संस्कृत किन पढ्ने ?
काभ्रेको पाँचखालका पर्वत पौडेलले पशुपति क्षेत्रस्थित वेद विद्याश्रममा कक्षा १० मा पढ्छन् । संस्कृत पढेका हजुरबुबाले उनलाई घरमै कर्मकाण्ड सिकाएका थिए । घरमा हजुरबुबा र बुबा दुवैले कर्मकाण्ड गर्ने भए पनि उनले संस्कृत पढ्ने सोचेका थिएनन् ।
परिवारकै आग्रहमा गाउँको विद्यालयको पढाइ छाडेर उनी संस्कृत पढ्न काठमाडौँ आएका हुन् । ‘सुरुमा यहाँ कक्षा ४ मा भर्ना भएर पढ्न निकै गाह्रो भयो । एकातिर संस्कृत बुझिँदैनथ्यो, अर्कोतिर गाउँघर छाड्नुपर्दा दुःख लागेको थियो,’ पर्वत भन्छन्, ‘समय बित्दै जाँदा साथीभाइ बन्दै गए । बिस्तारै संस्कृत बुझ्न थालेँ । संस्कृत कर्मकाण्ड वा पण्डित्याइँको भाषा मात्रै होइन भनेर प्रमाणित गर्ने चाहना छ ।’
विदेशीले समेत संस्कृत पढेर वेदको अनुसन्धान गरिरहेको थाहा पाएपछि उनी थप प्रेरित भएका छन् । ‘भविष्यमा संस्कृत पढेर वेदमा अनुसन्धान गर्ने मेरो पनि लक्ष्य छ,’ उनले भने ।
यहीँ कक्षा ९ मा अध्ययनरत अनिश त्रिपाठी संस्कृत भाषा पढ्नेलाई थुप्रै विकल्प भएको बताउँछन् । आयुर्वेद चिकित्सक बन्ने लक्ष्य लिएका अनिशलाई संस्कृत पढ्नका लागि सानो कुराले प्रेरित गरेको रहेछ । निजी विद्यालयमा कक्षा ५ मा पढ्दै गर्दा उनले थाहा पाए— विश्वको सबैभन्दा पुरानो भाषा हो, संस्कृत । यो सुनेपछि उनी संस्कृत पढ्न आएका हुन् ।
‘पछिल्लो समय विश्वव्यापीकरणको प्रभावका कारण हामी नेपालीले आफ्नो भाषा, धर्म अनि संस्कृतिलाई त्यागेर विदेशी विशेषगरी पश्चिमा संस्कृति अपनाइरहेका छौँ, तर हामीले हेलाको दृष्टिले हेरेको संस्कृतमाथि विदेशीले अध्ययन अनुसन्धान गरिरहेका छन्,’ अनिश भन्छन्, ‘संस्कृतमा ज्ञान र विज्ञानको भण्डार छ ।’
कक्षा ९ मा अध्ययनरत कालिकोटका विशाल न्यौपानेले संस्कृत विश्वविद्यालयमा प्राध्यापक बन्ने लक्ष्य लिएका छन् । नासाले समेत संस्कृतको प्रयोग गर्न थालेकामा उनी गौरवान्तित छन् । ‘जर्मनजस्तो देशमा समेत संस्कृत भाषाका १४ वटा विश्वविद्यालय खुलिसकेका छन्,’ उनी भन्छन्, ‘यी सबैलाई हेर्दा विदेशमा समेत संस्कृत भाषाप्रतिको आकर्षण बढ्दो रहेको स्पष्ट हुन्छ ।’
- संस्कृत दिवस
हामीकहाँ २०७५ सालदेखि हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन अर्थात् जनै पूर्णिमा, ऋषितर्पणी तथा रक्षाबन्धनको अवसर पारेर संस्कृत दिवस मनाउन थालिएको छ ।
यो दिवसको सुरुवात जरो किलो प्रतिष्ठानले गरेको हो । नेपालका रैथाने धर्म, संस्कृति, दर्शनशास्त्र, परम्परा, कला, शिल्प, सीप, रीतिरिवाज, आयुर्वेद आदिको अनुसन्धान र प्रवद्र्धन गर्ने उद्देश्यले २०७४ सालमा जरो किलो प्रतिष्ठानको स्थापना भएको हो ।
संस्कृत भाषाको संवद्र्धन अनि प्रवद्र्धनका लागि यो दिवसको शुभारम्भ गरिएको जरोकिलो प्रतिष्ठानका संस्थापक डा. निर्मलमणि अधिकारी बताउँछन् । विश्वपरिवेशमा पूर्वीय मूल्य–मान्यताको विश्वव्यापीकरणका लागि यो दिनको सुरुआत गरेको अधिकारीको भनाइ छ ।
‘सर्वसाधारणलाई संस्कृत भाषाको महत्त्व बुझाउन, संस्कृत साहित्यमा रहेका विशाल ज्ञानको भण्डारबारे अनुसन्धान गर्न, वैदिक समुदायलाई यस कार्यमा प्रेरित गर्न र विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्न प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउन थालेका हौँ,’ अधिकारी भन्छन्, ‘विश्वको सबैभन्दा पुरानो भाषा संस्कृत भारत वर्षको सम्पूर्ण वाङ्मय, संस्कृति र सभ्यताको उद्गम बिन्दु हो । संस्कृत भाषाको विश्वव्यापीकरणमा टेवा दिने आशासहित यस दिवसको सुरुवात गरेका हौँ ।’
उनका अनुसार, प्राचीनकालमा भारत वर्षमा श्रावण शुक्ल पूर्णिमाका दिनमा गुरुकुलहरूमा नयाँ शैक्षिक सत्र सुरु हुन्थ्यो । विद्यार्थीले यही दिनदेखि शास्त्रको अध्ययन गर्न सुरु गर्थे । ‘सोही दिनलाई प्रतिनिधिमूलक मानेर हामीले यो दिवसको थालनी गरेका हौँ,’ उनले भने ।
संस्कृतलाई अधिकांश हिन्दुले देवी–देवताको भाषा भनेर पनि बुझ्ने गरेका छन् । हिन्दुहरूको जीवनदेखि मरणसम्मका अनेकौँ संस्कार र रीतिथितिमा प्रयोग हुने मन्त्र पनि संस्कृतमै छन्, तर संस्कृत भाषा यतिमा मात्रै सीमित छैन । धेरैजसो आधुनिक ज्ञानको स्रोत संस्कृत रहेको उनी बताउँछन् ।
- आकर्षण
अधिकारीका अनुसार, भारतमा बेलायती साम्राज्यवादका बेला संस्कृत भाषाको संरक्षण र संवद्र्धनमा राज्यस्तरबाट खासै काम हुन सकेन । त्यति बेला सर्वसाधारणले कर्मकाण्डका माध्यमबाट आफ्नो भावी पुस्तामा यो भाषा हस्तान्तरण गर्दै आए ।
हामीकहाँ २०५० को दशकको सुरुतिर संस्कृतलाई अनिवार्य विषयबाट हटाइयो । त्यसपछि यसलाई ऐच्छिक विषयका रूपमा राखिएको छ । सशस्त्र द्वन्द्वका बेलाको तुलनामा अहिले संस्कृत भाषाको स्थिति निकै उत्साहजनक रहेको अधिकारी बताउँछन् । पछिल्लो केही दशकयता भारतमा मात्रै नभएर चीन, जर्मनी लगायत विश्वका कैयौँ देशमा संस्कृत भाषाप्रतिको आकर्षण देखिएको छ ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले समेत विश्वको सबैभन्दा स्पष्ट अनि कम्प्युटरका लागि अनुकूल भाषा भन्दै अन्तरिक्षमा सन्देश पठाउन संस्कृत भाषाको प्रयोग गर्ने गरेको छ । अहिलेको जल्दोबल्दो प्रविधि कृत्रिम बौद्धिकता अर्थात् एआईमा पनि यो भाषाको प्रयोग हुन थालेको छ । विगतका केही दशकयता मनोविज्ञान र मनोपरामर्शका क्षेत्रमा संस्कृत श्लोकको प्रयोग भइरहेको छ । चिकित्सा, योगजस्ता व्यावहारिक आयामसँग पनि यसलाई जोडेर हेर्ने क्रम बढेको छ । संस्कृत भाषा त ज्ञानको निधि पो रहेछ भन्ने बुझाइ बिस्तारै फराकिलो बन्दै गइरहेकामा उनले सन्तोष व्यक्त गरे ।
जीविकाको स्रोत नबन्दासम्म कुनै पनि भाषालाई जोगाउन सकिँदैन । पछिल्लो समय रोजगारीका लागि विभिन्न देशका भाषा सिकेर नेपालीहरू बिदेसिएका छन् । पछिल्लो समय संस्कृतले पनि निकै हदसम्म रोजगारी बढाएको अधिकारी बताउँछन् । ‘गुरुकुलमा पढेकाहरू लगभग सबै रोजगार वा स्वरोजगार भइरहेका छन्,’ उनी भन्छन्, ‘कर्मकाण्डका काम पाइन्छन् नै, पछिल्लो समय अध्यापन लगायत अन्य क्षेत्रमा राम्रो अवसर सिर्जना भइरहेको छ ।’
भारतमा जस्तो नेपालमा संस्कृत भाषाको जर्गेनामा सरकारी तवरबाट खासै काम नभएको अधिकारीको गुनासो छ ।
- महत्त्व
संस्कृत अनादि परम्पराको भाषा हो भन्छन् नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक नवराज घिमिरे ।
उनका अनुसार यसको सुरुवात कहिले भयो भनेर यकिनका साथ भन्न सकिएको छैन । सृष्टिको सुरुवातदेखि यो भाषा चल्दै आएको र अनन्तसम्म रहने मान्यता छ । ‘संस्कृत एउटा भाषा हो, तर यसमा निबद्ध रहेको ज्ञान राशिका कारण यो भाषा मात्रै रहेको छैन । भौतिक ज्ञान (परा) र आध्यात्मिक ज्ञान (अपरा) अन्तर्गत पर्ने ज्ञान, विज्ञान, दर्शन साहित्य, योग, आयुर्वेद, ज्योतिष एवं वास्तु, उपासना, कला, शिल्प, कर्मकाण्ड आदिलाई यो भाषाले समेटेको छ,’ उपप्राध्यापक घिमिरे भन्छन्, ‘तर अहिले अधिकांशले यो भाषालाई कर्मकाण्डको भाषाको रूपमा मात्रै हेर्ने गरेका छन् ।’
यो सीमित घेराबाट संस्कृतलाई निकालेर विश्वव्यापीकरण गर्न विश्व संस्कृत दिवसको आवश्यकता परेको घिमिरेको भनाइ छ ।
उनका अनुसार, संस्कृत भाषाको साहित्य विशाल छ । यसमा जीवन र जगत, विज्ञान अनि हाम्रो जीवनशैलीसँग जोडिएका अनेकौँ वेद, ग्रन्थ र पुराण छन् । यी सबैलाई जीवित राख्न, उजागर गर्न र समाजसम्म पु¥याउन जरुरी छ । ‘यद्यपि समाज र संस्कृत भाषाबिच अन्तर देखिन थालेको अवस्था छ । यो अवस्थामा संस्कृत दिवसको महत्त्व झनै चुलिएको छ,’ उनले भने । हाम्रो धर्म–संस्कृति दर्शन अनि परम्परालाई एक–अर्कासँग जोडिराख्ने पहल आवश्यक भएको उनी बताउँछन् ।
उनका अनुसार, यो दिवस नयाँ होइन, निकै पुरानो दिवस हो । पुरानो समयमा योगी नरहरिनाथले पनि संस्कृत दिवस मनाउँथे । भारतमा सन् १९६९ देखि यो दिवस मनाउन थालिएको थियो । त्यतिबेला भारत सरकारको शिक्षा मन्त्रालयले केन्द्रीय र राज्यस्तरमा संस्कृत दिवस मनाउन निर्देशन जारी गरेको थियो । सरकारी पहलमा त्यहाँ शिक्षा मन्त्रालय, शिक्षण संस्थानले कैयौँ खालका कार्यक्रम गर्ने गरेका छन् ।
अहिले विज्ञानको क्षेत्रमा जे जति उपलब्धि भएका छन्, ती सबै वेदभन्दा बाहिर नगएको घिमिरेको भनाइ छ । ‘योगशास्त्र, आयुर्वेद, आस्तिक तथा नास्तिक सबै खालको दर्शनलाई संस्कृत भाषाले समेटेको छ । यो निकै उदार भाषा पनि हो,’ उनी भन्छन्, ‘यसलाई कर्मकाण्ड गर्ने भाषाको रूपमा साँघुरो रूपमा बुझिएको छ । यो सोच फेर्न पनि संस्कृत दिवस राम्रो माध्यम भएको छ ।’
- संस्कृत अध्ययन
देशभरि अहिले निजी क्षेत्र, संस्थान–गुठी आदिमार्फत झन्डै दुई सयवटा गुरुकुल सञ्चालन भइरहेका छन् । कक्षा ४ देखि कक्षा १० सम्म र उत्तर मध्यमा हुँदै शास्त्री, आचार्यसम्मका पढाइ भइरहेका छन् । पुराण, यज्ञ, प्रवचन, अध्ययन अध्यापनमार्फत संस्कृत भाषालाई समाजसँग जोड्ने काम भइरहेको छ ।
यद्यपि नेपाल र भारतका पण्डितले आफ्नो जीविकोपार्जनका लागि मात्र संस्कृत पढेर यसको गरिमा विश्वव्यापी बन्दैन । संस्कृतले कला र साहित्यलाई समेटेकाले यसलाई विश्वभर फैलाउनुपर्नेमा उपप्राध्यापक घिमिरे जोड दिन्छन् । संस्कृतको व्याकरण लगायत पक्षबाट अझ व्यापक रूपमा अनुसन्धान हुनुपर्ने समेत उनको भनाइ छ ।