बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलबाट भित्रियो १ खर्ब ४५ अर्बको मालवस्तु

सोमबार, ०३ भदौ २०८१, १८ : २२
सोमबार, ०३ भदौ २०८१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भन्सार विन्दुबाट आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब ४५ अर्ब २२ करोड ७० लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ । अघिल्लो वर्ष १ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएकोमा यो वर्ष टीआइएको भन्सारको आयात ६.१ प्रतिशतले घटेको हो । 

सोही अवधिमा टीआईए हुँदै नेपालबाट ३४ अर्ब ३५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष ३५ अर्ब ५४ करोड ९० लाख रुपैयाँको निर्यात भएकोमा समीक्षा वर्षमा निर्याततर्फ पनि ३.४ प्रतिशतको गिरावट आएको राष्ट्र बैंकले जनाएको छ । 

तथापि, अधिकांश भन्सार कार्यालयहरूको आयात घट्दै गर्दा यो वर्ष उत्तरतर्फका दुईवटा भन्सार नाका रसुवागढी र तातोपानीतर्फको आयात भने सतप्रतिशतदेखि २०५ प्रतिशतसम्मले बढेको छ । 

राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा वर्षमा तातोपानी भन्सार नाका हुँदै नेपाल भित्रिने मालवस्तुको आयात २०५.४ प्रतिशतले वृद्धि हुँदै ४० अर्ब ३४ करोड ३० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस भन्सार विन्दु हुँदै जम्मा १३ अर्ब २१ करोड रुपैयाँ बराबरको मात्र मालवस्तु आयात भएको थियो । 

यस्तै उत्तरतर्फकै अर्को भन्सार नाका रसुवागढीबाट समीक्षा अवधिमा ६० अर्ब ९१ करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ । अघिल्लो वर्ष ३० अर्ब १४ करोड १० लाख रुपैयाँ बराबरको मात्र मालवस्तु आयात भएकोमा पछिल्लो वर्ष १०२.१ प्रतिशतले वृद्धि भएको हो । 

खासगरी उत्तरतर्फको दुईवटा नाकाबाट चिनियाँ उत्पादन विद्युतीय सवारीको आयात बढ्दा समग्र आयातमा नै तीव्र वृद्धि भएको हो । भन्सार विभागको तथ्यांक अनुसार गएको वर्ष झण्डै १३ हजार विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । जसमध्ये अधिकांश सवारी चिनियाँ उत्पादन रहेका छन् । 

वीरगन्ज भन्सार कार्यालयमार्फत साढे ५ खर्बको आयात

समीक्षा वर्षमा वीरगन्ज भन्सार भन्सार कार्यालयबाट ५ खर्ब ४६ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ । यो अघिल्लो वर्षमा आयात भएको भन्दा ७.९ प्रतिशतले कमी हो । २०८० असार मसान्तसम्म यो भन्सार हुँदै ५ खर्ब ९३ अर्ब ३९ करोड १० लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको थियो । 

यस्तै समीक्षा वर्षमा भैरहवा भन्सार कार्यालय हुँदै २ खर्ब ४५ अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ भने विराटनगर भन्सार हुँदै १ खर्ब ६८ अर्ब २९ करोड ८० लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको तथ्यांक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप