बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
पौडेल र सेयर बजारको सम्बन्ध

विष्णु पौडेलको सिंहदरबार ‘इन्ट्री’ले किन बढ्छ सेयर बजार ?

आइतबार, ०२ भदौ २०८१, १७ : २५
आइतबार, ०२ भदौ २०८१

काठमाडौँ । २०८१ असार ३१ गते एमाले उपाध्यक्ष विष्णु पौडेल पाँचौँ पटक अर्थमन्त्रीको रूपमा सिंहदरबार प्रवेश गरे । पौडेल अर्थमन्त्री बनेकै दिन नेप्से परिसूचक १७.१८ अङ्कले घटेर २२४०.४१ मा झर्‍यो । तर त्यसअघि नै अर्थ मन्त्रालयमा विष्णु पौडेल आउने हल्लाले बजार बढिसकेको थियो ।

पौडेल अर्थमन्त्री बन्नु दुई साता अघि समग्रमा बजार २७९ अङ्कले बढेको थियो । अर्थमन्त्रीको कार्यभार सम्हाल्दै गर्दा सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा व्याख्या गरे । पौडेलले भनेका थिए– ‘पुँजी बजार अर्थतन्त्रको ऐना हो । यसमा अनुकूल परिस्थिति बनाउनेतर्फ मन्त्रालय अग्रसर हुन्छ ।’

पौडेलले सेयर बजारमैत्री अभिव्यक्ति दिएको भोलिपल्ट नेप्से परिसूचक ७० अङ्कले बढेर २३१०.५९ अङ्कमा पुग्यो । जुन बिन्दु त्यसअघिको २६ महिनाकै उच्च थियो । २०७९ वैशाख २९ गते परिसूचक २३५०.४२ बिन्दुमा पुगेदेखि नेप्से परिसूचकले २३०० बिन्दु काटेको थिएन ।

पौडेल अर्थमन्त्री भएको यो एक महिनाको अवधिमा मात्रै सेयर बजार ७२६ अङ्कले बढेको छ । पौडेल अर्थमन्त्री हुँदा २२४० अङ्कमा रहेको नेप्से परिसूचक आइतबार २९६६ अङ्कमा पुगेर बन्द भएको छ । यो अवधिमा लगानीकर्ताले करिब ११ खर्ब रुपैयाँ सम्पत्ति बढाएका छन् ।

पौडेल सेयर बजार ‘ट्युनिङ’

विष्णु पौडेल र सेयर बजारको सम्बन्ध जहिल्यै नजिक देखिन्छ । पौडेल जबजब अर्थ मन्त्रालयको कमान्डमा पुग्छन्, तबतब सेयर बजारले उकालो यात्रा तय गर्छ ।

२०७२ असोजदेखि २०७३ साउनसम्म पौडेल पहिलो पटक अर्थ मन्त्रालयको कमान्डमा थिए । २०७३ साउन १२ मा नेप्से १८८१ अङ्कमा उक्लिएको थियो । त्यो बेलासम्मका लागि त्यो उच्च अङ्कको रेकर्ड थियो ।

२०७७ असोजमा पौडेल दोस्रोपटक अर्थ मन्त्रालयको जिम्मेवारीमा पुगे । २०७८ भदौ २ गते नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुग्यो । त्यो बेलासम्मको कारोबार सर्वाधिक साढे १९ अर्ब रुपैयाँसम्म भयो ।

३१९८ अङ्कको त्यो रेकर्ड नजिक अहिलेको बजार पनि पुग्न थालेको छ । २०७८ भदौ २ पछि घट्न थालेको बजारको नेप्से २०७९ पुस ७ गते १८६५ अङ्कमा झरेको थियो । बजारले ओरालो यात्रा तय गर्दा पौडेल अर्थमन्त्रीबाट बाहिरिसकेका थिए ।

२०७९ मंसिरको निर्वाचनपछि पुसमा विष्णु पौडेल तेस्रो पटक अर्थमन्त्री भए । अर्थ मन्त्रालयमा दुई महिनामात्रै बिताएका पौडेलको कार्यकालमा परिसूचक १६४ अङ्कले उक्लिएको थियो । त्यो बेला बजारले २२०० अङ्क नाघ्यो ।

कांग्रेस–माओवादीको नयाँ गठबन्धन बनेपछि पौडेल अर्थबाट बाहिरिए । त्यसपछि ओरालो यात्रामा रहेको बजार गत जेठ १ गते १८१८ अङ्कमा झर्‍यो । त्यसयता नेप्से परिसूचक २१०० अङ्क वरपर घुमिरह्यो ।

जानकारहरू भन्छन्– मनोविज्ञानले हो

अघिल्ला चार कार्यकालजस्तै यो पटक पनि अर्थमन्त्रीमा विष्णु पौडेलको ‘इन्ट्री’ भएपछि नेप्से परिसूचक उच्च अङ्कले बढिरहेको छ । जबकि यो अवधिमा कुनै ठुलो नीतिगत परिवर्तन भएको छैन । मात्रै चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्तामा रहेको २० करोडको ‘कर्जा क्याप’ हटाइएको छ । व्यक्तिगत तर्फको १५ करोडको क्याप भने यथावत नै छ ।

साउनको दोस्रो साता सार्वजनिक मौद्रिक नीतिले संस्थागत लगानीकर्ताको मनोबल बढाए पनि बजार पौडेलको ‘इन्ट्री’ हल्लाले नै बढिसकेको थियो । ठुलो नीतिगत परिवर्तन नहुँदा र अर्थतन्त्रमा उल्लेख्य सुधार नभएको अवस्थामा पनि पौडेलको आगमनले सेयर बजार किन बढ्छ ?

इन्भेस्टर्स फोरम नेपालका पूर्वअध्यक्ष छोटेलाल रौनियार विष्णु पौडेलप्रति आम लगानीकर्ताको विश्वास र सार्वजनिक फोरममा उनको बजारमैत्री अभिव्यक्तिले लगानीकर्तामा मनोबल बढाउने काम गर्ने बताउँछन् । 

‘यसअघि पनि पौडेल अर्थमन्त्री हुँदा पटकपटक पुँजी बजारले रेकर्ड बनाएको थियो । त्यो विश्वास पनि पौडेलप्रति छ,’ रौनियारले भने, ‘यो पटक लचिलो मौद्रिक नीतिसमेत आयो, ब्याजदर एकल अङ्कमा झरेको छ । प्रधानमन्त्री समेत पुँजी बजारको पक्षमा देखिनुले थप प्रभाव पारेको छ ।’

न्यूनतम बिन्दुमा झरेको परिसूचक, बजारमा प्रशस्त पैसा रहेको लगायत कारणले पनि अहिलेको पुँजी बजार बढेको रौनियारको भनाइ छ ।

सेयर विश्लेषक विष्णु अर्यालका अनुसार नेपालमा कम्पनीको लेखाजोखा गरेर लगानी गर्नेहरू कम छन् । बजारको शास्त्र अनुसार हाम्रो पुँजी बजार नचल्ने प्रस्ट पार्दै उनले अधिकांश लगानीकर्ता छोटो समयका लागि मात्रै लगानी गर्ने बताए ।

‘लगानीकर्ता परिपक्व बन्न नसकेको नेपालजस्तो बजारमा मनोविज्ञानले बढी भूमिका खेलेको देखिन्छ,’ विश्लेषक अर्यालले भने, ‘यसले गर्दा कुनै व्यक्ति आउँदा लगानी बढाउने र कुनै आउँदा झिक्ने प्रवृत्ति देखिन्छ । सायद यसैले बजारमा काम गरेको हो ।’

लगानीकर्ताहरूले कम्पनीको लेखाजोखा गरेर कारोबार गर्दा र राज्यले बलियो र स्थिर नीति लिँदा अहिलेको समस्या समाधान हुने अर्यालको भनाइ छ । उनले भने, ‘यसो हुँदा साना लगानीकर्ता डुब्ने समस्या पनि कम हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मस्त केसी
मस्त केसी
लेखकबाट थप