देउवाले पार्टीका मन्त्रीहरूलाई भने– प्रधानमन्त्रीले नसुने मलाई भन्नुस्
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले गुनासो नसुने आफूलाई जानकारी गराउन निर्देशन दिएका छन् ।
शनिबार साँझ आफ्नो निजी निवास बूढानीलकण्ठमा मन्त्रीहरूलाई बोलाएर उनले काम गर्दा समस्या भए प्रधानमन्त्री ओलीलाई गुनासो गर्न निर्देशन दिएका दिएका हुन् । यस्तै प्रधानमन्त्रीले कुरा नसुने आफूलाई जानकारी गराउन देउवाले निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए ।
‘काम ढुक्कसँग गर्नुहोस् । काम गर्दा केही समस्या भए प्रधानमन्त्रीसँग समय लिएर संवाद गर्न भन्नुभयो‚’ देउवाको भनाई उद्धृत गर्दै ती मन्त्रीले भने‚ ‘प्रधानमन्त्रीले कुरा नसुने र सुन्न नचाहे मलाई आएर भन्नु । म कुरा गर्छु भन्नुभयो।’
सभापति देउवालाई भेट्न कांग्रेसका १२ जनै मन्त्रीहरू बुढानीलकण्ठ पुगेका हुन् । शनिबार साँझ सभापति देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगनकुमार थापा पनि छलफलमा सहभागी थिए । अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने गृह जिल्ला झापा भएकाले बैठकमा सहभागी भएका थिएनन् ।
ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सभापति देउवालाई भेट्न र समसामयिक विषयमा छलफल गर्न आफूहरू बूढानीलकण्ठ पुगेको जानकारी दिए । उनले मन्त्री बनेपश्चात् पहिलो पटक आफूहरू सभापतिलाई भेट्न र छलफल गर्न गएको पनि बताए ।
भेटमा सभापति देउवाले मन्त्रालयगत ब्रिफिङ सम्बन्धित मन्त्रीहरूबाट सुनेका थिए । मन्त्रीहरूले पनि एक महिनाको अवधिमा आफ्नो मातहतका मन्त्रालयबाट भए गरेका कामहरू बारे सभापति देउवालाई जानकारी गराएका थिए । देउवाले सबै मन्त्रीहरूलाई दत्तचित्त भएर काम गर्न निर्देशन दिएको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।
‘हामीले एक महिनाको प्रगति सुनायौँ । उहाँसँग एकदमै पोजेटिभ कुरा भयो । एक महिनामा अनुभव सहित मन्त्रालयको प्रगति पनि सुनायौँ‚’ चौधरीले भने‚‘राम्रोसँग काम गर्नुहोस् कुनै समस्या छैन ढुक्क भएर काम गर्नुहोस् भनेर उहाँले हामीलाई पठाउनुभयो।’
मन्त्रीहरूलाई अगाडि राखेर देउवाले प्रत्येक महिना ब्रिफिङ सुनेर छलफल हुने जानकारी दिएका थिए । उनले काम गर्ने दौरान असाध्यै समस्या हुने वातावरण आए आफूलाई ब्रिफिङ भएमा प्रधानमन्त्री ओलीसँग थप कुरा गर्न सहज हुने पनि बताएका थिए ।
‘हामी मिलेर समस्या समाधान गर्छौँ । हरेक महिना यसरी नै संवाद गर्छौँ, परेका समस्या भन्नुहोला । म प्रधानमन्त्रीसँग भेटमा कुरा गर्छु भन्नुभयो‚’ मन्त्री चौधरीले भने ।
त्यसो त शनिबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सभापति देउवा बालुवाटार पुगेका थिए । सो क्रममा संविधान संशोधन‚ साझा न्यूनतम कार्यक्रम लगायत विषयमा संवाद भएको थियो । उक्त भेट पश्चात् देउवाले साँझ पार्टीबाट ओली सरकारमा मन्त्री बनेकाहरूसँग संवाद गरेका हुन् ।
ओली नेतृत्वको सरकारमा कांग्रेसबाट उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह‚ गृहमन्त्री रमेश लेखक‚ परराष्ट्रमन्त्री आरजू राणा देउवा‚ युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी‚ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे‚ कानुन मन्त्री अजय चौरासिया‚ स्वास्थ्य मन्त्री प्रदीप पौडेल‚ कृषि मन्त्री रामनाथ अधिकारी‚ ऊर्जा मन्त्री दीपक खड्का तथा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही रहेका छन् ।
यस्तै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ र वन तथा वातावरण राज्यमन्त्री रूपा विक रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको कारोबारको पहिलो दिन नेप्से ५.३२ अंकले बढ्यो
-
तत्काल माओवादीको विशेष महाधिवेशन बोलाउन प्रदेश अध्यक्षहरुको दबाब
-
सरकारले भूकम्प र बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने
-
ओलीले केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
-
रास्वपाबारे ओली : ‘पपुलिज्म’को जगमा उभिएका समूहहरूको ‘नयाँपन’ को व्यर्थता उदाङ्गो
-
सेतो जर्सीको प्रतियोगितामा आर्मीका ब्याट्सम्यानको कमजोर प्रदर्शन, पुलिसका ललितले लिए ७ विकेट