बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

पेरिस ओलम्पिकमा पदक विजेता जब रेस्टुरेन्टमा काम गर्दै गरेको भेटिइन्

आइतबार, ०२ भदौ २०८१, १७ : १७
आइतबार, ०२ भदौ २०८१

काठमाडौँ । हालै फ्रान्सको राजधानी सहर पेरिसमा सम्पन्न ३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताका क्रममा एक चिनियाँ किशोरी निकै चर्चित बनेकी थिइन् । उमेरले भर्खर १८ वर्ष पुगेकी चिनियाँ जिमनास्टिक खेलाडी झोउ याकिनको अबोधपनलाई सामाजिक सञ्जालमा पनि धेरैले रुचाएका थिए ।

झोउ याकिनले पेरिस ओलम्पिकको जिमनास्टिकअन्तर्गत महिला ब्यालेन्स बिम स्पर्धामा आफूभन्दा अनुभवी खेलाडीहरुलाई पछि पार्दै रजत पदक जितेकी थिइन् । यो उनको पहिलो ओलम्पिक सहभागिता पनि थियो । तर, उनी यति धेरै चर्चित हुनुको कारण भने रजत पदक होइन ।

त्यो स्पर्धामा इटालीकी २१ वर्षीया खेलाडी एलिस डी’आमाटोले स्वर्ण र इटालीकै १७ वर्षया मनिला एस्पोसिटोले कांस्य पदक हात पारेका थिए । पुरस्कार वितरण समारोहमा तीनैजना खेलाडी एकसाथ पोडियममा उपस्थिति थिए ।

तीनैजना खेलाडीको गलामा उनीहरुले जितेको मेडल झुण्डिएको थियो । त्यसपछि सँगै उभिएका दुई इटालियन खेलाडीले खुसीयाली मनाउने क्रममा आफ्नो मेडल टोकिरहेका थिए । ठिक त्यसैबेला झोउ याकिनले इटालियन खेलाडीतर्फ हेर्छिन् । उनी छक्क पर्छिन् ।

पहिलो पटक ओलम्पिकमा सहभागी भएकी झोउ याकिन त्यसपछि झस्किन्छिन् । उनलाई लाग्छ आफूले जितेको पदक टोक्नु ओलम्पिककै परम्परा हुनसक्छ । लगत्तै उनले इटालियन खेलाडीको नक्कल गर्दै आफ्नो घाँटीमा झुण्डिरहेको रजत पदकलाई टोक्ने प्रयास गर्छिन् ।

उनको अवोधपन देखेर त्यहाँ उपस्थित दर्शकले पनि रमाइलो मान्छन् । उनको त्यो भिडियो सामाजिक सञ्जालमा पनि निकै भाइरल बन्छ । यसरी उनी रजत पदक जितेको भन्दा पनि अन्य कारणले नै एकाएक पेरिस ओलम्पिकमा चर्चित बन्न पुग्छिन् ।  

पेरिस ओलम्पिक सकिएको केही समयपछि अहिले फेरि झोउ याकिन अन्तर्राष्ट्रिय समाचारमा चर्चाको विषय बनेकी छन् । पेरिसबाट चीन फर्किएको केही समयपछि नै उनी आफ्नो माता–पितालाई सघाउन आफ्नो रेष्टुरेन्टमा पुगिसकेकी छन् ।

चीनको हुनान प्रान्तस्थित हेङ्याङ सहरको नान्यु जिल्लाको फुरोङ रोडमा झोउ याकिनको माता–पिताले रेष्टुरेन्ट चलाउँछन् । झोउ याकिनको पछिल्लो भाइरल भिडियोमा उनले रेष्टुरेन्टमा आएका ग्राहकहरुलाई खाना बाँडिरहेको र आमा–बुवालाई सहयोग गरिरहेको देखिन्छ ।  

ओलम्पिकजस्तो वृहत खेलकुदमा महत्वपूर्ण उपलब्धि हासिल गरेकी एउटी किशोरीको आफ्नो कामप्रतिको उत्कृष्ट समर्पण भन्दै धेरैले सामाजिक सञ्चालमा उनको प्रसंशा गरिरहेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप