२२ वर्षीय क्षत्री ठिटोले ५० वर्षीया दलित महिलालाई बिहे गरेपछि...
जात व्यवस्थामा चलेको समाजले बाहुन र दलितको विवाह स्विकार्ने कल्पनासम्म गर्न सक्दैनथ्यो । छुटाउनका लागि परिवारले केटालाई काठमाडौँ ल्याएर राख्यो । तर केटा काठमाडौँबाट पैदल हिँडेर दाङ पुगे र तिनै दलित महिलासँग घरजम गरेर बेग्लै बसे ।
२०३० सालतिर, अमर गिरीको घरमा एक ‘बिटालु’ युवक श्रीमतीसहित आए । बुझ्दै जाँदा थाहा भयो— नजिकैको काउले गाउँका क्षत्री युवकले कमिनी बिहे गरेर गाउँ छाडेका रहेछन् । उनीहरूलाई गरिखाने गाउँ–ठाउँ चाहिएको थियो ।
अमरकी आमा क्षयरोगबाट पीडित भएकीले खेतबारीको काम गर्ने मानिसको खाँचो थियो । परिवारमा छलफल गरेर उनीहरूले ती ‘बिटालु’ युवकलाई आश्रय दिए ।
त्यतिबेला कथित तल्लो जातकी स्त्रीसँग बिहे गर्ने कथित माथिल्लो जातको पुरुषलाई बिटुलिएको मानिन्थ्यो । ती युवकलाई गाउँका सबैले बिटालु भाइ वा दाइ भनेर सम्बोधन गर्थे । अमरको चारपाखे घरको बैठक कोठामै उनीहरूलाई बस्न दिइयो । ‘त्यो बेला दलितहरूलाई घरभित्र बस्न दिनु नै ठुलो कुरा थियो । आमाको कमजोर स्वास्थ्य अवस्था र बुवा अलिकति उदार भएकैले त्यो सम्भव भएको हो भन्ने लाग्छ,’ अमर भन्छन्, ‘यद्यपि उनीहरूलाई घरमा छोइछिटो गरिन्थ्यो ।’
त्यो दलित परिवार आफ्नो घरमा बसेका बेला अमर कम्युनिस्ट आन्दोलनमा जोडिइसकेका थिए । कक्षा ७ देखि नै उनी प्रगतिशील विद्यार्थीहरूको संगठनमा आबद्ध भएका हुन् । उनीमा गाउँकै अग्रज कम्युनिस्ट नेताहरूको प्रभाव परेको थियो । दलित साथीको घरमा गएर बस्ने–खाने गर्दै आएका अमरमा परम्परागत मूल्य–मान्यताप्रति अलि बेग्लै दृष्टिकोण बनिसकेको थियो । गाउँघरमा उनी भुइँफुट्टा कम्युनिस्ट भनेर चिनिएका थिए । घरमा उनका पितालाई गाउँलेले सुनाउँथे— अमरे कामी–दमैका घरमा गएर खान्छ, जात–धर्मविरोधी कुरा गर्छ ।
यस्ता कुरालाई लिएर घरमा मातापिताले अमरलाई खासै रोकतोक गर्दैनथे । अमरको अगाडि पिताले यति मात्रै भन्थे— यो भुइँफट्टा कम्युनिस्ट बनेको छ ।
उसो त बैंसमा (खासगरी प्रेमको मामिलामा) प्रायः युवक एकचोटि कसो–कसो कवि, कम्युनिस्ट र नास्तिक बन्न पुगेको हुन्छ— भलै ऊ कविका रूपमा नचिनियोस्, भलै उसले कुनै संगठन निर्माण नगरोस् वा संगठनमा आबद्ध नहोस्, भलै उसले ईश्वरीय विश्वासमा आधारित आफ्नो धर्म र संस्कार त्यागेको घोषणा नगरोस् ।
उनीहरू दुवैमा एकअर्काप्रति उर्लेको मायाले जात व्यवस्थालाई मानेन, उमेरको अंक वा रेखागणितलाई पनि कुनै स्थान दिएन । उमेरभन्दा बढी जातलाई समाजले स्विकार्दैनथ्यो ।
ती कथित ‘बिटालु’ युवकले पनि प्रेम सम्बन्धमा बडो क्रान्तिकारी निर्णय गरेका रहेछन् । उनी २०–२२ का थिए भने काली ५० सरोफेरोकी । त्यसमाथि उनी अर्काकी श्रीमती, उनका छोराहरू ठुल्ठुला भइसकेका थिए । कालो वर्णकी भएकीले उनलाई समाजले ‘काली कमिनी’ नाम दिएको थियो । काली हाँस्दा वा बोल्दा सेता दाँतहरू चम्केझैँ लाग्थ्यो । उनी रसिलो र रहरलाग्दो पाराले बोल्थिन् । बोल्दा उनका आँखाहरू आफ्नै लयमा नाचेका हुन्थे । अर्थात् उनको भनाइका भावलाई उनका आँखाका चालले पनि आफ्नै भाषामा प्रकट गर्न खोज्थे । हँसी–मजाक गरेर बोल्ने उनको शैली सबैलाई प्रिय लाग्थ्यो । उनका यस्तै कुनै गुण वा नखरासँग ती युवक हारेका थिए सायद ।
उनीहरू दुवैमा एकअर्काप्रति उर्लेको मायाले जात व्यवस्थालाई मानेन, उमेरको अंक वा रेखागणितलाई पनि कुनै स्थान दिएन । उमेरभन्दा बढी जातलाई समाजले स्विकार्दैनथ्यो । सँगै मर्ने वा सँगै बाँच्ने वाचा गरेका उनीहरू गाउँ छाडेर हिँड्न बाध्य भए । करिब तीन वर्षजस्तो अमरको घरमा बसेपछि उनीहरू नजिकैको भट्टेटारीस्थित ऐलानी जग्गामा बुकुरो बनाएर सरे ।
समय बित्दै जाँदा कालीलाई बुढ्यौलीले छपक्कै छोप्यो । जब उनको बैँसको बर्कोलाई समयको घामपानीले कुटेर झुत्रो बनायो, अनि ती युवकको मोह भंग भयो । उनको मोह केवल कालीको जवानीप्रति रहेछ । कालीलाई छाडेर सिम्लातिर लागेका ती बिटालु युवक फेरि दाङ फर्केनन् । सायद उनी अर्को समाजमा बिटुलिएर होइन चोखिएर बस्न खोजे, कालीलाई बेसहारा छाडेर ।
‘प्रेममा परेको मान्छेले रुढिवाद नमान्दो रहेछ,’ अमर भन्छन्, ‘प्रेममा असम्भवलाई पनि सम्भव बनाउने ताकत हुँदो रहेछ ।’
कालीको उमेर घर्किसकेकाले उनीहरूबाट सन्तान भएका थिएनन् । जीवनको उत्तराद्र्धको रहलपहल बैँसलाई जवान प्रेमीको नाममा सुम्पिएकी कालीले परिणामतः असहाय बुढ्यौली बाँचिन् र केही वर्षअघि (२०७० सालतिर) त्यही ऐलानी जग्गामा रहेको झुप्रोमा प्राण त्यागिन् । एउटा क्षणभंगुर प्रेम–कथाको अन्त्य भयो । ठुल्ठुला छोराहरूलाई छाडेर ५० को हाराहारीमा ठिटो प्रेमीलाई साथ दिनुपर्ने उनका पनि आफ्नै दुःख र दबाब थिए होलान् ।
उनको मृत्यु ठ्याक्कै कहिले र कसरी भयो, दाहसंस्कार कसले गर्यो भन्ने अमरलाई जानकारी छैन । रातोपाटीको ‘दैलोमा दलित’ शृंखलाका लागि संवाद गर्दा अमरले ती ‘बिटालु’ युवकको प्रेम–कहानी सम्झिए ।
‘प्रेममा परेको मान्छेले रुढिवाद नमान्दो रहेछ,’ अमर भन्छन्, ‘प्रेममा असम्भवलाई पनि सम्भव बनाउने ताकत हुँदो रहेछ ।’
अमर आफ्नै गाउँको अर्को अन्तर्जातीय प्रेम–कथा सम्झन्छन् ।
पञ्चायतकालकै घटना हो, उनको गाउँका एक बाहुन युवकले दलित युवतीसँग बिहे गरे । जात व्यवस्थामा चलेको समाजले बाहुन र दलितको विवाह स्विकार्ने कल्पनासम्म गर्न सक्दैनथ्यो । छुटाउनका लागि परिवारले केटालाई काठमाडौँ ल्याएर राख्यो । तर केटा काठमाडौँबाट पैदल हिँडेर दाङ पुगे र तिनै दलित महिलासँग घरजम गरेर बेग्लै बसे । अहिले उनीहरूले आफ्नै संसार निर्माण गरेका छन् । उनीहरूलाई नरमाइलो लाग्ला भनेर अमर उनीहरूको पूर्ण कथा सुनाउन चाहन्नन् ।
यतिखेर भाषा आयोगमा सदस्य रहेका डा. अमर गिरीको पारिवारिक पृष्ठभूमिले पनि अनौठो कथा बोकेको छ, खासगरी प्रेमकै । गौतम थरधारी ब्राह्मण कुलका अमरका हजुरबुवा प्युठानबाट दाङ झरेका हुन्, जोगी भएर घुम्दै फिर्दै । दाङको साबिकको रामपुर गाविस निमुरियामा आइपुगेपछि उनी गिरी कुलकी युवतीको प्रेममा परे र गृहस्थ बन्न पुगे ।
आफूले गिरी थर पाउनुको कहानी सुनाउँछन् अमर, ‘संन्यास ग्रहण गरेपछि वा जोगी भएपछि बाहुनलाई गिरी भन्ने गरिन्छ, तर हाम्रो गिरीको लहरो धेरै लामो छैन । यद्यपि कतिपय संन्यासीहरूको इतिहास लामै छ ।’
अमरलाई कम्युनिस्ट बनाउन देश, काल र परिस्थितिको पनि भूमिका थियो र छ ।
अमरका हजुरबाबाट दुई भाइ छोरा भए, अमर कान्छा भाइतिरका हुन् । दुई दाइहरू बितेपछि जन्मेका अमरलाई बचाउन बाआमाले अनेक थरी रुढिवादी उपाय अपनाउनुपर्यो । दुई छोराहरू खेर गए, यसलाई छोरी बनाइदिए हुर्कन्छ कि भनेर सात–आठ वर्षको उमेरसम्म उनको चुल्ठो बाटियो । अलिकति हेय खालको नाम राखिदियो भने सन्तान बाँच्छन् भन्ने अन्धविश्वास गाउँ–समाजमा व्याप्त थियो । अमर भन्छन्, ‘मेरो त नामै कमारो राखिएको थियो । मलाई गाउँघरमा कमारे भनेर बोलाउँथे । अलि ठुलो भएपछि मात्रै अमरे भन्न थालेका हुन् ।’
प्युठानबाट आफ्नो पैतृक सम्पत्ति ल्याएर अमरका हजुरबाले दाङमा केही जग्गा जोडेका थिए, उब्जनीले खान पुग्थ्यो । अर्कोतिर अमरका बुवा वासुदेव गिरीले भारतीय सेनामा २२ वर्ष सेवा गरी २०२२ सालतिर हवल्दारबाट अवकाश पाए । अमरलाई उस्तो दुःख थिएन, समाजमा कथित उच्च जातको सम्मान छँदै थियो । यद्यपि ‘कमारो’ नामले उनको अवचेतन मनमा कुनै न कुनै रूपमा असर गर्यो र सायद उनीमा कम्युनिस्ट चिन्तनको विकास हुने आधार दियो कि ! हेपिएको वा थिचोमिचोमा परेको अर्थ दिने नामले मनोवैज्ञानिक रूपमा कस्तो असर गर्छ भन्ने हिन्दु समाजका दलितहरूलाई थाहा छ, यद्यपि यो ढंगले हामीकहाँ मनोवैज्ञानिक अध्ययन–अनुसन्धान भएका छैनन् ।
अमरलाई कम्युनिस्ट बनाउन देश, काल र परिस्थितिको पनि भूमिका थियो र छ । दाङमा टाठाबाठाबाट थारुहरूको जमिन खोसिँदै गयो, कमैयाहरू बढ्दै गए । हामीकहाँ प्रजातन्त्र आएपछि मात्रै उत्पीडित वर्गले विद्रोह वा आन्दोलन गर्न सक्ने परिस्थिति सिर्जना हुँदै आयो । प्रजातन्त्र त राणाबाट सत्ता खोसेर राजा र केही अभिजात वर्गलाई सुम्पन ल्याइएको थियो ।
खैर, २०१७ सालको साउनमा दाङमा किसानहरूले आन्दोलन गरे, जसलाई ‘बेल्वा–बन्जारी काण्ड’ भनेर जानिन्छ । त्यतिबेला किसान र प्रहरी प्रशासनका बिचमा ठुलै संघर्ष हुँदा गुम्रा थारु सहिद भए । यस घटनाको एक महिनापछि अर्थात् भदौ २७ गते अमर जन्मेका हुन् ।
जहाँ किसानहरूले विद्रोह गरेका हुन्छन्, त्यहाँ कम्युनिस्ट नेताहरू हुनु स्वाभाविकै हुन्छ । उनको गाउँमै जल्दाबल्दा कम्युनिस्ट नेता थिए । उनले पढ्ने स्कुल र जिल्लाभरिकै स्कुलमा कांग्रेस र कम्युनिस्टका बिचमा द्वन्द्वजस्तै थियो । स्कुलहरू कम्युनिस्टहरूको गढ, कांग्रेसको गढ भएको भनेर चिनिन्थे ।
२०७२ सालमा आएर उनले पीएचडी गरे, ‘समकालीन नेपाली कवितामा वर्ग द्वन्द्वको अभिव्यक्ति’ शीर्षकमा । उनका पाँच कविता कृति लगायत केही समालोचनाका पुस्तक प्रकाशित छन् ।
‘सबैभन्दा गहिरो प्रभाव मलाई विष्णु पोखरेलबाट पर्यो । उहाँलाई जनयुद्धका बेला राज्यले मार्यो । उहाँ चौथो महाधिवेशनमा जोडिनुभएको थियो, स्थानीय स्तरको सक्रिय नेता हुनुहुन्थ्यो,’ अमर भन्छन्, ‘कक्षा ७ मा पढ्दा म उहाँको घरमा गणित पढ्न जान्थेँ । उहाँले नै मलाई कम्युनिस्ट आन्दोलनतर्फ अभिप्रेरित गर्नुभयो ।’
गाउँकै शशिधर अधिकारीको प्रभाव पनि उनीमा पर्यो । शशिधर कम्युनिस्ट आन्दोलनमा प्रतिबद्ध भएर लागेका स्थानीय नेता थिए । उनीहरूसँग भेटघाट र कुराकानी हुँदै जाँदा अमर कम्युनिस्ट आन्दोलनतिर आकर्षित हुँदै गए ।
२०३६ सालमा भएको अनेरास्ववियु छैटौँको राष्ट्रिय सम्मेलनबाट अमर केन्द्रीय उपाध्यक्ष भए, जति बेला उनी १९ वर्षका थिए । त्यतिबेला लीलामणि पोखरेल अध्यक्ष भएका थिए भने केन्द्रीय कमिटीमा पम्पा भुसाल पनि थिइन् ।
पछि उनी मोटो मशाल हुँदै माओवादीमा जिल्ला कमिटीको सचिवालय सदस्य भए । जनयुद्ध सुरु हुनुभन्दा ११ महिनाअघि माओवादीसँग वैचारिक विमति जनाएर एमालेमा प्रवेश गरेका अमरले विभिन्न स्कुलमा ३५ वर्ष पढाए तर राजनीतिमा लागेकै कारण स्थायी हुन पाएनन्, कहिले थुनिन्थे, कहिले भाग्दै र लुक्दै हिँड्नुपथ्र्यो ।
२०७२ सालमा आएर उनले पीएचडी गरे, ‘समकालीन नेपाली कवितामा वर्ग द्वन्द्वको अभिव्यक्ति’ शीर्षकमा । उनका पाँच कविता कृति लगायत केही समालोचनाका पुस्तक प्रकाशित छन् ।
- दलितको माझमा
अमरले ‘दलित’ शीर्षकमा एउटा कविता लेखेका छन्—
फलाम खाएर
फलामसँग–सँगै
म हिँड्नुभन्दा पहिल्यै
युगले बनाएका मेरा घाउहरू हेर ।
दलितहरूले विभेदको कतिसम्म गहिरो घाउ लिएर बाँचेका छन् भन्ने अमरलाई गहिरो गरी नै बोध छ । उनले सानैदेखि दलितको अवस्थालाई नियाल्दै आएका हुन् ।
उनको घरदेखि करिब ४५ मिनेटको दूरीमा बालिम भन्ने ठाउँ छ । त्यहाँका फलामको काम गर्ने एक व्यक्तिलाई धेरैले बालिमे कामी भनेर चिन्थे । उनी अमरको परिवारका बालीघरे कामी थिए । उनले अमरको परिवारलाई आवश्यक फलामका भाँडाकुँडादेखि औजार बनाउने र धार लगाउने काम गर्थे । यसबापत उनलाई वर्ष दिनमा १० देखि १५ पाथीसम्म बाली (धान लगायत) दिइन्थ्यो ।
यसैगरी लुगा सिउने दमाईलाई अमरको परिवारले वार्षिक रूपमा बाली दिन्थे । ती बालीघरे दमाईको घर बालिमभन्दा अलि माथि भानपुरमा पथ्र्यो, त्यसैले उनलाई अमरहरूले भानपुरे दमाई भनेर चिन्थे ।
मर्मतका लागि भाँडाकुँडा वा धार लगाउने औजार लिएर अमर बेला बेला कामीकहाँ जान्थे । अर्कोतिर, वर्षमा एकपटक कामीले अमरको घरछेउमै आरन राख्थे, आरनका लागि आवश्यक खलाँती लगायत सामान कामीले घरबाटै ल्याएका हुन्थे । यसरी आरन राखेका बेला अमरको परिवार लगायत वरपरका आफन्तको औजारमा धार लगाउनेदेखि बिग्रेका भाँडाकुँडाको मर्मत–सम्भार गरिन्थ्यो ।
यसैगरी लुगा सिउने दमाईलाई अमरको परिवारले वार्षिक रूपमा बाली दिन्थे । ती बालीघरे दमाईको घर बालिमभन्दा अलि माथि भानपुरमा पथ्र्यो, त्यसैले उनलाई अमरहरूले भानपुरे दमाई भनेर चिन्थे । ज्यान मोटो भएकाले मोटे दमाई भनेर पनि चिन्थे ।
यहाँनेर बालिमे कामी, मोटे दमाई, भानपुरे दमाई, काली कमिनी जस्ता नाम आएका छन् । दलितहरूलाई यस्ता नाम समाजका ठुलाठालुले नै राख्ने हुन् । दलितहरूले आफ्नो नाम जस्तो राखे पनि ठालुहरूले त्यसलाई मान्दैनथे, उनीहरूले आफूले चिन्ने गरी, हेप्न र विभेद गर्न सहज हुने गरी नाम राखिदिन्थे । शासन–प्रशासनमा उनीहरूकै हालिमुहाली हुने भएकाले कतिपय कागजातमा पनि आफू अनुकूलको नाम–थर लेखिदिन्थे ।
अमरको घरतिर गन्दर्भहरू पनि बेला बेला सारंगी बजाउँदै र गाउँदै आउँथे । कसको घरमा कुन गन्दर्भ आउने भन्ने पनि तोकिएजस्तै हुन्थ्यो । उनीहरूले गीत गाएर आशीर्वाद दिन्थे । त्यसबापत उनीहरूलाई अन्न दिइन्थ्यो, भोको छ भने खान पनि दिइन्थ्यो । आफूलाई स्नेह देखाउने घर–परिवारमै गन्दर्भहरू बढी जाने गर्थे ।
तुलसीपुरस्थित पातुखोलामा पुष्कर भन्ने गन्दर्भ थिए । उनी अमरको घरमा कहिलेकाहीँ वर्षमा एकपटक, कहिलेकाहीँ दुई–तीनपटक पनि आउँथे । उनले विभिन्न गीत गाएर अमरको घरबाट धान लिएर जान्थे । उनलाई खाना पनि खुवाइन्थ्यो ।
अमरको दृष्टिकोणमा दलित आन्दोलनका मूलतः दुई धार वा धारा छन्— मार्क्सवादी आन्दोलन वा पार्टीसँग जोडिएर आएको धारा र डमोक्रेटिक आन्दोलन वा पार्टीसँग जोडिएर आएको धारा ।
अमरको दैलोमा टेक्ने जोसुकै दलितमाथि छुवाछुत गरिन्थ्यो । छुवाछुतमै अभ्यस्त थियो समाज, यद्यपि यी सबै मूल्य–मान्यतालाई अमरले मान्दैनथे । साथी डम्बर विश्वकर्माको घरमा गएर अमरले बस्ने–खाने गर्थे । एउटै स्कुलमा पढ्ने डम्बर अमरभन्दा एक ब्याच सिनियर हुन् । अमर र डम्बरको दोस्ती समाज हेरी क्रान्तिकारी नै हो । उनीहरूले छुवाछुत हटाउनेबारे पनि छलफल गरिरहन्थे ।
डम्बर विश्वकर्मापछि दलित समुदायका पुराना मित्रहरूलाई सम्झनुपर्दा उनले दाङका जितेन्द्रमान नेपाली र भागवत विश्वासी सम्झन्छन् ।
- दलित आन्दोलन
अमरको दृष्टिकोणमा दलित आन्दोलनका मूलतः दुई धार वा धारा छन्— मार्क्सवादी आन्दोलन वा पार्टीसँग जोडिएर आएको धारा र डमोक्रेटिक आन्दोलन वा पार्टीसँग जोडिएर आएको धारा ।
‘यी दुवैसँग नजोडिएको तर अधिकारका निम्ति विभिन्न सामाजिक संस्था खोलेर संघर्ष गर्दै आएको धारा पनि छ । यो धारा त्यति ठुलो छैन, स्वस्फूर्त धारा हो,’ अमर दलित आन्दोलनको विश्लेषण गर्छन्, ‘आजसम्मको दलित आन्दोलनले जे जति उपलब्धि हासिल गरेको छ, त्यसमा वामपन्थी खेमाको ठुलो भूमिका छ । डेमोक्रेटिकहरूले भन्दा कम्युनिस्टहरूले दलित आन्दोलनलाई धेरै हदसम्म साथ दिएका छन् ।’
यद्यपि अझै पनि कम्युनिस्ट आन्दोलनले दलित समस्यालाई समग्रतामा बुझ्न नसकेको अमरको ठम्याइ छ । उनका अनुसार, दलित आन्दोलनको समग्रता भनेकै आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक पाटो हो । उनी भन्छन्, ‘आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमै दलितहरू अरु समान हुने अवस्था सिर्जना हुनुपर्छ ।’
दलितहरूभित्रै पनि आफ्नो मुक्तिका लागि थरीथरीका बुझाइ रहेको अमरले पाएका छन् । दलितहरूले सर्वप्रथम आफ्नो मुक्तिको ठोस पाटो ठम्याउनुपर्ने उनको सुझाव छ । ‘एउटा ठोस विचारमा सबै पार्टी वा क्षेत्रमा लागेका दलितहरू एकमत हुनुपर्छ,’ अमर भन्छन्, ‘वर्गीय समस्या समाधान हुने हो भने जातीय, लैंगिक, सामुदायिक वा अल्पसंख्यकको समस्या ठिक भइहाल्छ भन्ने बुझाइ पनि छ । वर्गीय समस्या समाधान हुँदैमा दलित, महिला, आदिवासी जनजाति लगायतको समस्या पूर्णतया समाधान हुँदैन । यी समस्यालाई सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक ढंगले पनि हेरिनुपर्छ ।’
राज्यले पहिले आर्थिक र राजनीतिक रूपमा दलितलाई हक दिएर सामाजिक र सांस्कृतिक रूपान्तरणका कार्यक्रम ल्याउनुपर्ने अमरको बुझाइ छ ।
केही हदसम्म राजनीतिक र आर्थिक रूपमा दलितहरूको उत्थान हुँदा पनि सांस्कृतिक रूपान्तरणको प्रक्रिया बाँकी रहने अमर बताउँछन् । ‘सांस्कृतिक रूपान्तरणको प्रक्रिया अगाडि नबढेपछि बाहिर जे भने पनि संस्कारको तहमा गढेर बसेको छुवाछुतको भावना सिद्धिँदैन । त्यो कुनै न कुनै रूपमा प्रकट भइरहन्छ । त्यो व्यवहारमा मात्रै होइन, चिन्तनमा पनि प्रकट हुन्छ । जो हामीले देखिरहेकै छौँ,’ अमर निष्कर्षमा भन्छन्, ‘दलित समस्यालाई पूरै हल गर्न पुँजीवादले सक्दैन, यसका निम्ति समाजवादी क्रान्ति नै आवश्यक छ भन्ने मेरो बुझाइ हो ।’
अमरले सांस्कृतिक रूपान्तरणका लागि आफ्ना विचारहरू विभिन्न माध्यमबाट व्यक्त गर्दै आएका छन् । २०६७ सालमा प्रकाशित आफ्नो पुस्तक ‘समय, समाज र संस्कृति’मा ‘कम्युनिस्ट आन्दोलन र सांस्कृतिक रूपान्तरण’ शीर्षकमा उनको विचार छ, ‘समाजले अपनाउँदै आएको संस्कृतिका ठाउँमा वैकल्पिक संस्कृति प्रस्तुत नगरीकन राजनीतिक वैचारिक कार्यले मात्र सांस्कृतिक रूपान्तरण सम्भव हुन्न । वैकल्पिक संस्कृतिको प्रस्तुतिले चयनको अवसर प्रदान गर्दछ । यस दृष्टिले हेर्ने हो भने सांस्कृतिक रूपान्तरणको हाम्रो आन्दोलन अत्यन्त अधुरो रहेको छ ।’
राज्यले पहिले आर्थिक र राजनीतिक रूपमा दलितलाई हक दिएर सामाजिक र सांस्कृतिक रूपान्तरणका कार्यक्रम ल्याउनुपर्ने अमरको बुझाइ छ । ‘अहिले दलितहरूलाई संविधान र कानुनले दिएकै अधिकार पनि कार्यान्वयनमा आउन सकेका छैनन् । पार्टीहरूमा दलितहरूको उपस्थिति न्यून छ,’ उनी भन्छन्, ‘दलितमाथिका विभेदकारी घटनामा कारबाही हुँदैनन्, किनभने प्रहरी प्रशासनदेखि नेतामा एक खालको सोच छ, जसले कारबाहीको प्रक्रिया सहजै अघि बढ्न दिँदैन । राज्यको सम्पूर्ण तहबाट र नागरिक समाजबाट दलित मुक्तिका लागि पहल थालिनुपर्छ । सामाजिक र सांस्कृतिक तहमा नागरिक समाजकै भूमिका हुन्छ ।’