बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

टीआरसी विधेयक राष्ट्रियसभामा पेस, भदौ ६ गते पारित हुनसक्ने

आइतबार, ०२ भदौ २०८१, १७ : ४०
आइतबार, ०२ भदौ २०८१

काठमाडौँ  । सरकारले संक्रणकालीन न्याय सम्बन्धी विधेयक सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा पेस भएको छ।  प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ आज माथिल्लो सदनमा पेस भएको छ।

आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गरेका थिए ।  मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा पेस गरेका हुन्। 

यसअघि प्रतिनिधिसभाबाट विधेयक पारित भएर राष्ट्रियसभामा आएको हो । विधेयकमाथि राष्ट्रिय सभामा सांसदहरूले केही धारणा राखिरहेका छन्। सांसदहरूको धारणापछि कानुनमन्त्री चोरसियाले जवाफ दिएका थिए । उनको जवाफपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले पेस हुने कुरालाई निर्णयका लागि पेस गरेका थिए । राष्ट्रियसभामा कसैले पनि विरोध नगरेपछि अध्यक्ष दाहालले विधेयक पेस हुने प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गरेका थिए । 

बैठकमा सांसदहरूको प्रश्नमा जवाफ दिँदै कानु नमन्त्री चौरसियाले संक्रणकालीन न्यायसम्बन्धी आयोग गठन सर्वसम्मत र पारदर्शी हुने दाबी गरे । उनले विधेयक फास्ट ट्र्याकबाट पारित गर्ने आसा आफूले गरेको बताए । 

राष्ट्रियसभामा अब यो विधेयकमा संशोधन खुल्ला गरिएको छ। अध्यक्ष दाहालले विधेयक शाखामा सांसदहरूले संशोधन दर्ता गराउन सक्ने पनि जानकारी गराए । यो विधेयक अब भदौ ६ गतेको राष्ट्रियसभा बैठकमा पेस हुनेछ । उक्त बैठकमा संशोधन दर्ता भएमा त्यसमाथि छलफल हुनेछ ।

दलीय सहमतिका आधारमा  प्रतिनिधि सभा हुँदै राष्ट्रियसभा पेस भएकाले मुख्य दलहरूका तर्फबाट संशोधन दर्ता हुने सम्भावना न्यून रहेको छ। तर स्वतन्त्र सांसदहरूले संशोधन दर्ता गराउन सक्नेछन् । उनीहरूको संशोधनपछि यसलाई निर्णयका लागि पेस गरिने छ। राष्ट्रियसभामा उक्त संशोधनका पक्षमा बहुमत भए समावेश गरिन्छ नभए फेल गराउँदै निर्णय गरिने छ। राष्ट्रियसभाबाट पास भएपछि यसले कानुनको रूप ग्रहण गर्नेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै यो विधेयक राजपत्रमा प्रकाशित भएर लागू हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप