शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

पोखराका फ्रेस हाउसमा कुहिएका माछामासु, साढे २ लाख रुपैयाँ जरिवाना

सोमबार, ०३ भदौ २०८१, १० : ०२
सोमबार, ०३ भदौ २०८१

पोखरा । पोखराका केही फ्रेस हाउसहरूमा कुहिएका माछा र मासु बिक्री गरेको पाइएको छ । पोखरा महानगरपालिकाको अनुगमन समितिले गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो । 

चाडपर्व नजिकिएपछि महानगरले आइतबारदेखि अनुगमन सुरु गरेको छ । मूल्यवृद्धि, मिसावट र जनस्वास्थ्यमा असर पर्ने मासुजन्य खाद्यवस्तुको अनुगमन गरिएको उपमेयर मन्जुदेवी गुरुङले जानकारी दिइन् । उनका अनुसार उपभोक्ताहरूले धेरै नै गुनासो गरेपछि अनुगमन थालिएको हो ।

आइतबार पोखराको श्रीकम्पलेक्स, सृजनाचोक र पृथ्वीचोकमा रहेका १७ वटा माछा र मासु पसलमा अनुगमन गरेको गुरुङले जानकारी दिइन् । अनुगमनका क्रममा केही पसलहरूमा कुहिएर खाना नहुने माछा र मासु जफत गरिएको छ । 

२ सय १९ किलो माछा र १५ किलो खसीको मासु बरामद गरिएको अनुगमन टोलीले जनाएको छ । जफत गरिएको माछा र मासु भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको जैविक डिस्पोजल पिटमा डिस्पोज गरिएको छ ।

अनुगमन गरिएका १७ वटा मध्ये १० वटा माछा पसललाई १५ हजारदेखि ५० हजारसम्म जरिवाना गरिएको छ । एकैदिनको अनुगमनमा २ लाख ५५ हजार जरिवाना गरिएको महानगरका सहकारी तथा उद्योग शाखा अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए । 

पोखरा ९ पृथ्वीचोकमा रहेको लाचन फिस हाउसबाट १ सय केजी, राजु फिस हाउसबाट ८० केजी कुहिएको माछा जफत गरी ५०/५० हजार जरिवाना गरिएको छ । त्यस्तै, पोखरा ८ सृजनाचोकमा रहेको सद्धाम फ्रेस हाउसबाट ८ केजी माछा र खसीको मासु, जस्मिन फ्रेस हाउसबाट ७ केजी खसीको मासु जफत गरेर ३०/३० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

पोखरा ८ श्री कम्प्लेक्समा सञ्चालनमा रहेको न्यू रमेश फिस हाउसबाट १३ किलो ३ सय ग्राम सडेको माछा भेटिएको र २० हजार रुपैयाँ जरिवाना गरिएको छ । न्यू सुमन फिस हाउस, सुरज फिस हाउस, नमुना मत्स्य बिक्री केन्द्र लगायत ५ वटा पसललाई १५ हजारका दरले जरिवाना गरिएको सापकोटाले बताए । अनुगमनमा पसल नवीकरण नभएको,सरसफाइ नभएको, सिसा, जाली नलगाई बाहिर बेच्ने गरेको, डीप फ्रिज नभएको, माछा पसल सञ्चालनका लागि तालिम नलिएको, फोहोर पानीको प्रयोग गरेको, पसल दुर्गन्धित देखिएकाले जरिवाना गरिएको र आगामी दिनमा दोहोरिए पसल बन्द गराउने चेतावनी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप