शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

शेयर बजार स्थिर ढंगले अघि बढेको देख्न चाहन्छौँ : अर्थमन्त्री

सोमबार, ०३ भदौ २०८१, १० : १०
सोमबार, ०३ भदौ २०८१

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत र संरचनागत प्रबन्ध गरी प्रविधिको प्रयोगमा जोड दिने बताएका छन् । आइतबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले पछिल्ला दिनहरूमा शेयर बजारको बारेमा प्रायः चर्चा हुने गरेको भन्दै शेयर बजार अहिले उत्साहित रहेको बताएका हुन् । 

उनले शेयर बजार अर्थतन्त्रको ऐना भएको भन्दै शेयर बजारले अर्थतन्त्रको अवस्थालाई प्रतिविम्ब गर्ने जिकिर गरे । उनले सरकारले लिएका नीतिहरूका कारण शेयर बजार उत्साहित रहेको बताए । उनले सरकारले दिगो, स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहेको स्पष्ट पारे । 

उनले भने, ‘आर्थिक क्षेत्रमा केही सकारात्मक पहलकदमी लिइएका छन् । सरकारका पहलकदमी र पछिल्ला कतिपय निर्णयहरूले, मौद्रिक नीति लगायतका कतिपय नीतिहरूले अर्थतन्त्रलाई चलायमान गर्न, गतिशील तुल्याउन सकारात्मक सङ्केत गरेको छ । पछिल्ला दिनहरूमा प्रायः चर्चा हुने गर्छ, शेयर बजारको । काफी चर्चा हुने गरेको छ । यो चर्चाका निम्ति मैले केही भन्नु छैन । मैले यति मात्रै भन्न चाहन्छु, शेयर बजार अहिले उत्साहित छ । हामीले भन्ने गरेका छौँ, शेयर बजार अर्थतन्त्रको ऐना हो । यसले हाम्रो अर्थतन्त्रको अवस्थालाई प्रतिविम्ब गर्दछ । यस हिसाबले सरकारले लिएका नीतिहरूका कारण शेयर बजार उत्साहित छ । हामी दिगो, स्थिर ढंगले शेयर बजारअघि बढेको देख्न चाहन्छौँ । त्यसका निम्ति आवश्यक पर्ने नीतिगत प्रबन्ध, आवश्यक पर्ने संरचनागत प्रबन्ध, आवश्यक प्रविधिको प्रबन्ध मैले तीन पक्षमा ध्यान दिनुपर्ने आवश्यकता देखिरहेको छु । शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत प्रबन्ध, संरचनागत प्रबन्ध र कतिपय प्रविधिको पनि प्रबन्ध गर्नुपर्ने आवश्यकता छ । त्यसतर्फ पनि सरकारको ध्यान गइरहेको छ । इन्साइडर ट्रेडिङका कुरा र लगानीकर्ताको लगानी नडुबोस् भन्ने सुझाव दिनुभएको छ । यसमा हाम्रो गम्भीर ध्यान छ ।’

उपप्रधानमन्त्री पौडेलले नेपालको अर्थतन्त्र चुनौतीको बिचबाट गुज्रिएको बताए । उनले अर्थतन्त्र शिथिल रहेको र यसलाई चलायमान नबनाएसम्म, उत्पादन र उत्पादकत्व वृद्धि नगरेसम्म, रोजगारी सिर्जना नगरेसम्म, लगानी अभिवृद्धि नगरेसम्म लगानीमैत्री वातावरण निर्माण नगरेसम्म समग्र राष्ट्रको आय र प्रतिव्यक्ति आयलाई नबढाएसम्म आर्थिक क्षेत्रमा चाहेको परिवर्तन सम्भव नरहेको बताए । 

वर्तमान सरकार बने यता अर्थतन्त्रका समस्या पहिचान गर्ने र समाधान गर्ने विषयमा बढी ध्यान दिएको उनको भनाई थियो । तत्कालीन, मध्यकालीन र दीर्घकालीन रूपमा अर्थतन्त्रका समस्या समाधान गर्न आवश्यक कदम चालिरहेको बताउनु भयो । वर्तमान सरकार बनेपछि आम नागरिकको निराशा चिर्न सफल भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप