भेनेजुएलामा सरकारविरोधी प्रदर्शन जारी
आइतबार, ०२ भदौ २०८१, १३ : ५३

काराकास । दक्षिण अमेरिकी देश भेनेजुएलामा सरकारविरोधी प्रदर्शन जारी रहेको छ । गत महिना भएको राष्ट्रपति निर्वाचनमा निकोलस मोदुरोको विवादित जितपछि यो प्रदर्शन सुरु भएको हो ।
मोदुरोको जितको विरोधमा विपक्षी पार्टीका नेतासमेत हजारौँ मानिस सडकमा ओर्लिएका छन् । देशको राजधानीमा आयोजित प्रदर्शनमा सहभागी विपक्षी दलकी नेतृ मारिया मचाडोले जनताको आवाजभन्दा माथि केही पनि नहुने बताउँदै जनता आफ्नो आवाज सुनाउन सडकमा उत्रिएको बताइन् ।
सरकारविरोधी प्रदर्शनका कारण राजधानीमा ठुलो सङ्ख्यामा सेना र प्रहरी बल तैनाथ गरिएको छ । युरोपेली संघ, अमेरिका र कयौँ ल्याटिन अमेरिकी देशले भेनेजुएलाको निर्वाचनलाई मान्यता दिन अस्वीकार गरेका छन् । –बीबीसी