइरालाको मृत्यु भएको हो । गठ्ठाघर दुर्घटना ‘भवितव्य’ भएको दुवै छानबिन समितिको प्रारम्भिक निष्कर्ष छ । निरौला नेतृत्वको समितिले दुर्घटनास्थलको सीसीटीभीको फुटेज जाँच गरेर ट्रक चालकसँग बयान लिएको छ । छानबिन समितिमा संलग्न मेकालिनकल इन्जिनियरले ट्रकको ‘यान्त्रिक परीक्षण गर्नु नपर्ने’ भनेका छन् । समितिका एक जना सदस्यले भने, ‘ट्रकको अवस्था ठिक भएको र यान्त्रिक परीक्षण गर्नु नपर्ने मेकानिकल इन्जिनियरले भन्नुभएको छ ।’

स्कुटरसहित चालकलाई ट्रकले केही मिटर लछारेको फुटेजमा देखिन्छ । दुर्घटनास्थलमा ट्राफिक प्रहरीले स्कुटर वा ट्रक रोकेको देखिँदैन। छानबिन समितिले ट्रक चालक सर्लाही घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठसँग सोधपुछ गरेको छ । ट्रक चालकले बयानमा भनेका छन्, ‘मान्छे किचेको थाहै पाइनँ, बम्पिङ भएपछि लुकिङ ग्लासमा हेर्दा दुर्घटना भएको थाहा पाएँ ।’

प्रहरी उपरीक्षक केसी नेतृत्वको समितिले ट्रक भन्दा पछाडि भएको अर्का गाडी चालकसँग पनि सोधपुछ गरेको छ । सो समितिलाई पनि ट्रक चालकले अगाडि स्कुटर नदेखेको बयान दिएका छन् । बयानमा उनले भनेको छन्, ‘मैले देखिनँ, ठोक्किएको जस्तो लागेपछि हेर्दा दुर्घटना भएको रहेछ ।’

छानबिन समितिका संयोजक तथा भक्तपुरका सहायक प्रजिअ डोरेन्द्र निरौलाले आइतबारबाट छानबिन थालेको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘हामीले पाएको १ साताको समयमा छानबिन सकेर प्रतिवेदन बुझाउँछौं ।’

ट्राफिक प्रहरीले स्कुटर रोकेपछि तीव्र गतिमा काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएको प्रदर्शनकारीहरूले दाबी गरेका थिए । तर, छानबिनबाट ट्राफिकले स्कुटर रोकेर दुर्घटना भएको भन्नेकुरा पुष्टि नभएको उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले बताइन् । 

डोरेन्द्र निरौला नेतृत्वको समितिले पनि दुर्घटनामा ट्राफिक प्रहरीको त्रुटि नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ । सो समितिका एक जना सदस्यले भने, ‘ट्राफिक प्रहरीको डिस्टर्व देखिँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप