बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

कोशीका उद्योगहरूमा लोडसेडिङ भएको उद्योग परिसंघको दाबी

आइतबार, ०२ भदौ २०८१, १९ : ३९
आइतबार, ०२ भदौ २०८१

विराटनगर । कोशी प्रदेशका औद्योगिक क्षेत्रहरूमा नेपाल विद्युत् प्राधिकरणले पुनः लगातार लोडसेडिङ गर्न थालेको भन्दै नेपाल उद्योग परिसंघ कोशी प्रदेशले चिन्ता व्यक्त गरेको छ । परिसंघले उद्योगहरू गम्भीर संकटमा परेको दाबी गरेको छ । 

नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा मुलुकको प्रमुख औद्योगिक कोरिडोर मानिने सुनसरी–मोरङ क्षेत्रका सयौँ उद्योगहरूमा दैनिक घण्टौँसम्म बिना पूर्वसूचना विद्युत् कटौती, कम भोल्टेज र ट्रिपिङका समस्याहरू देखिएको उल्लेख छ । यसले उत्पादकत्वमा नकारात्मक असर पार्नुका साथै उद्योगहरूलाई ठुलो आर्थिक नोक्सानी भोग्न बाध्य पारेको छ ।

परिसंघका अध्यक्ष पवन कुमार सारडाले भने, ‘अचानक र अघोषित रूपमा हुने यस प्रकारको लोडसेडिङले अब उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको छ। यसले मुलुकको अर्थतन्त्रमै गम्भीर संकट निम्त्याउन सक्छ।’

उद्योगीहरूले यस समस्याका कारण नियमित उत्पादन तालिका अवरुद्ध भएको, कामदारहरूले काम नपाएको, महँगा मेसिनहरूमा क्षति भएको, कच्चा पदार्थको खेर गएको, उत्पादन लागत वृद्धि र प्रतिस्पर्धात्मकतामा ह्रास आएको तथा बैंक ऋण र ब्याज भुक्तानीमा कठिनाइ भएको परिसंघको दाबी छ । 

परिसंघले सरकार र नेपाल विद्युत् प्राधिकरणलाई यस समस्याको तत्काल समाधान गर्न आग्रह गरेको छ । उनीहरूले विद्युत् आपूर्तिमा सुधार नआए उद्योगहरू बन्द गर्न बाध्य हुने र त्यसले देशको आर्थिक वृद्धि, निर्यात र शोधनान्तर घाटामा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएको छ । प्राधिकरणले विद्युत् खपत बढाउन आग्रह गर्ने र निर्यात गर्ने तर स्वदेशी उद्योगहरूलाई पर्याप्त बिजुली उपलब्ध नगराउने विरोधाभासप्रति पनि परिसंघले आपत्ति जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप