शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

५ नम्बर प्रदेशको प्रथम अधिवेशन २० घण्टा दुई मिनेट चल्यो :  के–के भए काम ?

बुधबार, २६ वैशाख २०७५, १२ : ०२
बुधबार, २६ वैशाख २०७५

तेजेन्द्र केसी
 

बुटवल– माघ २१ गतेबाट सुरु भएको प्रदेश नम्बर ५ को प्रथम हिउँदे अधिवेशन मङ्गलबार रातिबाट सकिएको छ । ९४ दिनको अवधिमा बैठक २२ पटक बस्यो । २२ पटकमा जम्मा २० घण्टा २ मिनेट बैठक चलेको रेकर्ड छ । यही अवधिमा प्रदेश ५ को संसद बैठकलाई प्रधानमन्त्री केपी ओलीले ओली वैशाख १६ गते १ घण्टा ४४ मिनेट विशेष सम्बोधन गरेका थिए ।
 
हिउँदे अधिवेशनमा कस्ता–कस्ता घटना र काम भए ? हेरौँ :

घटना नम्बर १ 

५ नम्बर प्रदेशमा सांसदहरूको शपथग्रहण कार्यक्रमको व्यवस्थापन फितलो भयो ।

बरियतामा तल रहने उपमहानगरपालिका मेयरलाई मञ्चमा आसन ग्रहण गराइयो ।

प्रदेशसभा सदस्यहरू तल कुर्चीमा राखियो ।

जसको विरोध नेकपा माओवादीले गरेको थियो ।

नेकपा माओवादी सांसद सुदर्शन बराल त्यसमा असन्तुष्टि पोख्दै प्रदेश प्रमुखको कार्यकक्षमा पुगेका थिए ।

मर्यादाको किन ध्यान नदिएको भन्दै आफ्नो पार्टीले त्यसबेला विरोध गरेको हाल सामाजिक विकास मन्त्रीसमेत रहेका बरालले बताए ।

घटना नम्बर २
संसद चलेको बेला जिल्ला प्रहरी अधिकृतसहितको टोलीसंसदभित्र पुग्यो ।  कुर्चीमा मस्तले बसेर संसद चलेको बेला आफ्नो उपस्थिति देखायो ।

संसद नियावलीमा प्रहरी पोसाकमा भित्र छिर्न मिल्दैन । संसदको गरिमा प्रहरीको पोसाकले घटाउने भएकाले त्यस प्रकारको नियम बनाएको छ । सङ्घीय संसद सहसचिव सुरेन्द्र आचार्यले प्रहरी पोसाकमा जान नमिल्ने बताए । उनले काठमाडौंमा सङ्घीय संसदमा राष्ट्रिपतिले सम्बोधन गर्दा पनि युनिफर्ममा पुगेका प्रहरीलाई फर्काएको घटना सम्झिए । तर यो प्रदेशमा केही भएन् ।

घटना नम्बर ३
वैशाख १६ गते प्रधानमन्त्री ओलीले पाँच नम्बर प्रदेश संसदमा विशेष सम्बोधन गर्ने कार्यक्रमा थियो । प्रधानमन्त्रीको सम्बोधन हुने भएकाले सूचना जारी गरेको  प्रदेश संसदको बैठक बोलाइएको थियो । तर प्रदेशको विशेष सम्बोधन गर्दा थान कुमारी थापासहित केही सांसद  मस्त निदाए । उनीहरूले संसद सकिएपछि पत्रकारहरूले फोटो खिच्दासमेत थाहा पाएनन् । देशको प्रमुख कार्यकारीले आफ्नो संसद विशेष सम्बोधन गर्दा सांसदहरू मस्तले  निदाउनु लज्जास्पाद बन्यो

घटना नम्बर ४
प्रदेशसभा बैठक चलिरहेको बेला फोन उठाउने, कुरा गर्न, आफूखुसी उठेर हिँड्न पाइँदैन । खुटा समेत सीधा राखेक बस्नुपर्छ । सांसद अष्टभुजा पाठकले फोन उठाए । अन्य सांसदहरूले यस्तो बेला बेलामा गर्छन् । सभामुख पूर्णबहादुर घर्तीले १८औं वैठकमा पनि रुलिङ गरेका थिए ।

घटना नम्बर ५

४ वटा विधेयक पारित भए । ती विधेयकमा छलफल निकै कम भयो । केही त नियमावली र विधेयक जस्ताको तस्तै पास छन् । पेश भएको विधेयकमा मूलत प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले व्यापक छलफल गर्नुपर्ने हो । १९ जना नेपाली काँग्रेसमा सांसद तुलनात्मक रूपमा  छलफलमा कम बोलेका छन् ।  

प्रतिपक्ष मौन हुँदाको फाइदा सत्ता पक्षले लिएको छ । जसले गर्दा नीति तथा कार्यक्रम बजेटसमेत सर्वसम्मत रूपमा पारित भएको छ । बरु सत्ता पक्ष सांसदहरू प्रतिपक्ष जस्तै गरी छलफलमा आफ्ना धारणा राख्छन् । सरकारले विरोध गर्छन् । तर नेपाली काँग्रेस सांसद मौनजस्तै भए ।

काँग्रेस नेता बलदेव शर्माले आफूहरू अल्पमतमा परेकाले विरोध नगरेको बताए । संसदीय मामिलासम्बधी जानकार सुरेन्द्र आर्यालले प्रतिपक्ष दलले आफ्ना ऐजेन्डा  स्थापति गर्न बोल्न सक्ने बताउँछन् । उनले संसदको गरिमा  र महत्व बढाउनका लागि पनि छलफलमा भाग लिनुपर्ने बताए ।

सचिवालयका काम पनि उस्तै

जसरी संसदभित्र मर्यादा कम भयो । त्यस्तै  प्रदेससभा सचिवालयले गरेका सार्वजनिक कार्यक्रम बेथितिपूर्ण बने । गत सोमबार २४ गते प्रदेशसभा ५ ले बुटवलको एक होटलमा पुस्तक विमोचन, प्रदेशको  लोगो  र वेबसाइट सार्वजनिक गरेको थियो ।

प्रदेशसभा सचिवालयले गरेको  पहिलो औपचारिक कार्यक्रममा प्रतिपक्ष दलका नेतालाई  बाइपास गरियो । 

उपसभामुखको अध्यक्षता, सभामुख प्रमुख आथिति र दुई मन्त्रीलाई विशेष अतिथि बनेको कार्यक्रममा उपस्थित प्रमुख प्रतिपक्ष दलका नेतालाई मञ्चमा आसानग्रहण समेत गराइन् । बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीलाई मन्तव्य राख्न दिएको थियो ।

उपस्थित प्रमुख प्रतिपक्ष दलका नेता बलदेल शर्मा पाखरेलाई बाइपास गरिएको काँग्रेस सांसद अष्टभुजा पाठकले बताए । उनले प्रतिपक्षलाई सरकारले पेलेर गएजस्तै संसद सचिवालयले पोल्न खाजेको आरोप लगाए । मयादाक्रम मिचेर  संसद सचिवालयले मेयरलाई बोल्न दिने तर प्रतिपक्ष दलको नेतालाई मञ्चमा आसन ग्रहणसम्म नगराएको आफूहरूको  विरोध रहेको  बताए ।

अर्को विवाद

प्रमुख प्रतिपक्ष दललाई बाइपास गरेर पहिलो औपचारिक कार्यक्रम गरेको  संसद सचिवालयले अर्को विवादमा पनि तानियो ।

प्रदेशसभा कर्मचारीका लागि लोगो जरुरी नरहेको जानकारहरू बताउँछन् । प्रदेशसभा सदस्य अष्टभुजा पाठकले कर्मचारीका लागि लोगो जरुरी नभएको बताउँछन् । उनले भने, ‘कर्मचारीले दसदेखि ५ बजेसम्म  लगाउने परिचय–पत्र हो  । तर किन प्रदेशसभा कर्मचारीलाई लोगो मोह भयो थाहा छैन ।’

सङ्घीय ससद सह–सचिव आचार्यका अनुसार अन्य प्रदेशमा कर्मचारीका लागि लोगो आवश्यक नरहेको बताउँछन् । ‘देशका अन्य प्रदेशमा कतै कर्मचारीको लोगो बनाएको अवस्थामा छैन किन बुटवलका साथीहरू हतारिएका हुन्, बुझ्न सकिएन ।’ उनले भने ।

प्रदेशसभा सदस्यहरूका लागि गत फागुन २४ गते खुला प्रतिस्पर्धाबाट प्रतीकचिन्ह अर्थात् लोगो छनोट गर्नका लागि सार्वजनिक रूपमा आह्वान गरिएअनुसार १२ जना प्रतिस्पर्धी कलाकारहरूले लोगो डिजाइन गरी प्रतिस्पर्धामा भाग लिएका थिए ।

प्रतिस्पर्धामा सहभागीमध्ये दाङका खगेश्वर भण्डारीले तयार गरेको प्रतीक–चिन्ह अर्थात लोगो उत्कृष्ट भएपछि प्रदेशसभा सदस्यहरूका लागि तय गरियो भने सोही प्रतिस्पर्धामा दोस्रो भएको तिलोत्तमाका सुधिर अर्यालले तयार गरेको लोगोलाई कर्मचारीहरूको लोगोका रूपमा सार्वजनिक गरिएको थियो ।

कर्मचारीहरूका लागि लोगो तयार गर्ने विषयमा कुनै पनि सूचना तथा सार्वजनिक आह्वान नगरिएको र आफूहरूसँग कुनै छलफल नै नगरिएको प्रदेशसभा सदस्यहरूले गुनासो गरेका छन् ।

नेपाली काँग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले कर्मचारीका लागि लोगो राख्ने विषयमा कुनै छलफल नभएको बताए । पोखरेलले आफूहरूसँग छलफल होइन, कर्मचारीका लागि लोगो तयार हँुदैछ भन्ने जानकारीसमेत नदिइएको गुनासो गरे ।

प्रदेश नम्बर ५ मा २१ जना कर्मचारी छन् । प्रदेशसभा सचिव डा. मानबहादुर विश्वकर्माले प्रदेशसभाका लागि आह्वान गरिएका बेला प्रतिस्पर्धामा आएका मध्ये दोस्रो भएको लोगोलाई कर्मचारीहरूको प्रोत्साहनका लागि तय गरिएको बताए ।

छोटो बैठकका लागि सांसदको यात्रा लामो
पाँच नम्बर प्रदेशमा रहेका १२ जिल्लामध्ये पूर्वी रुकुम र बाँके दूरीका हिसाबले टाढा पर्छन् । ती जिल्लाका सांसद बुटवलमा डेरा लिएका छैनन् ।

अन्य सांसदहरू पनि प्रायले पनि डेरा लिएका छैनन् ।

बाँकेबाट आउने सांसद सुरेन्द्र हमालले भन्छन् ‘एक घण्टे बैठकका लागि किन डेरा किन लिने ? बैठक प्रत्येक दिन बस्ने पनि होइन । बैठक सधँै एक घण्टाभन्दा कम बसेको छ । अर्कोतिर लगातार बैठक पनि छैन् ।’

बैठक ५–६ दिनको फरकमा बैठक बसेको छन् ।

टाढाका सांसदहरू पनि बुटवलमा डेरा खोज्न आवस्यक ठानेका छैनन् । हुन पनि २२ वटा बैठकमध्ये १४ वटा बैठक एक घण्टाभन्दा कम बसेका छन् । सार्वजनिक सवारी साधनबाट पूर्वी रुकुमबाट प्रदेश राजधानी बुटवल आउन ९ घण्टा लाग्छ । रोल्पाबाट ६ घण्टा लाग्छ । १ घण्टे बैठक त्यो पनि हप्ता हप्तामा बस्ने भएकाले आफूहरूले डेरा नलिएको सांसदको भनाइ छ ।

प्रदेशसभाका बैठक प्रायः १ घण्टाभन्दा छोटो समयमा सकिएको रेकर्ड छ । १ घण्टाका लागि सांसदको लामो यात्राका अनुभव रहेको छ । बाँके र पूर्वी रुकुमका सांसदका लागि प्रदेश संसद बैठक निकै लामो यात्रा बनेको पूर्वी रुकुमकी सांसद आशा स्वर्णकारले बताइन् ।

घण्टे बैठक, कम बोल्छन् सांसद
३ महिनामा  २१  पटक बसेका बैठकमध्ये   १४ वटा बैठक एक घण्टाभन्दा कम समय बसेका छन् । ७ वटा बैठक १ घण्टाभन्दा धेरै समय बसेका छन् । एक घण्टे बैठकको शून्य र  विशेष समयबाहेक अन्य अधिकांश सांसद कम बोल्ने गरेका रेकर्ड छ ।

छलफलका लागि  प्रायः ३ मिनेट समय तोकिएको छ । तर २०औं बैठकमा ४ जनाले मात्र नाम टिपाएका थिए । अन्य चासो दिएनन्, छोटो सयम तोक्नु भनेको धेरै सांसदहरूको  बोल्न दिनुको उद्देस्य हो । तर स्वयम् सांसदहरूले चासो नदिएपछि प्रदेशसभाका काम फटाफट अघि बढेको छन् ।

के–के गरेको छ प्रदेशसभाले ?
९४ दिनसम्म चलेको प्रथम अधिवेशनले गरेको महत्वपूर्ण कार्य संसद सचिव डा. मानबहाुदर विक यसरी सम्झन्छन्– पहिलो काम ६ वटा विधेयक पास भएका छन् । अन्य ३ वटा पाइप लाइनमा छन् । प्रदेशसभा नियमावली, आर्थिक कार्यविधि, सार्वजनिक लिखित प्रमाणीकरण आदि हुन् । आर्थिक वर्ष ०७४÷०७५ का लागि एक अर्ब  २ करोड  ५ लाखको बजेट पारित  भएको छ । दोस्रो काम  मुलकमा सातै प्रदेशमध्ये पहिलो पटक  पाँच नम्बर प्रदेशमा ऐतिहासिकरूपमा प्रधानमन्त्री केपी ओली शर्माको सम्बोधन भएको छ । प्रदेशसभा र कर्मचारीको लोगो पनि बनाएइको छ । प्रदेशको चिनारीका रूपमा प्रदेश नम्बर पाँचले सांसदका लोगोमा प्रदेश पाँचका जिल्लालाई समेट्ने प्रयास गरिएको छ ।
 
पाँच नम्बर प्रदेशका प्रमुख तीन पार्टीका सचेतकको नजरमा यस्तो रह्यो बैठक

एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल 
रूपन्देही ५ को २ बाट निर्वाचित ढकाल पहिलो पटक संसदीय अभ्याससँगै सचेतकको ऐतिहासिक भूमिका निर्वाह गर्न पाएकामा खुसी छन् । उनी ठूलो दल र सत्तापक्ष दलको प्रमुख सचेत भएकाले कही सना दलका सांसदका गुनासा सुन्ने काम पनि गरेका छन् ।
बैठक सञ्चालन गर्ने, अन्य दलका माननीयलाई बोल्न कसरी दिने आदि विषयमा राम्रो अनुभव लिँदै गरेको उनले बताए । अर्को अधिवेशनसम्म सबै साथी पाका हँुदै जाने र अहिले विभिन्न बैठकमा समन्वयनकारी भूमिकासमेत गर्न पाएको उनले सुनाए ।

नेकपा माओवादीका प्रमुख सचेत माधव शर्मा
माओवादी केन्द्रका पाँच नम्बर प्रदेशमा २० जना सांसद छन् । 
‘मेरो अनुभवमा प्रदेशसभा संसदीय अनुभव नयाँ थियो । पार्टीले सचेतकको भूमिका प्रदान गरेपछि सबै दलका सांसदहरूसँग भेटघाट स्वाभिक रूपमा वृद्धि भयो । अर्कोतिर वैठकका योजना बनाउने, कुन सांसद बोल्न दिनेलगायतका विषयमा छलफल गर्न पाइएको थियो ।’ उनले भने– ‘नयाँ–नयाँ योजना बनाउने, सहकार्य गर्ने काम भयो । सबै दलका साथीहरूलाई  सहमतिमा ल्याउने विषयमा, नयाँ योजना बनाउने काम भयो  । समग्रमा नयाँ अभ्यास राम्रो भएको महसुस गरेको छु ।’

काँग्रेसका प्रमुख सचेत सुरेन्द्रबहादुर हमाल
बाँके जिल्लाको क्षेत्र नम्बर २ को २ वाट  निर्वाचित हमाल  काँग्रेसका प्रमुख सचेतको  भूमिकामा छन् । उनले आफ्नो सचेतकको भूमिकाले सबै दलहरूका माननीयसँग सहकार्य गर्न जाने बानीको विकास भएको भएको सुनाए । ‘अर्कोतिर संसदीय प्रक्रिया र विधिको थप ज्ञान हासिल भएको छ  । धेरै साथीहरू संसदीय प्रक्रियामा नयाँ भएकाले पनि एक अर्को अनुभव, कार्य क्षमता बुझ्ने अवसर पाइएको छ ।’ उनले भने । अन्य सांसदहरूसँग पनि मिलेर पटक पटक छलफल गर्ने, बैठक कसरी बसाल्ने आदि विषयमा नयाँ अनुभव भएको बताए । उनले आफूहरूको काम सरकारको विरोध गर्नु मात्र नभएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप