आफ्नै गौरवशाली इतिहासको बोझले थिचिएको श्रीलङ्काली क्रिकेट
काठमाडौँ । कुनै समय श्रीलङ्काली क्रिकेट टोली सफलताको शिखरमा थियो । श्रीलङ्काली क्रिकेटसँग खेल्न विश्व क्रिकेटका हस्तीहरू पनि हच्कन्थे । त्यतिबेलाको युवा पुस्ता श्रीलङ्काली क्रिकेटरसँग धेरै कुरा सिक्न पनि लालायित रहन्थे ।
श्रीलङ्काली टोलीका पूर्वकप्तान अरविन्द डी सिल्भा पनि यो कुरा स्वीकार गर्छन् । ‘विश्व क्रिकेटमा हामीले एकपछि अर्को सफलताको शिखर चुमेका थियौँ । विश्वभरका क्रिकेटरहरू हाम्रो शैलीलाई पछ्याउँथे । समग्रमा विश्व क्रिकेटमा श्रीलङ्काको नाम सम्मानपूर्वक लिइन्थ्यो,’ उनी विगत सम्झन्छन् ।
उनको विचारमा पछिल्लो समय श्रीलङ्काली क्रिकेटको स्तर निकै खस्किएको छ । उनले श्रीलङ्काली क्रिकेटमा व्यापक सुधारको खाँचो रहेको तथ्य पनि औँल्याएका छन् । श्रीलङ्काली टोलीले टेस्ट शृङ्खलामा भारतलाई हराउन पनि २७ वर्ष सङ्घर्ष गर्नु प-यो ।
केही समयअघि घरेलु मैदानमा सम्पन्न तीन टेस्टको शृङ्खलामा श्रीलङ्काले भारतलाई २–१ ले हराएको थियो । श्रीलङ्काली क्रिकेट टोलीले २७ वर्षपछि यो सफलता हात पारेको थियो । ‘क्रिकेट खेल्ने श्रीलङ्काको जुन शैली थियो त्यो अहिले हाम्रा खेलाडीमा देखिँदैन,’ डी सिल्भा भन्छन् ।
सन् २०१० को मध्यसम्म श्रीलङ्काली टोलीमा डी सिल्भासँगै माहेला जयाबद्र्धने, सनथ जयसूर्या, कुमार सांगाकाराजस्ता प्रभावशाली खेलाडीको बाहुल्यता थियो । उनीहरू विश्वभरका जस्तोसुकै माहिर बलरलाई पनि तह लगाउने क्षमता राख्थे ।
तर, केही समयको अन्तरमा यी खेलाडीहरू एकपछि अर्को गर्दै सक्रिय खेल जीवनबाट टाढिएपछि भने क्रमशः श्रीलङ्काली क्रिकेटको अधोगतिको यात्रा सुरु हुन थाल्यो । ‘अहिलेका श्रीलङ्काली खेलाडीले आफ्नै इतिहासबाट पनि धेरै कुरा सिक्न सक्छन्,’ डी सिल्भा भन्छन् ।
उनले आफू पछिल्लो समय इङ्ल्यान्डको टेस्ट क्रिकेट खेल्ने शैलीबाट निकै प्रभावित भएको पनि बताएका छन् । ‘हाम्रा खेलाडीले पनि टेस्ट क्रिकेटमा इङ्ल्यान्डको ब्याटिङ शैली पछ्याउन सक्नु पर्छ । इङ्ल्यान्डको खेल हेरेर म त निकै आनन्दित हुन्छु । उनीहरू निकै आक्रामक क्रिकेट खेलिरहेका छन्,’ उनले भनेका छन् ।
सन् २०१९ देखि सन् २०२१ सम्म श्रीलङ्काली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक रहेका मिकी आर्थर पनि पछिल्लो समय श्रीलङ्काली क्रिकेटको स्तर खस्किएको स्विकार्छन् । उनका अनुसार, अहिले पनि श्रीलङ्काली टोलीमा प्रतिभाशाली खेलाडीको कमी छैन । तर, उनीहरू यतिबेला आफ्नो गौरवशाली इतिहासको बोझले थिचिएका छन् ।
