आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
कूटनीति

दिल्लीमा दोहोरिएला आरजुको ‘राखी’ कूटनीति ?

आइतबार, ०२ भदौ २०८१, १३ : ५७
आइतबार, ०२ भदौ २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा आजदेखि पाँच दिनका लागि भारत भ्रमणमा निस्केकी छन् ।

भारतीय विदेशमन्त्री एस.जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा गएकी हुन् । तर उनको यो भ्रमण रक्षा बन्धनका कारण चर्चामा छ ।

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेलाई राखी बाँधेकी आरजुको भारत भ्रमण रक्षा बन्धनकै पूर्वसन्ध्यामा भएका कारण पनि चर्चामा छ ।

२०७८ भदौ ६ गते नेपाल भ्रमणमा आएका विदेश विभाग प्रमुख चौथाईवालेले प्रधानमन्त्री निवासमै गएर आरजुको हातबाट राखी बाँधेका थिए । त्यतिबेला कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए ।

आरजुले राखी बाँधेपछि भारतसँग विशेष सम्बन्ध सुरु भएको चर्चा भएको थियो । सोमबार रक्षा बन्धन पर्व छ । आइतबार परराष्ट्रमन्त्री आरजु भारतको दिल्ली पुगेकी छन् ।

रक्षा बन्धनको अवसरमा सोमबार परराष्ट्रमन्त्री आरजुले भाजपा विदेश विभाग प्रमुख चौथाइवालेलाई राखी बाँध्ने भनिएको छ । परराष्ट्रमन्त्री आरजुका निजी सचिवालय स्रोतका अनुसार राखी बाँध्ने कार्यक्रमलाई भ्रमण तालिकामा राखिएको छैन तर भेटघाट भयो भने चौथाइवालेलाई राखी बाँध्ने सम्भावना छ ।

२०७८ मा कांग्रेसका नेता प्रकाशरण महतको निमन्त्रणामा चौथाईवाले नेपाल भ्रमण आएका थिए । रक्षा बन्धनकै दिन उनी नेपाल आएका थिए र भ्रमणको सुरुवातमै आरजुले उनलाई राखी बाँधिदिएकी थिइन् ।

राखी बाँधिएकै कारण चौथाईवाले र आरजुको सम्बन्ध दाजु–बहिनीको जस्तै भएको थियो । त्यसपछि आरजु जतिपटक भारत भ्रमणमा जान्थिन्, चौथाईवालेसँग भेटघाट हुन्थ्यो । उपचारका लागि भारत गएको बेला पनि चौथाईवालेले उनलाई पटक पटक अस्पताल गएर भेट गरी उनको बारेमा जानकारी लिएका थिए ।

विदेश विभाग प्रमुख चौथाईवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिन्छन् । विदेश मन्त्रालयमा चौथाईवालेको विशेष पकड छ र एस.जयशंकरले पनि चौथाईवालेको कुरा सुन्छन् ।

त्यही भएर अरु परराष्ट्रमन्त्री भन्दा आरजुको भ्रमण विशेष हुने बताइएको छ । परराष्ट्रमन्त्री आरजु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटघाट हुने सम्भावना चौथाईवालेका कारण सम्भव हुने देखिएको छ ।

यो भ्रमणमा परराष्ट्रमन्त्री आरजुले भारतका प्रधानमन्त्री मोदीलाई भेटेर नेपाल भ्रमणको निम्तो दिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

परराष्ट्रमन्त्रालयका एक अधिकारीले भने, ‘प्रधानमन्त्री मोदीसँग भेट्ने कार्यक्रम तालिकामा राखिएको छैन, भेटको भारतमै छिनोफानो हुन्छ ।’

भारतीय प्रधानमन्त्री मोदीसँग कुन समयमा भेट्ने समय मिलाउने प्रयास भइरहेको स्रोतको भनाइ छ ।

त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भारतको भ्रमणको विषयमा पनि त्यहाँ कुराकानी हुने बताइएको छ । प्रधानमन्त्री ओली पनि भारतको भ्रमण गर्ने तयारीमा छन् । त्यसअघि भदौ १८ मा थाइल्याण्डमा हुने बिमस्टेक सम्मेलनमा भाग लिन उनी त्यता जाने बुझिएको छ । परराष्ट्र मन्त्रालयले त्यसको तयारी पनि थालिसकेको छ । थाइल्याण्डबाट फर्केपछि उनी अमेरिका जानेछन् । असोज ८ गतेदेखि सुरु हुने संयुक्त राष्ट्र संघको ७९औँ महासभामा भाग लिन अमेरिका जाने परराष्ट्र स्रोतले जनाएको छ ।

‘त्यसअघि भारत जाने सम्भावना अहिलेलाई देखिएको छैन,’ परराष्ट्रका ती अधिकारीले भने, ‘प्रधानमन्त्री ओलीको भारत भ्रमण भयो भने असोजको अन्तिम वा कात्तिकमा हुने देखिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप