शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

संसदीय समितिमा सहकारी ठगीका अभियुक्तहरूले दिए रोचक बयान

जीवी राईको ज्यान लिने, रविले जिन्दगी डामाडोल बनाएकोदेखि किर्ते हस्ताक्षरसम्म
सोमबार, ०३ भदौ २०८१, १६ : ०९
सोमबार, ०३ भदौ २०८१

काठमाडौँ । यस पटक संसदीय समितिमा अनौठो अभ्यास भयो । जेलमा रहेका अभियुक्तहरूलाई संसदीय समितिमा ल्याउँदै बयान लिँदै गरेको दृश्य देखियो । त्यस्तै बयान पनि निकै रोचक र मार्मिक रह्यो । 

हो, सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले समस्याग्रस्त सहकारीसँग सम्बन्धित व्यक्तिहरूसँग बयान लिइरहेको छ । 

सहकारी ठगीका अभियुक्त पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन‚ पोखराको सूर्यदर्शन सहकारीका कुमार रम्तेल‚ सिभिल सहकारीका इच्छाराज तामाङ‚ सांसद गीता बस्नेतका ज्वाइँ नगेन्द्रबहादुर रिमाललगायतलाई जेलबाट ल्याएर बयान लिइएको छ । यस्तै रास्वपा सहमहामन्त्री विपिन आचार्यको पनि बयान लिइयो ।

हालसम्म १६ जना अभियुक्तलाई जेलबाट ल्याएर बयान लिइएको समितिले जनाएको छ ।

अन्य मानिसहरूसँग पनि बयान लिने क्रम जारी छ । समिति सदस्य सांसद ईश्वरी न्यौपानेले बयान लिने क्रम जारी रहेको जनाउँदै रातोपाटीसित भनिन् – ‘हामी शनिवार पनि नभनी निरन्तर बैठक बसेर समस्याग्रस्त सहकारीका सञ्चालकसँग जानकारी लिइरहेका छौँ ।’  

समितिले अनुसूची १ मा भएका २० र अनुसूची २ मा भएका ९ जनासँग बयान लिने क्रम अन्तिमतिर पुर्‍याएको छ ।

समितिमा अभियुक्तहरूले दिएको बयान:

दीपेशले भने– मेरो सिग्नेचर नै फेक हो‚ सचिव जवजस्ती राखेका हुन् 

समितिका एक सदस्यका अनुसार, समितिले पूर्व उपराष्ट्रपति पुनका छोरा दीपेशसँग बयान लियो । बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थासँग नाम जोडिएका दीपेशसँग गत शुक्रवार बयान लिइएको हो ।

बयानका क्रममा उनले सहकारी ठगीबारे आफू जानकार नभएको बताएका थिए । आफूलाई सहकारी सचिव बनाएको पनि थाहा नभएको र आफ्नो हस्ताक्षर चोरी गरेको बयान दिए ।

‘मलाई केही थाहा छैन । म सहकारीको एउटा कार्यक्रममा गएको थिएँ । सचिव राख्छु भने, मैले अचम्म मानेपछि अन्य मानिस तथा साथीहरूले सचिव बस राम्रो हुन्छ भने । मेरो सिग्नेचर पनि फेक हो‚’ पुनको भनाई उद्धृत गर्दै समितिका एक सदस्यले भने, ‘‘जुन दिन सहकारी ठग रहेछन् भन्ने थाहा पाएँ, त्यही दिन सचिवबाट राजीनामा दिए ।’

इच्छाराज तामाङले भने– पैसा तिर्न सक्छु‚ बिना काम जेल हालियो 

समितिले सिभिल बचत तथा ऋण सहकारीसँग सम्बन्धित इच्छाराज तामाङसँग पनि बयान लियो । जेलबाट आएर बयान दिने क्रममा उनले आफूलाई पार्टनरले फसाएको र सरकारले पनि मौका नदिई बिना कारण जेल हालेको जिकिर गरे ।

‘मलाई जालझेल गरेर फसाइएको हो । मेरो पार्टनरले मलाई फसायो‚’ तामाङको भनाई उद्धृत गर्दै एक सदस्यले भने । 

साथै तामाङले आफूसँग भएको सम्पत्ति बेचेर बेचेर ऋण तिर्न सक्ने बयान दिएका छन् ।

‘सरकारले मलाई जेलबाहिर लान्छ भने म दायित्व मिलाउन सक्छु किनभने मसँग सम्पत्ति छ’ उनले भनेका थिए ।

कुमार रम्तेलले भने– जीवी आएर छुटाउला भन्ने थियो‚ बालबच्चाको बिल्लिबाठ भयो 

जेलबाटै ल्याइएका सूर्यदर्शन सहकारीसँग सम्बन्धित कुमार सम्तेलले बयानका क्रममा नेचर हब‚ गोरखा मिडिया नेटवर्कलगायतमा सेयरसहित पार्टनर रहेका जीवी राईमाथि नै आक्रोश पोखे ।

राईले आफूलाई पार्टनर नभई कारिन्दाका रूपमा काम लगाएको बयान दिए । जीवी आएर छुटाउला भन्ने आसमा आफू बसे पनि धोका पाएको उनको भनाई थियो ।

‘कतिसम्म रिस देखाउनुभयो भने जीवी भेटे ज्यान लिन्छु सम्म भन्नुभएको छ । उसको कारणले मेरो बालबच्चा र परिवारको बिल्लिबाठ भयो भन्ने गुनासो उहाँले गर्नुभयो‚’ समितिका अर्का सदस्यले रातोपाटीसित भने ।

रम्तेलले जीवी आए भएका सम्पत्ति र जग्गा जमिन बेचेर दायित्व तिर्न सकिने बयान दिएका छन् । 

‘म जुन भूमिकामा भए पनि सबै जिवीको निर्देशन र चाहानामा चल्नु पर्दथ्यो । जग्गा र सम्पत्ति छ । त्यसलाई बेचेर दायित्व तिर्न सकिन्छ । म त जिवीको काम गर्ने कामदार हो । मलाइ केही थाहा छैन । जीवी नेपाल आए समस्या समाधान हुन्छ भनेर उहाँले भन्नुभयो‚’ ती सदस्यले भने । 

ओमबहादुर गुरुङ– मलाई डमी अध्यक्ष बनाइयो‚ सबै चलाउने जिवीले हो  

बयान दिन समितिमा पुगेका सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमबहादुर गुरुङले आफूलाई डमी अध्यक्ष बनाइएको गुनासो गरे । व्यवस्थापकसँग मिलेर जीवी राईले सबै पैसा लगेको दाबी उनले गरेका छन् । 

‘मलाई डमी अध्यक्ष बनाइएको हो । चलाउने सबै जिवीले हो । व्यवस्थापक र जीवी मिलेर पैसा सबै लगेका हुन् । उनीहरूले मिलेर सबै गर्दथे । सेरेमोनियल अध्यक्षले के नै गर्न सक्छ र ? मलाई फसाइयो भनेर उहाँले भन्नुभयो‚’ गुरुङलाई उद्धृत गर्दै समिति सदस्यले भने । 

रोशनी गुरुङ– रविको केसमा मुछिएर मेरो जिन्दगी डामाडोल भयो 

समितिमा बयान दिन पुगेकी सुप्रिमकै कर्मचारी रोशनी गुरुङले आफूलाई व्यवस्थापकले फसाएको बताएकी थिइन् । उनले डकुमेन्ट बिनै रवि लामिछानेको नाममा चेक साट्नाले आफ्नो जिन्दगी नै बरबाद भएको बयान दिएकी छन् । 

‘रविको नाममा डकुमेन्ट नहुँदा पनि भौचर कसरी साट्ने भनेर मैले भने । तर मलाई व्यवस्थापकले जे अह्राएको छ, त्यो गरेर ल्याउनु भनेपछि म कामदारको हैसियतमा चेक साट्न गएको हो‚’ गुरुङको भनाई उद्धृत गर्दै समितिका एक सदस्यले भने । 

बयानकै क्रममा रोएकी गुरुङले एक वर्षदेखि आफू तलब र जागिरविहीन भएको बताएकी थिइन् । ‘रविको केसमा जोडिएपछि मेरो जिन्दगी डामाडोल भएको छ । मेरो जिन्दगी बिग्रियो‚’ उनले बयानका क्रममा भनेकी थिइन् । 

समितिले को-कोसँग लियो बयान ?   

समितिले साउन २५ गतेबाट सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा जिम्मेवार रहेका सहकारी संस्थाका अध्यक्ष, पदाधिकारी र सञ्चालकहरूसँग छलफल सुरु गरेको थियो ।  समिति सभापति सूर्य थापाका अनुसार, सोधपुछ गरिएका सहकारी र सञ्चालकको नाम यस प्रकार रहेका छन् ।

  • गोरखा बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष डम्बरबहादुर तामाङ (डिबी बमजन) र इमानसिंह राई
  • श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारी
  • गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाका रामबहादुर गौतम
  • तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा (जेलबाट ल्याएर) 
  • शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था, कौशलटार भक्तपुरका शेयर सदस्य, ऋणी तथा केदारनाथ शर्माकी श्रीमती गीता शर्मा (केन्द्रीय कारागार, जगन्नाथ देवलबाट ल्याएर) 
  • नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बा (नख्खु जेलबाट ल्याएर) 
  • पशुपति  बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एन्ड कोअपरेटिभका पूर्व अध्यक्ष सीबी लामा भनिने चन्द्रबहादुर तामाङसँग (केन्द्रीय कारागारबाट ल्याएर) 
  • सुमेरु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष हेमराज दाहाल, हालका अध्यक्ष कृष्णप्रसाद कँडेल र २०८१ असार ३ को साधारण सभाबाट प्रस्तावित अध्यक्ष वीरेन्द्र महर्जन र सेयर सदस्य राजबहादुर सिंह 
  • आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर उप्रेती (केबी उप्रेती)  (डिल्लीबजार कारागारबाट ल्याएर) 
  • कान्तिपुर सेभिङस एन्ड क्रेडिट कोअपरेटिभ (सहकारी संस्था)का अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई (डिल्लीबजार कारागारबाट ल्याएर)
  • सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्व सञ्चालक शिवकुमार गुरुङ (महेन्द्र भोटे) (कास्की सुधार गृहबाट ल्याएर)
  • सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्व सञ्चालक तथा सफ्टवेयर डेभलपर भविश्वर अर्याल (कास्की सुधार गृहबाट ल्याएर) 
  • स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष कल्पनाकुमारी श्रेष्ठ
  • प्राइम बहुउद्देश्यीय सहकारी संस्था, पोखराका अध्यक्ष शङ्कर कार्की र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल (कास्की कारागार कार्यालयबाट ल्याएर)
  • बलिदानी बचत तथा ऋण सहकारी संस्था, पोखरा र सिद्धिदाता बहुउद्देश्यीय सहकारी संस्था,ललितपुरका अध्यक्ष अजय श्रेष्ठ (कास्की कारागार कार्यालयबाट ल्याएर)
  • मित्र मिलन बचत तथा ऋण सहकारी संस्था,पोखराका अध्यक्ष रमण पौडेल (कास्की कारागार कार्यालयबाट ल्याएर)
  • ओरियन्टल,प्यासिफिक सेभिङ, कोहिनुर हिल, कन्जुमर र भेगास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा मुख्य सञ्चालक सुधीर बस्नेत
  • छिपछिपे, नवलपरासी (सुस्ता पूर्व), सनराइज, चितवन र नमस्ते बर्दिया लगायतका सञ्चालक र अध्यक्ष रहेका नागेन्द्रबहादुर रिमाल (चितवन कारागारबाट ल्याएर)
  • देउराली बहुउद्देश्यीय सहकारी संस्था, सात दोबाटो, ललितपुरका अध्यक्ष रवीन्द्र चौलागाईं (नख्खु कारागारबाट ल्याएर)
  • कल्याण उपकार सेभिङ एन्ड क्रेडिट को(अपरेटिभ लि. मान भवन,ललितपुरका अध्यक्ष लीलाबहादुर गुरुङ (एलवी) (नख्खु कारागारबाट ल्याएर) 
  • बराह बचत तथा ऋण सहकारी संस्था लि. धरानका अध्यक्ष मानबहादुर विश्वकर्मा 
  • कृषि विकास बहुउद्देश्यीय, कुमारी पाटी, ललितपुर र कृषि विकास बचत तथा ऋण सहकारी संस्था, गट्ठा घर, भक्तपुरका अध्यक्ष तेजविक्रम थापा (नख्खु जेलबाट ल्याएर)
  • हाम्रो कृषि बहुउद्देश्यीय सहकारी संस्था बालुवाटार, काठमाडौँका पूर्व अध्यक्ष सूर्यबहादुर गुरुङ
  • ज्येष्ठ बचत तथा ऋण सहकारी संस्थाका सचिवलगायत अन्य ८ वटा सहकारी संस्थाहरूसँगआबद्ध मधुसूदन पाठक (सिते बा)
  • गोरखा मिडिया नेटवर्क प्रालिका क्रियटिभ डाइरेक्टर तथा नो बडी प्रडक्सन प्रालिका सञ्चालक विपिनकुमार आचार्य 
  • स्टाण्डर्ड सेभिङ एन्ड क्रेडिट, पुतलीसडकका अध्यक्ष तथा स्टाण्डर्ड मल्टीप्रपोज, जावलाखेल, चार्टर सेभिङ एन्ड क्रेडिट, न्यु प्लाजा, कुबेर सेभिङ एन्ड क्रेडिट, महाराजगन्ज र प्रभु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, न्युरोडमा आबद्ध खेमराज निरौला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोमन आचार्य
रोमन आचार्य
लेखकबाट थप