‘कुनै समय विश्व क्रिकेटमा श्रीलङ्काली टोलीको राज थियो । तर, पुराना खेलाडीहरू एकै पटक टोलीबाट बिदा भएपछि नयाँ पुस्ताले त्यसलाई निरन्तरता दिन सकेन । अहिले पनि श्रीलङ्काली टोलीमा क्षमतावान् खेलाडीको कमी छैन । तर, उनीहरू आफ्नै देशको गौरवशाली इतिहासको बोझले थिचिएका छन् । उनीहरूसँग आफ्ना अग्रजहरूले जस्तै सफलताको शिखर चुम्नु पर्ने दबाब त छ तर, त्यो शैली र आक्रामकतालाई पछ्याउन भने सकिरहेका छैनन्,’ आर्थर भन्छन् ।
सन् १९९६ मा श्रीलङ्काली टोलीले आईसीसी एकदिवसीय विश्वकपको उपाधि उचाल्दाको क्षण सायदै कुनै क्रिकेटप्रेमीले भुल्न सक्ला । त्यतिबेला श्रीलङ्काली टोलीलाई हराउनु भनेको जुनसुकै टोलीका लागि पनि फलामको चिउरा चपाउनु बराबर थियो ।
त्यो विश्वकपमा समूहगत चरणको पाँचवटै खेल जित्दै श्रीलङ्का क्वार्टरफाइनलमा पुगेको थियो । समूहगत चरणमा श्रीलङ्काली टोलीसामु भारत, अस्ट्रेलिया, वेस्ट इन्डिजजस्ता विश्वकपका पूर्वविजेताहरु समेत निरीह देखिएका थिए । समूहगत चरणमा भारतीय खेलाडी सचिन तेन्दुल्करले अविजित एक सय ३७ र कप्तान मोहम्मद अजहरुद्दिनले अविजित ७२ रन बनाए पनि भारतीय टोली श्रीलंकासामु निरीह बनेको थियो ।
त्यतिबेला श्रीलङ्काली टोलीमा सनथ जयसूर्या, रोमेश कालुबिथर्ना, अरबिन्दा डी सिल्भा, अर्जुन रणतुंगा, हसन तिलकरत्ने, रोसन महानामा, कुमार धर्मसेना, चामिण्डा भास, मुथैया मुरलीथरनजस्ता प्रभावशाली खेलाडीको बोलबाला थियो ।
एक खेल पनि नहारी विश्वकपको उपाधिसम्म पुगेको श्रीलङ्काली क्वार्टरफाइनलमा इङ्गल्यान्डलाई, सेमिफाइनलमा भारतलाई र फाइनलमा अस्ट्रेलियालाई हराएको थियो । त्यो विश्वकपमा भारत र अस्ट्रेलिया त दुई–दुई पटक श्रीलङ्कासँग पराजित भएका थिए ।
सन् २०११ को आईसीसी एकदिवसीय विश्वकपसम्म पनि श्रीलङ्काले विश्व क्रिकेटमा आफ्नो साख जोगाएकै थियो । तर, त्यतिबेलासम्म आइपुग्दा अधिकांश पुराना खेलाडी सक्रिय खेल जीवनबाट बिदा भइसकेका थिए । ‘एकातिर पुरानो पुस्ता एकपछि अर्को गर्दै बाहिरिने र अर्कोतिर नयाँ आएका खेलाडीले उनीहरूको विरासत थाम्न नसक्दा नै यस्तो स्थिति आएको हो । म त अझै पनि भन्छु, अहिले श्रीलङ्काली क्रिकेट आफ्नै इतिहासको बोझले थिचिएको छ,’ पूर्वप्रशिक्षक आर्थर भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास