क्यामेराको कहानी : एनालग फोटोग्राफीदेखि डिजिटल युगसम्म
‘नेपालमा रिल क्यामेराको प्रयोग समयसँगै हराउँदै गयो तर विदेशीले यसलाई अहिले पनि प्रयोग गर्छन् । एनालग क्यामेराको डाइनामिक रेन्ज नै फरक हुन्छ । अहिलेको डिजिटल क्यामेराले रिल क्यामेरा जतिको क्वालिटी दिन सक्दैन,’ मरुहिटीमा रहेको एनालग क्लब नेपालका संस्थापक सन्जोग मानन्धर भन्छन्, ‘अहिले पनि कतिपय मानिस रिल क्यामेरालाई महत्त्व दिन्छन् ।’
मानन्धरले यो क्लब सन् २०१९ देखि सञ्चालनमा ल्याएका हुन् । योसँगै ललितपुरको जावलाखेलमा रिल धुलाउने ठाउँ छ, फिल्म फाउन्ड्री । नेपाल घुम्न आएका कतिपय विदेशीलाई अझै पनि रिल क्यामेरा मनपर्छ तर यी दुई स्थानबाहेक देशभर कतै रिल धुलाउने सुविधा छैन ।
नेपालमा सबैभन्दा पहिला राणा परिवारले क्यामेरा भित्र्याए । भारतमा ब्रिटिस राज रहेका बेला राणाशासकले उतैबाट फोटोग्राफर बोलाउने र आफ्नो परिवारको फोटो खिच्ने गरेको इतिहास छ ।
करिब दुई सय वर्षअघि ठुलो बाकसमा रहेको क्यामेरा अहिले हातमा अटाउने भइसकेको छ । यसको आकार–प्रकारसँगै फोटोको गुणस्तरमा पनि उल्लेख्य परिवर्तन आइसकेको छ । एनालगबाट सुरु भएको फोटोग्राफी आज मिररलेस, डिएसएलआरसँगै मोबाइलमा पनि विभिन्न प्रारूपमा आइसकेको छ ।
नयाँ प्रविधि आएसँगै पुरानो एनालग फम्र्याट बजारबाट फेजआउट भइसक्यो । अहिलेको ‘जेनजेड’लाई रिलका बारेमा कमै जानकारी छ । कुनै समय इज्जत, प्रतिष्ठा र सम्पन्नताको विषय रहेको रिल क्यामेरा अहिले सो–पिसका रूपमा एकाध घर वा पसलमा बसिरहेका छन् ।
- एनालग फोटोग्राफी
एनालग फोटोग्राफी भनेपछि रिल (फिल्म पनि भनिन्छ)बाट फोटो खिच्नु मात्रै नभई यसलाई विभिन्न रासायनिक प्रक्रियाबाट पुनः प्रकाशनका लागि योग्य बनाउनु हो । यसको पोस्ट प्रोसेसिङका लागि छुट्टै कोठा र सामग्री चाहिन्छन्, जुन अहिले खर्चिलो मात्रै छैन, समय पनि बढी लाग्छ ।
श्यामश्वेत रिल धुलाउन आवश्यक तीन प्रकारका केमिकल नेपालमै बनाउन सकिन्छ, तर रंगीन रिल धुलाउन आवश्यक दुई प्रकारका केमिकल विदेशबाट मगाउनुपर्छ । विदेशबाट आउने साथी र आफन्तमार्फत केमिकल र रिल ल्याइदिन आग्रह गर्नुपरिरहेको मानन्धर बताउँछन् ।
‘कहिलेकाहीँ त केमिकल र रिल नभएर काम रोकिएको छ,’ उनी भन्छन्, ‘अहिले डार्करुम प्रोसेस फलो कसैले गर्दैनन्, त्यसैले पनि समस्या छ । डार्करुममा रिल रोल गर्नका लागि चाहिने स्पुल, कन्टेनरहरू पनि विदेशबाटै मगाउनुपर्छ । यसमाथि यी सामग्रीको मूल्य अहिले चलनचल्तीमा रहेको फोटोग्राफीभन्दा महँगो छ ।’
फोटो खिचिसकेपछि सबैभन्दा पहिला सबै बत्ती निभाएर कोठा अँध्यारो बनाएर रिलको टुप्पोलाई स्पाइरलमा बेर्नुपर्छ । यसरी बेर्दा रिलको तह आपसमा टाँसिनु हुँदैन र यो प्रक्रिया जारी रहँदा कुनै प्रकारको चम्किलो बत्ती बाल्नु हुँदैन । स्पाइरलमा रिल बेरिइसकेपछि त्यसलाई ‘फिल्म डेभलपिङ ट्याङ्क’मा राख्नुपर्छ अनि कतैबाट प्रकाश नछिर्ने गरी बन्द गर्नुपर्छ । डेभलपिङ ट्याङ्क सिल गरेपछि बत्ती बालेर डेभलपर नामक रसायनले ट्याङ्क भर्नुपर्छ ।
डेभलपर राखेर बिर्को लगाएपछि ट्याङ्कलाई चारदेखि नौ मिनेटको अन्तरमा १० पटकसम्म राम्ररी हल्लाउनुपर्छ । रिल प्रोसेसिङ कतिबेर गर्ने भन्ने मौसमको तापमानमा पनि भर पर्छ ।
डम्बरशमशेरले दरबारमै फोटो स्टुडियो स्थापना गरेका थिए । उक्त स्टुडियोमा राणाहरूले आफ्नो तस्बिर खिचाउने गर्थे, जहाँ सर्वसाधारणलाई तस्बिर खिचाउने अनुमति थिएन ।
डेभलपरमा धुने काम सकिएपछि उक्त केमिकललाई पुनः अर्को भाँडामा खन्याउनुपर्छ । ट्याङ्कमा पानी हालेर करिब एक मिनेट फिल्मलाई धोएपछि ट्याङ्कलाई उल्टो पारी पूरै पानी खन्याउनुपर्छ । यसो गर्दा पहिलेको डेभलपरको सम्भावित असरबाट फिल्मलाई बचाउन सकिन्छ । यसपछि ट्याङ्कमा फिक्सर नामक रसायन हालेर ट्याङ्कको बिर्को बन्द गर्नुपर्छ । फिक्सरले वस्तुको आकृतिलाई स्थायी बनाउँछ ।
फिक्सरमा फिल्मलाई मौसमको तापमान अनुसार चारदेखि १२ मिनेटसम्म राख्नुपर्छ । अब ट्याङ्कको बिर्को खोलेर फिल्मलाई सफा पानीले राम्ररी धुनुपर्छ । स्पाइरलमा बेरिएको केही भागलाई बाहिर निकालेर दुवै किनारमा क्लिपले च्यापेर फिल्म निकाल्नुपर्छ । यसपछि फिल्मलाई सफा सुक्खा र धुलोरहित कोठामा सुकाउनुपर्छ । फिल्म सुकिसकेपछि फोटोको आकृति अनुसार काटेर खाममा राख्न सकिन्छ ।
औसतमा रिल धुलाउनका लागि डार्करुममा करिब एक घन्टा बिताउनुपर्छ । रासायनिक प्रक्रिया सकिइसकेपछि रिल सुकाउनका लागि पनि मौसम अनुसार समय लाग्छ ।
‘डार्करुममा बसेर फोटो धुलाउनका लागि निकै धैर्य चाहिन्छ । डेभलपर र फिक्सरलाई एउटै भाँडामा राख्नुहुन्न । ती दुई फरक कुरा हुन् र एकअर्कासँग अलिकति मात्रै पनि मिसियो भने त्यो पूरै सोलुसन नै फाल्नुपर्छ । अझ केमिकलको तापक्रम पनि नापेर, म्यानुअल पढेर मात्रै चलाउनुपर्छ । नत्र फोटो राम्रोसँग डेभलप हुँदैन,’ मानन्धर भन्छन्, ‘यसैले पनि फोटोग्राफीलाई आर्ट र साइन्स दुवै भनिन्छ । फोटो खिच्दा प्रकाशसँगको संयोजन मिलाउनुपर्यो र पछि धुलाउँदा केमिकलका बारेमा राम्रो ज्ञान हुनपर्यो ।’
- नेपालमा फोटोग्राफीको इतिहास
नेपालमा सबैभन्दा पहिला राणा परिवारले क्यामेरा भित्र्याए । भारतमा ब्रिटिस राज रहेका बेला राणाशासकले उतैबाट फोटोग्राफर बोलाउने र आफ्नो परिवारको फोटो खिच्ने गरेको इतिहास छ । त्यतिबेला नेपालमा आएर पहिलोपटक फोटो खिच्ने विदेशीका रूपमा क्यालेन्स टेलरलाई लिइने गरिएको छ ।
नेपालको फोटोग्राफीसम्बन्धी एक अनुसन्धानात्मक आलेखमा अनसुन्धाता प्रत्यूष वन्तले नेपालभित्र पहिलोपटक टेलरले सन् १८६३ देखि १८८५ का बिचमा फोटो खिचेको उल्लेख गरेका छन् । त्यस समयमा टेलरले नेपालका केही जनजाति र यहाँको आर्किटेक्चरलाई ध्यानमा राखेर फोटो खिचेको उल्लेख छ ।
त्यतिबेला राणा परिवारले मात्र क्यामेरा चलाउन पाउँथे र उनीहरूको इच्छा अनुसार केही विदेशीले फोटो खिच्न पाउँथे । फोटो धुलाउने काम विदेशी ल्याबमा हुन्थ्यो । त्यतिबेला नेपालमा फोटोग्राफीको विकास भएको थिएन । २००७ सालको क्रान्तिपछि मात्रै नेपाली जनताले घरमा क्यामेरा राख्ने स्वतन्त्रता पाए ।
वीरशमशेरका कान्छा भाइ डम्बर शमशेर (सन् १८५९–१९२२) लाई नेपालको पहिलो फोटोग्राफरका रूपमा चिनिन्छ । डम्बरशमशेरले दरबारमै फोटो स्टुडियो स्थापना गरेका थिए । उक्त स्टुडियोमा राणाहरूले आफ्नो तस्बिर खिचाउने गर्थे, जहाँ सर्वसाधारणलाई तस्बिर खिचाउने अनुमति थिएन ।
सन् १८७० को दशकको मध्यतिर भारत हुँदै नेपाल आएका युरोपका फोटोग्राफरबाट डम्बरशमशेरले फोटोग्राफी कला सिकेका थिए । डम्बरका छोरा समरशमशेर र नाति बालकृष्ण समलाई पनि नेपाली फोटोग्राफीका संस्थापकको रूपमा लिने गरिन्छ । वीरशमशेरका छोरा गेहेन्द्रशमशेरको संरक्षणमा पूर्णमान चित्रकारले सन् १८८० तिर कलकत्ता गएर थप फोटोग्राफी शिक्षा लिए ।
पूर्णमान त्यस समयका ख्याति प्राप्त चित्रकार थिए, उनलाई डम्बर शमशेरले आफ्नो स्टुडियोमा सहायकका रूपमा राखेका थिए । त्यस समयमा खिचिएका फोटोहरू नारायणहिटी दरबारको दक्षिणपट्टि रहेको सेतो दरबारमा राखिएको थियो तर सन् १९३३ मा भएको आगलागीबाट सो दरबार ध्वस्त भयो ।
सन् १८९० को दशकमा दीर्घमान चित्रकारलाई सिंहदरबारको कला शाखामा जागिर दिइयो । सन् १९०८ मा दीर्घमान चित्रकारसहित एक टोलीलाई युरोप पठाइएको थियो, फर्कंदा उनीहरुले धेरै क्यामेरा भित्र्याएको अभिलेख छ ।
उनै दीर्घमानलाई नेपालको पहिलो सर्वसाधारणको फोटो खिच्ने स्टुडियो समेत स्थापना गर्ने फोटोग्राफर भनेर चिनिन्छ तर यस सम्बन्धमा ठोस प्रमाण भेटिँदैन ।
हरिगोपाल अधिकारीको ‘साधना’ पत्रिकामा प्रकाशित लेख अनुसार, विष्णुध्वज जोशीको ग्रान्ड स्टुडियो जुन पहिले मरू प्याफलमा थियो, पछि न्युरोडमा सारियो, त्यसैलाई नेपालको पहिलो स्टुडियोका रूपमा लिइन्छ । उक्त स्टुडियो २०१८ सालमा बन्द भयो । विष्णुध्वज जोशी त्यस समयमा राजा त्रिभुवनका निजी फोटोग्राफर थिए ।
नेपालको इतिहासमा राणाशासकले सोखका रूपमा भित्र्याएको फोटोग्राफी आज धेरै युवाको आयको प्रमुख स्रोत बनिसकेको छ । राणाकालीन इतिहासदेखि अहिलेसम्म आइपुग्दा डम्बर शमशेरलाई पहिलो नेपाली फोटोग्राफरका रूपमा चिनिन्छ, सर्वसाधारणबाट नेपालको पहिलो फोटोग्राफरका रूपमा पूर्णमान चित्रकारलाई मानिन्छ भने पहिलो स्टुडियो स्थापना गर्ने फोटोग्राफर विष्णुध्वज जोशी तथा दीर्घमान चित्रकार हुन् ।
प्रजातन्त्र स्थापना भएसँगै अर्थात् २००७ सालदेखि महत्त्वपूर्ण सरकारी कागजात र राजदरबारका औपचारिक गतिविधिको फोटो खिचेर राख्ने प्रक्रिया सुरु भयो ।
- विश्व फोटोग्राफी दिवस
सन् १८३७ मा जोसेफ निसेफोर निप्से र लुइस ड्याग्युर मिलेर बनाएको नयाँ विधिलाई ‘ड्याग्युरटाइप्स्’ भनिन्छ । उक्त विधिका कारण आधुनिक फोटोग्राफीको विकास भएको विश्वास गरिन्छ । फ्रेन्च सरकारले अगस्ट १९ मा ड्याग्युरको आविष्कारलाई मानकका रूपमा घोषणा गरेको र यसले नै आधुनिक फोटोग्राफीलाई धरातल दिएको सम्झनामा विश्व फोटोग्राफी दिवस मनाइन्छ ।
त्यस समयमा आविष्कार गरिएको तरिकामा फोटो खिच्नका लागि प्रयोग गर्नुअघि तामाको पत्रलाई चाँदीको लेप लगाई आयोडिनको बाफको अगाडि राख्ने गरिन्थ्यो । यसरी करिब १५ मिनेटमै फोटो तयार हुने गथ्र्यो । यसअघि निप्सेले खिचेको तस्बिर तयार पार्न करिब ८ घन्टा लागेको थियो ।
सन् १८५० मा इमल्सन प्लेटको आविष्कार भएपछि ड्याग्युरटाइपस्को लोकप्रियता खस्कँदै गयो । ड्याग्युटाइपसको तुलनामा इमल्सन प्लेट सस्तो पर्नुका साथै एक्सपोजर टाइम पनि दुईदेखि तीन सेकेन्डमा झर्यो । गृहयुद्धका बेला खिचिएका अधिकांश फोटोमा वेट प्लेट वा इमल्सन प्लेटको प्रयोग गरिएको थियो ।
यी वेट प्लेट्सले इमल्सन प्रोसेसको प्रयोग गरी फोटो तयार पार्ने गर्थे, जसलाई कोलोडिन प्रोसेस पनि भनिन्छ । यही समयमै क्यामेरामा बेल्लोजको प्रयोग सुरु गरियो, जसकारण क्यामेराको फोकसमा सुधार भयो । यस समयमा सुरु भएका इमल्सन प्लेटमध्ये पनि एम्ब्रियोटाइप र टिन टाइप बढी लोकप्रिय भए । एम्ब्रियोटाइपले तामाको सट्टा ग्लास वा सिसाको प्लेटको प्रयोग गर्थे, जुन ड्याग्युरटाइपस् अन्तर्गत नै पर्थे ।
टिन टाइपमा भने टिनको पाता प्रयोग हुने गथ्र्यो । त्यस समयमा फोटोग्राफरहरूलाई रसायन शास्त्रको यथेष्ट ज्ञान हुनुपर्ने भएकाले धेरैजसो समूहमा हिँड्ने गर्थे, जसकारण डार्करुम प्रोसेस पनि सजिलै र सामूहिक रूपमा हुने गर्थे ।
सन् १८७० को दशकमा फोटोग्राफीले अग्रगामी छलाङ मार्यो । रिचर्ड म्याडडक्सले यसअघि भएका आविष्कारलाई अझ परिष्कृत बनाउँदै जेलाटिन प्लेट बनाए, यो वेट प्लेट जतिकै फोटो बनाउनका लागि निकै कम समय र गुणस्तर कायम राख्न सफल भयो ।
अझ आवश्यक परेका बेला मात्रै नबनाई भण्डारण गरिराख्न मिल्ने भएकाले पनि यसको उपयोगिता झनै बढ्यो । यो प्रक्रिया साना क्यामेरामा पनि प्रयोग गर्न मिल्ने भएकाले थप सहज बनाइदियो । यही कालखण्डमा विश्वको पहिलो म्यानुअल सटर क्यामेराको विकास भयो ।
- क्यामेरा कम्पनी
सुरुवाती समयमा फोटोग्राफी भनेको व्यावसायिक व्यक्तित्व र धनाढ्यका लागि मात्रै थियो, तर सन् १८८० को दशकमा जर्ज इस्टम्यानले कोडाक कम्पनीको स्थापना गरेपछि भने यो सबैको पहुँचमा पुग्न सफल भयो ।
इस्टम्यानले विकास गरेको क्यामेरामा एकपटकमा करिब एक सय वटासम्म फोटो खिच्न मिल्ने भयो । ती क्यामेरामा सिंगल लेन्स हुने गर्थे भने फोकसका लागि फोकस रिङ भने थिएन ।
फोटो खिचिसकेपछि जो–कोहीले पनि आफ्नो क्यामेरा कोडाक कम्पनीमा पठाएर रिल धुलाएर फोटो प्रिन्ट गर्न सक्थे । सामान्य मानिसले किन्न सक्ने यो क्यामेरालाई त्यस समयको सस्तो क्यामेराका रूपमा लिने गरिन्थ्यो ।
- स्मार्ट क्यामेराको युग
सन् १९७० को अन्त्य र १९८० को सुरुवाती दशकतिर कम्प्याक्ट क्यामेराको विकास भयो । ती क्यामेरामा फोटो खिच्दा फोटोग्राफरले आवश्यक परिवर्तन गर्न सक्थे । ‘पोइन्ट एन्ड सुट’ क्यामेरामा सटर स्पिड, एपरचर र फोकस चलाउन मिल्ने भएपछि फोटोग्राफरहरू आफ्नो विषयवस्तुमा बढी केन्द्रित हुन थाले ।
फोटोग्राफरहरू माझ अटोमेटिक क्यामेराको लोकप्रियता झन्झन् बढ्दै गयो, तर व्यावसायिक फोटोग्राफरले सिंगल लेन्स रिफ्लेक्स (एसएलआर) क्यामेरा नै प्रयोग गर्थे ।
- डिजिटल युगको सुरुवात
सन् १९८० र १९९० को दशकमा क्यामेरा उत्पादक कम्पनीले विद्युतीय माध्यमबाट फोटो खिच्न र स्टोर गर्न सहज बनाइदिए । ‘पोइन्ट एन्ड सुट’ क्यामेराले पहिलोपटक फोटोग्राफी रिलको बदलामा डिजिटल माध्यम प्रयोग गरी फोटो खिच्न सहज बनायो ।
सन् १९९१ सम्म कोडाक कम्पनीले पहिलो डिजिटल क्यामेराको विकास गर्यो, जुन व्यावसायिक फोटोग्राफरबिच लोकप्रिय भयो । डिजिटल क्यामेरा विकासको होडमा क्यानन, निकोन, पेन्टाक्स लगायत अन्य कम्पनीले अझ परिष्कृत र विकसित ‘सिंगल लेन्स रिफ्लेक्स’ अथवा ‘डिजिटल सिंगल लेन्स रिफ्लेक्स’ क्यामेराको विकास गरिसकेका छन् । अझ केही कम्पनीले ‘मिररलेस’ क्यामेरा पनि विकास गरी यसको व्यावसायिक उत्पादन गरिरहेका छन् ।
प्रविधिको विकाससँगै अहिले ‘पोइन्ट एन्ड सुट’ क्यामेराले निप्सेको प्युटर प्लेटभन्दा अझ परिष्कृत र उच्च गुणस्तरको फोटो खिच्न सक्छ । अहिले बजारमा रहेका स्मार्टफोनहरूले पनि उच्च गुणस्तरको फोटो खिच्न सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित
-
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का
-
इजरायली आक्रमणमा १०० बढी प्यालेस्टाइनी मारिए
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर