आठ पर्वको सारथी रक्षाबन्धन
आजको दिन जनैपूर्णिमा, संस्कृत दिवस, ऋषितर्पणी, श्रावण स्नान, गुन्हुं पुन्ही, श्रीकृष्ण झुला, वेदजयन्ती, बौद्ध निष्काम पर्व गरी आठवटा पर्व मनाइन्छ । यहाँ यी सबै पर्वको संक्षिप्त चर्चा गरिनेछ ।
ब्राह्मणले यजमानको रक्षाबन्धन गर्दा निम्न मन्त्र उच्चारण गर्दछन्— ‘येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।’ अर्थात् जुन रक्षासूत्रले महान् दानव राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षाबन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।’
यजमानको रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन ‘डोरो’ बाँधिदिने चलन छ । रक्षाबन्धन दिदी बहिनी दाजुभाइको सम्बन्धको प्रसिद्ध पर्व हो । रक्षाबन्धनको दिन दिदीबहिनीले भगवानसँग आफ्ना दाजुभाइको हरेक प्रकारको जीवन रक्षाका लागि प्रार्थना गर्दै डोरो बाँधिदिन्छन् ।
साउने पूर्णिमा जनैपूर्णिमा पनि हो । सनातनी तागाधारी अर्थात् ब्राह्मण, कायस्थ, वैश्य वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान छ । जनैपूर्णिमाको दिन बिहानै नदी, पोखरीमा गई गाईको गोबर तथा तुलसीको मठको माटो लगाई नुहाएर शुद्ध भई वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरेर जनैपूर्णिमा मनाइन्छ । जनैलाई ‘ब्रह्मसूत्र’ अर्थात् ज्ञानको सूत्र पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छन् ।
जनैपूर्णिमा सूत्रबन्धनको चाड हो । अर्थात् पवित्रता र सुरक्षाको बन्धन । वैदिक परम्परालाई मान्नेले यज्ञोपवीत धारण गर्नुपर्छ । यज्ञोपवीत धारण गर्न संस्कार कर्म तोकिएको छ । यसलाई यज्ञोपवीत, व्रतबन्ध, उपनयन, चूडाकर्ण संस्कार भनिन्छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध संस्कार सम्पन्न गरिन्छ । गुरु–पुरोहितद्वारा गायत्री र सावित्री मन्त्र प्रदान गरिएपछि वैदिक परम्पराका अनुगामी बनिन्छ । निष्ठापूर्वक धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिइन्छ । त्यसैको प्रतीकको रूपमा देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरु–पुरोहितले मन्त्रेर प्रदान गरेको जनै (यज्ञोपवीत) ग्रहण गरिन्छ ।
ऋषि तर्पणी पनि साउने पूर्णिमाको दिन मनाइन्छ । ऋषि तर्पणीमा देवता, सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण दिने चलन छ । यस दिन विशेषगरी काठमाडौँको गोकर्णमा पितृलाई तर्पण दिनेको ठुलो भीड लाग्छ ।
ऋषि ईश्वरीय द्रष्टा हुन् । महान् ऋषिहरूले तपस्याको उच्च अवस्थामा पुगेर ब्रह्माण्डीय चिन्तन र आध्यात्मिक प्रयोगद्वारा ब्रह्माण्डका अन्तर्निहित र आधारभूत सत्यहरू पत्ता लगाए । ऋषिहरूले आफ्नो तपो बलले मानव कल्याणका कुराको गवेषण गरेर मानव जातिमा हस्तान्तरण गरेको हुनाले उनीहरू पुज्य हुन् । उनीहरूलाई तर्पण दिनु वैदिक व्यक्तिको कर्तव्य हुन्छ । यसै कर्तव्य बोधको उपज ऋषि पञ्चमी हो ।
यजमानको रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन ‘डोरो’ बाँधिदिने चलन छ । रक्षाबन्धन दिदी बहिनी दाजुभाइको सम्बन्धको प्रसिद्ध पर्व हो । रक्षाबन्धनको दिन दिदीबहिनीले भगवानसँग आफ्ना दाजुभाइको हरेक प्रकारको जीवन रक्षाका लागि प्रार्थना गर्दै डोरो बाँधिदिन्छन् ।
साउने पूर्णिमाको दिन संस्कृत दिवस पनि मनाउन थालिएको छ । संंस्कृत भाषाको वस्तुगत महत्त्वलाई जनसमक्ष पुर्याउन, संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, वैदिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिने उद्देश्यले हरेक वर्षको जनैपूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिएको छ । जरो किलो प्रतिष्ठानले २०७५ श्रावण शुक्ल पूर्णिमाको दिनदेखि यो दिवस मनाउन सुरु गरेको हो । ५००० वर्ष भन्दा पुरानो इतिहास रहेको संस्कृत भाषाको सुरुवाती दिन नै श्रावण पूर्णिमाको दिन मानिन्छ ।
संस्कृत नै अध्यात्म, दर्शन, ज्ञान–विज्ञान, इतिहास, कला, संस्कृति, साहित्य, वास्तुशास्त्र, योगशास्त्र, आयुर्वेद, खगोलशास्त्र, गणित, ज्योतिषशास्त्र आदिको स्रोत हो । नेपालमा मनाउन सुरु गरिएको विश्व संस्कृत दिवस भारतीय संस्कृत विश्वविद्यालयहरूले पनि अनुकरण गरेका छन् ।
साउने पूर्णिमालाई श्रावणी स्नान पनि भनिन्छ । कालीगण्डकी र त्रिशूलीको सङ्गम पवित्र तीर्थस्थल देवघाटधाममा श्रावण स्नान गर्ने भक्तजनको ठुलो भीड रहन्छ । नवलपुर, चितवन र तनहुँ तीन जिल्लाको सङ्गम रहेको देवघाट धाममा विभिन्न जिल्ला तथा भारतबाट समेत श्रावण स्नानका लागि तीर्थालु आउने गरेका छन् । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाको दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिउन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् ।
नेवार समुदायले यस दिनलाई गुन्हुं पुन्हीका रूपमा आफ्नै परम्परा अनुसार नौ दिनसम्म मनाउने गर्छन् । मास, भटमास, दुईथरी केराउ, चना, सिमी, बोडी लगायत नौ थरी गेडागुडी मिसाएर विशेष प्रकारका क्वाँटी खाने चलन छ । खेतीको काम सकिने भएकाले वर्षायाममा हिलोमा खेल्दा शरीरमा चिसो पस्ने भएकाले त्यसबाट शरीरलाई मुक्ति दिलाउन पनि क्वाँटी खाने गरिन्छ ।
साउने पूर्णिमा श्रीकृष्ण झुलाको सम्पूर्णताको दिन पनि हो । राधाकृष्ण मन्दिरहरूमा श्रीकृष्ण झुला र महात्म्यको आयोजना गर्ने गरिन्छ । श्रीकृष्ण जन्मनु सात दिनअघि अर्थात् कृष्ण जन्माष्टमीको सात दिनअगावै श्रीकृष्ण झुला प्रारम्भ हुन्छ ।
यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म (सूर्य)बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेद जयन्तीको रूपमा पनि चिनिन्छ ।
आजकै दिन भगवान गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्ध ग्रन्ध ‘ललितविस्तार’ मा उल्लेख गरेको पाइन्छ । यस दिन स्वयम्भूमा पनि ठुलो मेला लाग्छ । जनैपूर्णिमाका अवसरमा मुलुकभरका पवित्र कुण्ड तलाउ तथा शिवालय र देवालयमा भक्तजनको भीड लाग्छ । साउने पूर्णिमा अनेक पर्वको दिन भए पनि प्रसिद्धि र सामाजिकताको दृष्टिले रक्षाबन्धन सबै पर्वको सारथी बनेको छ ।
ऋग्वेद (दशम मण्डल) का अनुसार शची (ईन्द्राणी) ले देवगुरु बृहस्पतिको सल्लाहअनुसार ईन्द्रको हातमा बाँधेर लडाइँमा गएकाले विजय प्राप्त गरेको भनाइ पाइन्छ । भविष्य पुराणका अनुसार ईन्द्र असुरसँग पराजित भएर स्वर्ग छाडेर भाग्नुपर्ने स्थिति आयो । त्यसबखत उनी आत्तिएर त्रिदेवका शरणमा पुगे । त्रिदेवले मद्दत गर्न नसक्ने बताएपछि पार्वतीको शरणमा पुगे । पार्वतीले दैवीशक्ति संयुक्त रक्षासूत्र ईन्द्रको हातमा बाँधिदिएपछि दैत्यहरूलाई पराजित गरे ।
वामन पुराणमा राजा बलिलाई विष्णुले पैतालाले पातालमा पुर्याएको कथा पाइन्छ । भागवत कथामा यशोदाले दुष्ट आत्माबाट कृष्णलाई बचाउन रक्षासूत्र बाँधेको उल्लेख छ । कृष्णको औँलामा चोट लागेर रगत नरोकिएपछि द्रौपदीले आफ्नो सारी (साडी) को किनार च्यातेर बाँधेपछि रगत रोकिएपछि खुसी भएर के वर माग्छ्यौ माग भन्दा समय आएपछि माग्नेछु भनेकी थिइन् । त्यो चीरहरणका बेला कृष्णले सारी दिएर लाज बचाएको कथा पाइन्छ ।
रक्षाबन्धनमा बन्धन एक क्रियाका रूपमा रहेको छ । जसको अर्थ रक्षासूत्र बाँध्ने क्रिया गर्नु हो । त्यसै गरी रक्षा शब्दको अर्थ कष्ट वा नाश आदिबाट बचाउनु हो । धार्मिक पद्धतिहरूमा रक्षामन्त्रको निकै प्रयोग भएको छ । हरेक देवताको उपासनामा रक्षा कवच स्तोत्रको प्रावधान राखिएको छ । सामान्य पूजा, हवन आदिमा आत्मरक्षाको विधान छ ।
मानिस र मानिसको वरिपरि रहेका हरेक व्यवस्थाको ध्येय मानिसको हरेक प्रकारले रक्षा गर्नु हो । मानिसको जीवनमा आरम्भैदेखि रक्षाको विषय जोडिएको छ । बालबालिकालाई भूत प्रेत, रोग वा नजर आदिबाट बचाउनका लागि लसुन, हिङको यन्त्र बनाई कम्मर वा घाँटीमा बाँध्ने रीति छ । खासगरी शरद ऋतुमा चिसोको आगमन हुँदै गर्दा यस्तो प्रयोग गरिन्छ । महिलाहरूले लिने अधिकांश व्रतहरूको ध्येय पनि सन्तानको हरेक तरहले रक्षाको अभीष्ट नै हो । यस्तो विश्वास छ कि यसले गर्दा सन्तान सुरक्षित रहन्छन् । रक्षा बन्धन पनि त्यस्तै एक विश्वास हो ।
पौराणिक मान्यताअनुसार रक्षाबन्धनको सम्बन्ध दानवी शक्तिबाट लखेटिएका देवतालाई ईन्द्रका गुरु बृहस्पतिद्वारा रक्षाबन्धन बाँधी जोगाएको र वामन अवतार विष्णुद्वारा दैत्यराज बलिलाई वचनबद्ध गराई तीनै लोक प्राप्त गरेको स्मृतिसँग जोडिएको छ । रक्षाबन्धनको डोरी गाई तिहारको दिन गाईको पुच्छरमा बाँधिए मृत्युपछि वैतरणी नदी पार हुने मान्यता छ ।
साउनको पूर्णिमा भए पनि यस वर्ष भाद्र ३ गते सोमबार रक्षा बन्धन परेको छ । तर यसपटक रक्षा बन्धनको दिन भद्रा र पञ्चकको प्रभाव परेको छ । ज्योतिषाचार्यहरूले उक्त स्थितिलाई दृष्टिमा राखेर अपराह्नपछि मात्र रक्षा बन्धन गर्न सुझाएका छन् । साउन पूर्णिमाको दिन दिउँसो साढे १२ बजेसम्म भद्रा छ । यसको प्रभाव डेढ बजेसम्म रहनेछ । त्यसपछिको समयमा रक्षा बन्धन मनाउन सकिनेछ ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दख्खल राख्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दरखास्त आह्वान
-
नुन्थर घाटमा १ लाख माछाको भुरा छोडियो
-
‘मिस इन्टरकन्टिनेन्टल’मा भाग लिन इजिप्ट उडिन् आयुष्नोभा
-
समय नखुलेको इ–हाजिरी पेस गरी खाजा भत्ता भुक्तानी
-
पेरुको ‘ग्राण्ड कल्चर रनवे’मा नेपालको प्रतिनिधि वसन्त र प्रशंसा
-
पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी आउँदै