एमाले कोशीको १३ बुँदे आचारसंहिता : फेसबुकमा पार्टी नेताबारे लेख्न प्रतिबन्ध
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले एमालेका नेता तथा कार्यकर्ताहरूलाई फेसबुक तथा सामाजिक सञ्जाल मार्फत पार्टीका नेतालाई लक्षित गरी लेख्न प्रतिबन्ध लगाएको छ ।
एमाले कोशी प्रदेश कमिटीको चौथो पूर्ण बैठकले १३ बुँदे आचारसंहिता जारी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको गोपनीयता भङ्ग गरी अनधिकृत मिडियामा सम्प्रेषण गर्ने कार्य गर्न बन्द गर्नसमेत निर्देशन दिएको हो । शनिबार विराटनगरमा भएको बैठकको निर्णय सार्वजनिक गर्दै एमाले कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई लागि १३ बुँदे आचारसंहिता लागू गरेको बताए ।
एमाले कोशी प्रदेश कमिटीले पारित गरेको १३ बुँदे संहितामा नेता कार्यकर्तालाई ठाउँ कुठाउँ नबोल्न समेत निर्देशन दिएको छ ।
पार्टीको पार्टीको नीति विधि, विधान, पद्धति र संस्थागत प्रणाली भन्दा बाहिर गएर कुनै पनि कार्य नगर्न समेत निर्देशन दिएको छ । पारित भएको आचारसंहितामा पार्टीका नेता तथा कार्यकर्ताले गुटबन्दी पूर्ण गतिविधि र क्रियाकलाप वा कुनै पनि त्यस प्रकारका बैठकहरू गर्ने काम गर्न नहुने आचारसंहिता एमाले कोशीले बनाएको छ । संहितामा भनिएको छ, ‘पार्टी नेता तथा कार्यकर्ताले ठाउँ कुठाउँ पार्टी नेता र कार्यकर्ता लक्षित वा इङ्गित बोल्न हुँदैन । कोही कसैका बारेमा कुरा लाउँदै र धाउँदै हिँड्ने खेती गर्न नहुने र कुनै पनि अन्तर्विरोधमा खेलेर वा हात हालेर नेता कार्यकर्ताहरूलाई मुछ्न वा विभाजित गर्ने कार्य गर्न हुँदैन ।’ यस्तै व्यक्तिगत स्वार्थ र महत्वकांक्षा पुरा गर्ने माध्यमको रूपमा नेता कार्यकर्तालाई प्रयोग गर्न नहुने आर्थिक र नैतिक आचरण भ्रष्ट हुने कार्य गर्न नहुने आचार संहितासमेत पारित गरेको छ ।
बैठकको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज शेरधन राईले मिसन ८४ पुरा गर्न एमाले जनताको घरसम्म पुग्ने बताए । उनले यसका लागि एमाले प्रदेशबाट जिल्ला पालिका र टोल हुँदै घरघरमा पुग्ने बताए ।
इन्चार्ज राईले मुलुकको अग्रगमनका लागि ठुला दलहरू एमाले र काङ्ग्रेस मिलेर सरकार चलाएको भन्दै ८४ पछि एमाले एक्लैले सरकार चलाउन सक्ने हैसियत बनाउने गरी काम थालिएको बताए । एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले कार्त्तिक मसान्त भित्रमा अधिवेशन गर्न बाँकी रहेको जिल्लाहरूको अधिवेशन सम्पन्न गर्ने बताए । उनले भने, ‘बैठकबाटै हामीले कार्त्तिक सम्ममा सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेका छौँ । हामी समयमै बाँकी रहेका जिल्लाहरूको अधिवेशन सम्पन्न गर्छौ ।’ एमाले कोशी प्रदेशका मोरङ, इलाम र तेह्रथुम जिल्लाको अधिवेशन गर्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता तथा निर्माता खड्का युकेमा सम्मानित
-
दाल तथा गेडागुडीको अग्रिम कर घट्यो, बजार मूल्य घट्नेमा अन्योल
-
प्रधानमन्त्रीको चीन भ्रमण प्रस्ताव अर्को मन्त्रिपरिषद् बैठकमा
-
प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय
-
रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याउने तयारी
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत