बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

एमाले र कांग्रेस गठबन्धनको सरकार धेरै दिन टिक्दैन : प्रभु साह

आइतबार, ०२ भदौ २०८१, १५ : ३५
आइतबार, ०२ भदौ २०८१

सर्लाही । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने ठोकुवा गरेका छन् । 

आजपाको सर्लाही जिल्ला भेलालाई आज मलंगवामा सम्बोधन गर्दै अध्यक्ष साहले आम जनादेश विपरीतको सीमित नेताको स्वार्थमा बनेको कांग्रेस र एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने दाबी गरे । 

‘यो दुई दलीय गठबन्धन धेरै दिन टिक्दैन । यो गठबन्धन नै जनादेश विपरीतको छ । केही सीमित नेताजीको स्वार्थका लागि बनेको गठबन्धन हो । वास्तवमा यो गठबन्धन होइन ठगबन्धन हो’ साहले भने, ‘जनादेश विपरीत, सीमित नेताको स्वार्थका लागि बनेको यो दुई दलीय गठबन्धन आम जनताको चाहनामा बनेको होइन । केही सीमित नेताको स्वार्थका लागि बनेको दुई दलीय गठबन्धनको सरकार धेरै दिन टिक्दैटिक्दैन ।’

भ्रष्ट नेताहरूको अन्त्य र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको विकल्प नभएको बताउँदै उनले दलाल दलतन्त्र विरुद्धको जनआन्दोलनको तयारीमा जुट्न आह्वान गरे । 

‘भ्रष्ट नेताहरू मालामाल भएका छन्, आम जनता लाचार छन् । काण्डैकाण्डले देश बदनाम छ । युवाहरू विदेशमा मर्नुपर्ने स्थितिको अन्त्यका लागि तेस्रो जनआन्दोलनको विकल्प छैन’ साहले भने, ‘भ्रष्टाचारीहरू अहिले सम्मानित भइरहेका छन् तर स्वाभिमानी युवाहरू अपमानित हुनुपर्ने, विदेशमा मर्नुपर्ने अवस्थाको अन्त्य हुनैपर्छ । राज्यले नै भ्रष्टाचारीलाई जोगाउने सम्मान गर्ने कामले देश कंगाल बन्दै गइरहेको छ । आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि युवाहरू उठनैपर्छ ।’ 

देशमा लोकतन्त्र कमजोर भएको बताउँदै उनले दलाल दलतन्त्रका कारण अहिले युवाहरू देशमै रोजगार नपाउने अवस्था आएको बताए । लडेर ल्याइएको लोकतन्त्र दलाल, भ्रष्ट नेताहरूले मास्न लागेको आरोप लगाउँदै साहले भने, ‘लोकतन्त्रलाई पार्टीका नेताहरूले मिलेर मासे र दलतन्त्र ल्याए । आज दुई दल मिलेर त्यही दलतन्त्र मास्न लागिरहेका छन् ।’ 

एमाले र कांग्रेसको दुई दलीय सिन्डिकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी गर्दै उनले एमाले र कांग्रेसको दुई दलीय सिन्डिकेट तोड्न तोड्नुपर्ने बताए । लुटकारी दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका साहले  बताए । 

डा. नवलकिशोर साहको अध्यक्षतामा सम्पन्न सो भेलामा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, महासचिव त्रिभुवन साह, उपमहासचिव चन्द्रभूषण साह सचिव उमेश कुशवाहा लगायतका नेताहरूको विशेष सहभागिता रहेको स्थायी कमिटी सदस्य रवीन्द्र सिंहले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप