फेरि उपाधिबाट चुक्यो रोनाल्डोको अल नासर

काठमाडौँ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको व्यावसायिक लिगमा आबद्ध भएयता हालसम्म एउटा पनि उपाधि चुम्न सकेका छैनन् । रोनाल्डोको क्लब शनिबार राति सम्पन्न एक महत्त्वपूर्ण खेलमा पराजित भएपछि उनले उपाधिका लागि थप केही समय प्रतीक्षा गर्नु पर्ने भएको छ ।
साउदी सुपर कप फुटबल प्रतियोगिताको शनिबार राति सम्पन्न खेलमा रोनाल्डोको क्लब अल नासर चिर प्रतिद्वन्द्वी अल हिलालसँग ४–१ गोलले पराजित भएको हो । खेलको पहिलो हाफमै अग्रता लिएर पनि अल नासरले त्यसलाई जोगाउन सकेन ।
अल नासरका लागि एकमात्र गोल रोनाल्डोले नै गरेका थिए । पहिलो हाफको खेल सकिनुभन्दा एक मिनेटअघि ३९ वर्षीय रोनाल्डोले टोलीलाई अग्रता दिलाएका थिए । पाँचपटकको बालोन डी’ओर विजेता रोनाल्डोकै गोलका कारण पहिलो हाफमा अल नासर अगाडि रह्यो ।
तर, खेलको दोस्रो हाफमा अल नासरले लय गुमाएको थियो । निर्धारित समयको ५५औँ मिनेटमा अल हिलालका लागि सर्जी मिलिन्कोभिचले पहिलो गोल गरेका थिए । ६३औँ मिनेटमा अलेक्जेन्डर मित्रोभिचले अल हिलालको अग्रता दोब्बर बनाएका थिए ।
त्यसपछि खेलको ६९औँ मिनेटमा अलेक्जेन्डरले नै व्यक्तिगत रूपमा दोस्रो गोल थपेका थिए । निर्धारित समयको ७२औँ मिनेटमा अल हिलालका लागि माल्कमले चौथो गोल गरेका थिए । दोस्रो हाफमा अल हिलालसामु अल नासर निरीह देखिएको थियो ।
रोनाल्डो सन् २०२२ को डिसेम्बरमा अल नासरमा आबद्ध भएका थिए । उनले गत सिजन क्लबका लागि ३५ गोल गरेका थिए । अल हिलालले लगातर दोस्रो पटक सुपर कपको उपाधि चुमेको हो । समग्रमा भने अल हिलालले पाँचौँ पटक सुपर कप जितेको हो ।
यसअघि साउदी किङ्स कप र साउदी प्रो लिगको उपाधि यात्रामा पनि अल हिलालले नै अल नासरलाई हराएको थियो । साउदी प्रो लिगको नयाँ सिजन आगामी बिहीबार सुरु हुँदैछ । अल नासरले आफ्नो पहिलो खेल अल रिदसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हेल्लो काशीराम’ बारे फुलन्देकी आमा – हास्य र व्यङ्ग्यको अनौठो मिश्रण
-
अमेरिका र युरोपबिच व्यापार सम्झौताको सम्भावना, इटालीका प्रधानमन्त्रीले भेटिन् ट्रम्पलाई
-
कर्मचारीलाई बेवास्ता गरेर ऐन ल्याए आन्दोलनमा उत्रिने चेतावनी
-
२५ जना सदस्यसहित नेपाल आइपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने
-
राज्य व्यवस्था समितिमा पुगे निजामती ट्रेड युनियनका प्रतिनिधि, ११ बुँदे ज्ञापनपत्र हस्तान्तरण
-
सरकारी वेबसाइटहरु डाउन, किन भयो यस्तो ?