मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

धारा नेपालगञ्ज म्याराथनको १० औँ संस्करण मंसिर २२ गते

सोमबार, ०३ भदौ २०८१, ११ : ०१
सोमबार, ०३ भदौ २०८१

काठमाडौँ । धारा नेपालगन्ज म्याराथनको १० औँ संस्करण आगामी मंसिर २२ गते आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले १० औँ संस्करणको मिति तय गरेको हो । सरकारले बृहत राष्ट्रिय खेलकुदको मिति तय गरेसँगै काउन्ट डाउन सुरु गरिसकेको हुँदा नेपालगन्ज म्याराथनको मिति केही पछाडि सारिएको आयोजकले जनाएको छ ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबिच विस्तृत शान्ति सम्झौता भएको दिन (२०६३ साल मंसिर ५) को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यस वर्ष भने मंसिर २२ गते सञ्चालन गर्न लागिएको हो । दशक लामो सशस्त्र द्वन्द्व विधिवत रुपमा अन्त्य भई देशले शान्ति, विकास र समृद्धिको बाटोमा यात्रा तय गरेको दिनको स्मरण गर्दै मंसिर ५ गते नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप पनि प्रज्वलन गरिँदै आएको जानकारी क्रियटिभ ह्याण्ड्सका संस्थापक टीएस ठकुरीले दिए ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको १० औँ धारा नेपालगन्ज म्याराथनका लागि २०८१ भदौ १ गतेदेखि खेलाडी दर्ता खुला गरिएको जानकारी पनि ठकुरीले दिए । प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा दौड, किड्स रन (८ देखि १२ बर्ष उमेर समुह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ ।

स्कुलस्तरीय दौडमा बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग–अलग दुईवटा स्पर्धा सञ्चालन गराएर पुरस्कृत गरिन्छ । यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि कक्षा ८ र कक्षा ९ देखि कक्षा १२ सम्मको अलग अलग दौड (५ किमी) सञ्चालन गरिने जानकारी ठकुरीले दिए ।

म्याराथनका क्रममा दुई दिने नेपालगन्ज कनक्लेभ र एक्स्पो पनि आयोजना गरिने बताइएको छ । एक दशकको यात्रा मनाउने क्रममा १० विभिन्न कार्यक्रम आयोजना गरिने तयारी रहेको ठकुरीले बताए । नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भइ कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भइ सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पुरा हुने बताइएको छ ।

नेपालगन्ज म्याराथनको टाइटल स्पोन्सर केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ । यस बर्ष केही विधाको नगद पुरस्कार राशीमा पनि वृद्धि गरिने आयोजकले जनाएको छ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिने जानकारी ठकुरीले दिए ।

नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । हरेक दुई बर्षमा आयोजना हुने एम्सको २३ औँ बार्षिक साधारणसभामा नेपालबाट पहिलोपटक नेपालगन्ज म्याराथनले प्रतिनिधित्व गरेको थियो ।

जापानको ओशाकामा भएको २३ औँ सभामा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिएका थिए । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी दौडको प्रमाणीकरण पनि भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौँ पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम पनि गर्छ ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । यसैगरी, दोस्रो संस्करणमा सेनाकै कृष्ण बस्नेत, तेस्रो संस्करणमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौँ संस्करणमा सेनाका भिमबहादुर साउद, छैठौँ संस्करणमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की, सातौँ संस्करणमा एपीएफ क्लबकै किरणसिंह बोगटी, आठौँ संस्करणमा सेनाका खडकबहादुर खड्का र नवौँ संस्करणमा एपीएफ क्लबका गोपीचन्द्र पार्की च्याम्पियन बनेका थिए ।

यसैगरी, महिला हाफ म्याराथनतर्फ सातौँ, आठौँ र नवौँ संस्करणमा सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन् । पहिलो संस्करणमा एपीएफकी कृष्णेश्वरी सिन्तकला, दोस्रो संस्करणमा एपीएफकी कान्छीमाया कोजु, तेस्रो संस्करणमा आर्मीकी रेशु बस्नेत, चौथो संस्करणमा एपीएफकी कान्छीमाया कोजु, पाँचौँ संस्करणमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने र छैटौँ संस्करणमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए ।

दुईवटा संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु र तीन संस्करण जित्ने सन्तोषी श्रेष्ठ हुन् । पुरुषतर्फ दुई पटक म्याराथनतर्फ विजेता हुने एपीएफका गोपीचन्द्र पार्की मात्र हुन् । नवौँ धारा नेपालगन्ज म्याराथन विजेता गोपीचन्द्र पार्कीले विश्व प्रतिष्ठित लण्डन म्याराथन र सन्तोषीले पेरिस ओलम्पिकमा पनि सहभागिता जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप