विश्व क्रिकेटमा दुर्लभ कीर्तिमान बनाउने यी पाँच खेलाडी
काठमाडौँ । विश्व क्रिकेट इतिहासमा केही यस्ता खेलाडी छन् जसको अविश्वासिलो प्रदर्शनले सबैलाई आश्चर्यमा पार्ने गर्छ । एकदिवसीय क्रिकेटमा शतक बनाउनु ब्याट्सम्यानका लागि ठुलो उपलब्धि हो । एउटै खेलमा पाँच विकेट लिनु पनि बलरका लागि महत्त्वपूर्ण उपलब्धि मानिन्छ ।
तर, केही खेलाडी यस्ता पनि छन् जसले एउटै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा शतक बनाएका छन् र सोही खेलमा पाँच विकेट पनि लिएका छन् । विश्व क्रिकेटमा चारजना अलराउन्डरले हालसम्म यस्तो उपलब्धि हासिल गरेका छन् ।
बास डी लिडे (नेदरल्यान्ड्स)
त्यसैमध्येका एक हुन्, नेदरल्यान्ड्सका बास डी लिडे । यी अलराउन्डर खेलाडीले सन् २०२३ को एकदिवसीय विश्वकप छनोट खेलमा स्कटल्यान्डविरुद्ध यस्तो उपलब्धि हासिल गरेका थिए । उनले स्कटल्यान्डविरुद्धको खेलमा केवल ९२ बलमा एक सय २३ रन बनाएका थिए ।
त्यो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई दुई सय ७८ रनको लक्ष्य दिएको थियो । बास डी लिडेकै उत्कृष्ट ब्याटिङका कारण नेदरल्यान्ड्स विजयी भएको थियो । त्यसअघि बलिङतर्फ पनि बास डी लिडेले ५२ रन खर्चिएर पाँच विकेट लिएका थिए । बास डी लिडेको सोही प्रदर्शनका कारण नेदरल्यान्ड्स सन् २०२३ को एकदिवसीय विश्वकपमा छानिएको थियो ।
रोहन मुस्तफा (यूएई)
यसैगरी, एउटै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा शतक बनाउने र पाँच विकेट लिने अर्का अलराउन्डर रोहन मुस्तफा हुन् । संयुक्त अरब इमिरेट्स (यूएई)का यी प्रतिभाशाली खेलाडीले सन् २०१७ मा खेलिएको पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको खेलमा यस्तो सफलता चुमेका थिए ।
पीएनजीविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा उनले एक सय नौ रन बनाएका थिए । रोहन मुस्तफाकै सतकका कारण यूएईले त्यो खेलमा नौ विकेट गुमाएर दुई सय ५१ रन बनाएको थियो । त्यसपछि रोहन मुस्तफाले उत्कृष्ट बलिङ पनि गरेका थिए ।
उनले त्यही खेलमा केवल २५ रन खर्चिएर पाँच विकेट लिएका थिए । उनकै घातक बलिङका कारण पीएनजी केवल एक सय ४८ रनमा समेटिएको थियो । त्यो खेलमा यूएई एक सय तीन रनले विजयी भएको थियो भने यूएईले शृंखला पनि २–१ ले जितेको थियो ।
पल कलिङ्उड (इङ्ल्यान्ड)
यस्तो दुर्लभ उपलब्धि हासिल गर्ने अर्का खेलाडी हुन्, इङ्ल्यान्डका पल कलिङ्उड । उनले सन् २००५ मा खेलिएको बंगलादेशविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा यस्तो उपलब्धि चुमेका हुन् । सन् २००५ मा नेटवेस्ट त्रिकोणात्मक एकदिवसीय शृंखला खेलिएको थियो ।
सोही शृंखलाको चौथो खेलमा बंगलादेशविरुद्ध पल कलिङ्उडले केवल ८६ बलमा एक सय १२ रन बनाएका थिए । उनको आकर्षक शतकसँगै त्यो खेलमा इङ्ल्यान्डले केवल चार विकेट गुमाएर तीन सय ९१ रन बनाएको थियो ।
त्यसपछि कलिङ्उडले त्यही खेलमा उत्कृष्ट बलिङ गर्दै केवल ३१ रन खर्चिएर ६ विकेट लिएका थिए । एउटै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा शतक बनाउने र ६ विकेट लिने उनी एकमात्र खेलाडी हुन् । त्यो खेलमा इङ्ल्यान्ड एक सय ६८ रनको ठुलो अन्तरले विजयी भएको थियो ।
सर भिभियन रिचर्डस (वेस्ट इन्डिज)
सर भिभियन रिचर्डस आफ्नो समयका प्रभावशाली क्यारेबियन क्रिकेटर हुन् । वेस्ट इन्डिजका यी महान ब्याट्सम्यानले सन् १९८७ मा न्युजिल्यान्डविरुद्ध यस्तो उपलब्धि हासिल गरेका थिए । त्यो खेलमा वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै नौ विकेट गुमाएर दुई सय ३७ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि रिचर्डसले एक सय १३ बलमा एक सय १९ रन बनाएको थियो । त्यसपछि उनले त्यही खेलमा उत्कृष्ट बलिङ गर्दै ४१ रन खर्चिएर पाँच विकेट पनि लिएका थिए । यस्तो उपलब्धि हासिल गर्ने उनी पहिले खेलाडी पनि बनेका थिए । त्यो खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई ९५ रनले पराजित गरेको थियो ।
अमेलिया केर (न्युजिल्यान्ड)
विश्व क्रिकेटमा हालसम्म एउटै एकदिवसीय खेलमा शतक बनाउने र पाँच विकेट पनि लिने एकजना मात्र महिला खेलाडी छिन् । उनी न्युजिल्यान्डकी अमेलिया केर हुन् । उनले सन् २०१८ मा खेलिएको आयरल्यान्डविरुद्धको तेस्रो एकदिवसीय खेलमा यस्तो उपलब्धि हात पारेकी थिइन् ।
त्यो खेलमा उनले केवल एक सय ४५ बलको सामना गरी अविजित दुई सय ३२ रनको कीर्तिमानी पाली खेलेकी थिइन् । उनको कीर्तिमानी दोहोरो सतकसँगै न्युजिल्यान्डले केवल तीन विकेट गुमाएर चार सय ४० रन बनाएको थियो ।
त्यसपछि उनले बलिङतर्फ पनि उदाहरणीय प्रदर्शन गर्दै केवल १७ रन खर्चिएर पाँच विकेट लिएकी थिइन् । उनले आयरल्यान्डका पाँचजना ब्याटरलाई बोल्ड गरेकी थिइन् । त्यो खेलमा न्युजिल्यान्ड तीन सय पाँच रनको विशाल अन्तरले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँको यो साता कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
-
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा