किन र कसले लगाउने जनै ?
छान्दोग्य उपनिषद् अनुसार, जाबालि ऋषिले अध्ययनका लागि गुरुकुल जानुअघि आमासँग आफ्ना पिताको नाम र गोत्र सोध्छन् । उनकी आमाले भन्छिन्, ‘पुत्र ! मलाई तिम्रो पिताको नाम ज्ञात छैन । तिमी गर्भमा आएका बेला मैले थुप्रै पुरुषकहाँ दासीको काम गरेँ । मेरो नाम जबाला हो, तिम्रो नाम सत्यकाम । आचार्यलाई यो भन्नु कि म जबालापुत्र सत्यकाम हुँ ।’
जाबालिले हारिद्रुमत (हरिद्रुमानका पुत्र) गौतम (गोत्री) कहाँ गएर भने, ‘भगवन ! म यहाँसँग ब्रह्मचर्य ज्ञान लिन चाहन्छु ।’
आचार्यले गुरुकुलमा भर्ना गर्नुअघि जाबालिसँग पिताको नाम र गोत्र सोधे । जाबालिले आमाले जे भनेकी थिइन्, त्यही जस्ताको तस्तै बताए । आचार्यले भने, ‘यति सत्य कुरा ब्राह्मणबाहेक अर्कोले भन्न सक्दैन । त्यसैले म तिमीलाई उपनयन (यज्ञोपवीत संस्कार) गराउँछु ।’ आफ्नो बारेमा सत्य बोलेकाले जाबालि ब्राह्मण ठहरिन्छन् ।
आज जनै पूर्णिमा । चेतोनाथशर्मा आचार्यको पुस्तक ‘हाम्रा धार्मिक चाडपर्व’ अनुसार, जनै धारण गर्नुअघि एक विधि सम्पन्न गरिन्छ, जसलाई प्रचलित भाषामा उपनयन भनिन्छ ।
सामान्यतः ब्राह्मणको उपनयन संस्कार गर्भाधान वा जन्मको समयबाट पाँच वा आठ वर्षको उमेरमा, क्षत्रियको ६ वा ११ वर्षको उमेरमा र वैश्यको उपनयन संस्कार आठ वा १२ वर्षको उमेरमा गर्नुपर्ने शास्त्रीय विधान छ ।
‘एक जनैमा ९६ सूत प्रयोग गरिएको हुन्छ । समग्रमा नौ गुना, तीन डोरा र पाँच ग्रन्थी गरी यसलाई तयार पारिन्छ,’ आचार्य लेख्छन्, ‘सामान्यतः मनुष्यको आयु सय वर्षको मानिएकाले चार वर्ष पूरा गरी पाँचौँ वर्षमा लाग्दा उपनयन गरी धारण गरिने ९६ डोराले बाँकी जीवनावधि ९६ वर्ष रहेको जनाउँछ ।’
‘ब्राह्मणको कोखमा जन्म लिएर उपनयन आदि गरेको भए पनि ब्राह्मणको कर्म पनि नजान्ने र अध्ययनादि पनि नगर्नेलाई नाम मात्रको ब्राह्मण भन्नुपर्छ भन्ने उपरोक्त श्लोकको मन्तव्य हो,’ प्रा.डा. रेग्मीले लेखेका छन् ।
यज्ञोपवीत
जनैको शास्त्रीय नाम अनेक छन्— यज्ञोपवीत, यज्ञसूत्र, ब्रह्मसूत्र आदि ।
प्रज्ञा प्रतिष्ठानको बृहत् शब्दकोशले ‘उपनयन’ शब्दको अर्थ दिएको छ— व्रतबन्ध; यज्ञोपवीत संस्कार ।
यस्तै, शब्दकोशले यज्ञोपवीतको अर्थ ‘द्विजजातिले गलामा धारण धारण गर्ने यज्ञसूत्र; जनै । यज्ञोपवीत धारण गर्नका निम्ति गरिने संस्कार; उपनयन; व्रतबन्ध’ भनेर दिएको छ । यस्तै यज्ञसूत्रको अर्थ ‘जनै, यज्ञोपवीत’ र व्रतबन्धको अर्थ ‘ब्राह्मण, क्षत्रिय, वैश्यका षोडश संस्कारमध्ये एक, उपनयन संस्कार’ भनेर शब्दकोशमा दिइएको छ ।
२०७५ सालमा प्रकाशित डा. नारायणप्रसाद अधिकारीको पुस्तक ‘हाम्रा सोह्र संस्कार’ अनुसार, व्रतबन्धलाई कहीँ उपनयन र कहीँ यज्ञोपवीत संस्कार भनेको पाइन्छ । व्रतबन्धभित्र चार संस्कार पर्छन्— चूडाकरण, उपनयन, वेदारम्भ र समावर्तन,’ डा. अधिकारीले लेखेका छन्, ‘चूडाकरण संस्कारपछि बालकलाई पहिलेदेखि तयार पारिएको यज्ञवेदी वा अग्निवेदीको पश्चिमतर्फ आचार्यको दाहिनेतिर बसालिन्छ र यज्ञोपवित संस्कार प्रारम्भ हुन्छ ।’
उनका अनुसार, व्रतबन्ध संस्कारमा दुईवटा प्रतीक धारण गरिन्छन्— टुप्पी र जनै । ‘जनैको खास नाम यज्ञोपवीत हो, जसको शब्दगत अर्थ हुन्छ यज्ञमा लगाउने वा यज्ञ गर्दा धारण गर्ने,’ अधिकारी लेख्छन्, ‘प्राचीन पूर्ववैदिक तथा वैदिक कालमा पनि यज्ञ गर्ने व्यक्तिले अरुबाट पृथक् देखिनका लागि काँधमा यज्ञीय संकल्पको परिचायक मृगचर्म वा वस्त्रखण्ड पहिरिने गर्थे ।’
उपनयन विधिका बारेमा आपस्तम्बगृह्यसूत्र, हिरण्यकेशिगृह्यसूत्र र गोभिलगृह्यसूत्रमा पाइन्छ ।
पाण्डुरङ्ग वाम काणेको पुस्तक ‘धर्मशास्त्र का इतिहास’ प्रथम भाग अनुसार, ‘उपनयन’को अर्थ नजिक वा सन्निकट लैजानु हो, आरम्भमा यसको अर्थ शिक्षणका लागि आचार्यकहाँ लैजानु भन्ने हुन सक्छ ।
यज्ञोपवीतबारे प्राचीनतम संकेत तैत्तिरीय संहितामा पाइन्छ—
निवीतं मनुष्याणां प्राचीनावीतं पितृणामुपवीतं देवानाम् । उपव्ययते देवलक्ष्ममेव तत्कुरुते (२।५।११।१) ।
‘निवीत शब्द मानिसहरूको प्राचीन पितृहरू एवं उपवीत देवताहरूको सम्बन्धमा प्रयुक्त हुन्छ,’ काणेले लेखेका छन्, ‘जसलाई उपवीत ढंगबाट बायाँ काँधमा झुन्ड्याइन्छ, अतः यसले देवताहरूतिर संकेत गर्छ ।’
२०७६ सालमा प्रकाशित प्रा. डा. जगदीशचन्द्र रेग्मीको पुस्तक ‘नेपालमा ब्राह्मणहरूको संक्षिप्त इतिहास’ अनुसार, ब्राह्मणको कोखमा जन्मिएर पनि मन्त्र संस्कार नभएको र जातिले मात्रै चिनिने अ–ब्राह्मण हुन्छ ।
उनी व्यासस्मृतिमा ‘अ–ब्राह्मण’को परिचय दिइएको भन्दै श्लोक उल्लेख गर्छन्:
ब्रह्मजीवसमुत्पन्नो मन्त्रसंस्कारवर्जितः ।
जातिमात्रोपजीवी च भवेदब्राह्मणः स तु ।।
व्यासस्मृतिमै ‘ब्राह्मणव्रुव’ अथवा तथाकथित ब्राह्मणको परिभाषा यस्तो दिइएको छ—
गर्भधानादिभिर्युक्तस्तथोपनयनमेव च ।
न कर्मविन्नचाधीते स भेवद् ब्राह्मणव्रुवः ।।
‘ब्राह्मणको कोखमा जन्म लिएर उपनयन आदि गरेको भए पनि ब्राह्मणको कर्म पनि नजान्ने र अध्ययनादि पनि नगर्नेलाई नाम मात्रको ब्राह्मण भन्नुपर्छ भन्ने उपरोक्त श्लोकको मन्तव्य हो,’ प्रा.डा. रेग्मीले लेखेका छन् ।
यस्तै शातातपस्मृतिमा दुब्र्राह्मण अथवा बिग्रेको ब्राह्मणको परिभाषा यसरी दिइएको पाइन्छ ।
यस्य वेदश्च वेदी च विच्छिद्यते त्रिपूरूषम् ।
स वै दुब्र्राह्मणो नाम यश्च वै वृषलीपतिः ।।
यस श्लोकलाई प्रा.डा. रेग्मी अथ्र्याउँछन्, ‘तीन पुस्तासम्म वेद एवं यज्ञसँग सम्बन्ध टुटेको ब्राह्मण र शूद्र पत्नी राख्ने ब्राह्मणलाई दुब्र्राह्मण भन्नुपर्ने भन्ने उद्धृत श्लोकको कथन बुझिन्छ ।’
२०४० सालमा प्रकाशित पं. छविलाल पोखरेलको पुस्तक ‘वेददेखिका धर्म र मतहरू, नेपालका अनेक जात र संस्कारहरू’ प्रथम भाग अनुसार, वैदिक हिन्दुहरूमा ब्राह्मण, क्षत्रिय र वैश्यको मात्र वैदिक विधिले व्रतबन्ध गरिन्छ । तिनका स्त्रीहरूलाई वेद र ओमकारसहित मन्त्र निषिद्ध मानिएको थियो । शूद्रले त पढ्नु मात्र होइन वेद मन्त्र र ओमकार सुन्न पनि हुँदैन भनिन्थ्यो ।
यद्यपि प्राचीन कालमा यस्तो कुनै बन्देज नभएको पोखरेलले उल्लेख गरेका छन् । उनी यमस्मृतिको श्लोक उल्लेख गर्छन्—
पुराकल्पे तु नारीणां मौञ्जीबन्धनमिष्यते ।
अध्यापनं च वेदानां सावित्रीवाचनं तथा ।
‘पुरानो युगमा स्त्रीहरूको व्रतबन्ध भई वेदाध्ययन गायत्री मन्त्रदान हुन्थ्यो भन्ने छ । अझ यो श्लोक र अनुचित काम नगर्ने शूद्रहरूको व्रतबन्ध गर्नू भन्ने आपस्तम्ब स्मृतिको वाक्य समेत गृह्यसूत्रको गदाधर र हरिहर भाष्य (शूद्राणामदुष्कर्मणामुपनयनम्)मा स्पष्ट भई सुधारकहरूलाई प्रोत्साहन गर्दै छन्,’ पोखरेलले लेखेका छन्, ‘तर अचेल हारीत, यम, आपस्तम्ब स्मृतिहरूमा ती वाक्य छैनन् । ...तर अनेक भाष्य र टीकाहरूमा रहेका श्लोक र वाक्यहरू झिक्नेतर्फ ध्यानै गएन क्यार र पुरानो इतिहास बुझ्न पाउँदैछौँ ।’
यज्ञोपवीत यज्ञसँग सम्बन्धित छ । यज्ञ भनेको ‘देवताहरूको प्रसन्नताका लागि वैदिक विधिले गरिने हवन, पूजन, जप, पाठ आदि धार्मिक कार्य’ नै हो ।
शतपथब्राह्मण (११।५।६।१) अनुसार, मुख्यतः पाँचवटा महायज्ञ छन्— भूतयज्ञ, मनुष्ययज्ञ, पितृयज्ञ, देवयज्ञ र ब्रह्मयज्ञ ।
यीबाहेक विभिन्न यज्ञ वा अनुष्ठान गर्न, वेदारम्भ गर्न र शास्त्रले तोकेको विधिमा बस्नकै लागि जनै धारण गरिने शास्त्रहरूले औँल्याउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा एमालेविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गर्यो : महासचिव पोखरेल
-
१० बजे १० समाचार : प्रमको चीन भ्रमणको चर्चादेखि उपनिर्वाचनको हलचलसम्म
-
टिकटकले नेपालमा हटायो ६ हजार ७८ भिडियो
-
नेपाल र चीनले जारी गरेको १२ बुँदे संयुक्त वक्तव्यमा के छ ?
-
कर्णाली याक्सबाट एनपीएल खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा
-
सूर्यदर्शन सहकारीको ऋण उठाउन समिति गठन