पार्टी निर्माणबारे कमरेड प्रभाकरको बहस
कुनै पनि पार्टीभित्र नेताहरूमा चरम अवसरवाद र कार्यकर्तामा चरम निराशा छ भने बुझ्नुस् कि त्यो पार्टी विघटनको दोसाँधमा छ । हो, आज हाम्रो पार्टी नेकपा माओवादी केन्द्र पनि दोसाँधमा कुहिरोभित्रको काग रुमलिएझैँ अवस्थामा छ भन्न अप्ठेरो मान्नु हुँदैन ।
वैचारिक अस्पष्टता, साङ्गठनिक भद्रगोलता र सधैँ अर्काको बैसाखीमा पार्टी र सत्ताको भविष्य देख्नुजस्ता कमजोरीका कारण हामी क्षयीकरणमा छौँ । २०६४ मा ३२ लाख समानुपातिक भोट प्राप्त गरेको पार्टी २०७९ सम्म ११ लाखमा पुग्दा र लगातार पार्टी फुटका शृङ्खला बेहोर्दा समेत हामी हाम्रो धरातलसहित आत्मासमीक्षा गर्ने ठाउँमा अझै पुगेका छैनौँ ।
पछिल्लो स्थायी समिति बैठकसम्म पुग्दा पार्टीभित्र नयाँ बहसको सुरुवात जनार्दन शर्मा प्रभाकरले १४ पृष्ठ लामो लिखित डकुमेन्टसहित दर्ज गर्नुभएको छ । धेरै साथीले उक्त डकुमेन्टलाई पार्टी फुटदेखि, अवसरवादी र दलालको संज्ञा दिएको देख्दा साथीहरूको चेतनास्तर र वैचारिकस्तर उदेक लाग्दो छ भन्ने प्रस्टिन्छ । त्यसै हो भने पार्टीभित्रका अन्रर्सङ्घर्ष, फुट र बाहिरी सङ्घर्षहरूमा प्रभाकरको भूमिका के थियो भन्ने कुराको ख्याल राख्न जरुरी छ ।
स्मरण गर्नैपर्ने कुराहरू शान्तिप्रकियापछिको ‘पहिलो पार्टी अन्तरसङ्घर्ष खरिपाटी भेला– २०६५’ मा प्रभाकर भूमिका के नेतृत्व रक्षामा थिएन ? त्यसपछिका हरेक सङ्घर्षहरू जस्तै ः पालुङटार भेला– २०६७, ६ दिने आमहडताल– २०६७, नेतृत्वविरुद्ध आन्तरिक धोबीघाट गठबन्धन– २०६८, ‘पार्टी फुट– २०६९, हेटौँडा महाधिवेशन– २०६९, बाबुराम भट्टराईसँगको सङ्घर्ष र भृकुटीमण्डप विस्तारित बैठक, सिङ्गो पार्टीलाई साम्राज्यवादीको एजेन्ट बनेर सकाउने रणनीतिकार लोकमान कार्की प्रकरण र प्रभाकर भूमिका– २०७२, ‘बाबुराम भट्टराई पार्टी फुट– २०७२, लोडसेडिङ अन्त्य– २०७३, वाम गठबन्धन र वाम एकता– २०७४÷७५, केपी वली प्रतिगमन– २०७७, वाम लोकतान्त्रिक सरकार र चुनावी गठबन्धन– २०७८ लगायत २०८१ सम्म कैयौँ अप्ठेरामा प्रचण्ड पक्षमा प्रभाकर चट्टानी अडान र सतिसालझैँ उभिएको तथ्यलाई नकार्न मिल्ला र ? यी सबै घटनाक्रमका साक्षी हामीलाई ऐनाजस्तै प्रस्ट थाहा छ ।
अझ भनौँ हाम्रा नेताकार्यकर्ताहरू पछिल्लो दशकमा चरम निराशा र आत्मविश्वासविहीन अवस्थामा पार्टीमा जीवन जिइरहेको कुरा नेतृत्वदेखि अन्य पङ्क्तिलाई थाहा छ । पार्टीले सबै तयारीका साथ सम्मेलन आयोजना गर्दछ, तर तीन दिनअगाडि मात्र सम्मेलनलाई माहाधिवेशन घोषणा गरिन्छ ।
महाधिवेशनबाट विचार र संगठन प्रक्रिया अधुरो रहन्छ, महाधिवेशन अन्त्य हुन्छ, अनि दुई दिनपछि अध्यक्ष टुङ्गिन्छ । झन्डै वर्ष दिनपछि पदाधिकारी टुङ्गिन्छ । केन्द्रीय समिति भने बाटोभरि अनन्तकालसम्म थपिइरहन्छ र कमिटीको संख्या पत्ता लगाउन गाह्रो हुन्छ । यो स्थिति प्रदेश, जिल्ला र पालिकातिर पनि छ ।
जनवर्गीय संगठनहरू भद्रगोल र अन्योलतामा छन्, विधिमा भन्दा पनि मूल नेतृत्वको अनुहार ढुकेर संगठनहरूको निर्माण गरिन्छ । पार्टी विधान सम्मेलन गरिन्छ, तर झन् भद्रगोलतामा कमिटी फर्मान हुन्छन् । जब यस्तो भुमरीका बिचमा पार्टी जीवन छ भने जीवित कम्युनिस्ट पार्टीमा बहसको अंश छिर्नुलाई किन फुटवादी र दलाल करार गरिन्छ ? बरु यो हामी सबैको सोचनीय विषय हुनुपर्छ । जीवन्त पार्टीमा आन्तरिक लोकतन्त्रको बहस उठ्दा पार्टी कमजोर हुन्छ भने हाम्रो मानसिकता पनि कमजोर छ ।
जीवित कम्युनिस्ट पार्टीमा बहसको अंश छिर्नुलाई किन फुटवादी र दलाल करार गरिन्छ ? बरु यो हामी सबैको सोचनीय विषय हुनुपर्छ । जीवन्त पार्टीमा आन्तरिक लोकतन्त्रको बहस उठ्दा पार्टी कमजोर हुन्छ भने हाम्रो मानसिकता पनि कमजोर छ ।
नेपाली काङ्ग्रेस बुढ्यौलीहरूको पार्टी भनिन्थ्यो तर आन्तरिक प्रतिस्पर्धाबाट युवाहरूको आगमनसँगै पार्टीमा नयाँ रक्तसञ्चार भइरहेको छ ।
नेकपा एमाले समकालीन पार्टीहरूमा बलियो साङ्गठनिक आधार भएको पार्टी मानिन्छ । २०६४ भन्दापूर्व सकिन लागेको यस पार्टीले आन्तरिक प्रतिस्पर्धाबाट नयाँ उचाइ लियो ।
राप्रपाजस्तो पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुँदा विलय नजिक पुगेको थियो, आज संसदमा आफ्नो बलियो उपस्थिति जमाइरहेको छ ।
हामी जनवादी केन्द्रीयताको रटानमा सधैँभरि भद्दा कमिटीहरू अगालेर बस्नुपर्ने हो भने यो त आन्तरिक उपनिवेश भएन र ? प्रभाकर कमरेडले पार्टी नेतृत्वलाई जनयुद्ध हुँदै सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापना, पछिल्लो सुशासनसहितको आर्थिक समृद्धि यात्रामा नेता प्रचण्डबाहेक अरुबाट सम्भव हँुदैनथ्यो भन्नुभएको छ । बाँकी रह्यो— पार्टीलाई नयाँ जीवन दिने कुरा, हिजोका एजेन्डालाई अनन्तकालसम्म जीवित राख्ने कुरा, पार्टीभित्र प्रतिस्पर्धात्मक पद्धतिको कुरा आदिले पार्टी फुट हुन सक्दैनन् । विचार, राजनीति र सत्ताको केन्द्र प्रचण्डलाई मानेर बाँकी पार्टी चलायमान बनाउने कुरा पार्टी निर्माणका लागि थप आधार र कोसेढुङ्गा हुनेछन् । नत्र यही अवस्थामा नेताले बोलिरहने र हामीले सुनिरहने हो भने हाम्रो पार्टी नेपालको पहिलो पार्टी नेपाल प्रजा परिषद् बन्ने निश्चित छ ।
त्यसैले पार्टीमा दास होइन योद्धा जन्माउने परिपाटी विकास गर्न, रूपान्तरणसहितको नेतृत्व ल्याउन र मजबुत साङ्गठनिक आधारसहितको पार्टी निर्माण गर्न लामबद्ध बनौँ । हामी सबैको भविष्य र राष्ट्रको निकास यसैमा रहनेछ ।
(लेखक वाईसीएल नेपालको केन्द्रीय सचिव तथा प्रवक्ता हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली किन पर्छन् पटकपटक विवादमा ?
-
मेडिसिटीमा उपचारका क्रममा मृत्यु भएका सरोजका परिवारले बुझे शव
-
तिहार मनाउने खर्चको जोहो गर्न राउटे पोखरामा
-
भारतीय सेना प्रमुख द्विवेदीले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेट्दै
-
पार्टीप्रति आक्रोश बढेको रास्वपाको निष्कर्ष : कस्तो हो आन्दोलनको नयाँ स्वरूप ?
-
भारतीय सेना प्रमुखको सम्मानमा जंगी अड्डामा रात्रिभोज