आयात र निर्यातसँगै व्यापार घाटा एक प्रतिशतले घट्यो

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा कुल वस्तु निर्यात ३.० प्रतिशतले कमी आई रु.१५२ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात २१.४ प्रतिशतले घटेको थियो ।
नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ३.३ प्रतिशत र ४.३ प्रतिशतले घटेको छ भने चीनतर्फ भएको निर्यात ४६.६ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, पोलिष्टर धागो, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैचा, ब्रान्स, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ ।
यसैगरी समीक्षा वर्षमा कुल वस्तु आयात १.२ प्रतिशतले कमी आई रु.१५९२ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १६.१ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.० प्रतिशत र १७.६ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.२ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, अन्य मेशिनरी तथा पार्ट्स लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ भैरहवा, जलेश्वर, कृष्णनगर, मेची, रसुवा र तातोपानी भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा र तातोपानी भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १.० प्रतिशतले कमी आई रु.१४४० अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १५.५ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात ९.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८१ लाई फर्केर हेर्दा : बागमतीको सरकार र संसद दुवै प्रभावकारी देखिएन
-
एमालेले बोलायो सचिवालय बैठक
-
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुले पायो पुर्णता
-
पाथीभरा मन्दिरमा एक वर्षमा पुगे २ लाख २१ हजार भक्तजन, तीन करोड भेटी जम्मा
-
नेपालको विजयी सुरुवात, यूएई पाँच रनले पराजित
-
हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न [तस्बिरहरु]