मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
गल्फ

चौँरी र च्याङ्ग्रा चर्ने खर्क बन्यो विश्वकै अग्लो गल्फ कोर्स

आइतबार, ०२ भदौ २०८१, ०७ : ३७
आइतबार, ०२ भदौ २०८१

मुस्ताङ । मौसम खुल्दा ३६० डिग्रीमा हिमाल । जमिन पुरै हरियो । वरपरका डाँडाहरू विभिन्न रङ र आकृतिले सजिएका । गाउँलेले च्याङ्ग्रा र चौँरी चराउने खर्क विश्वकै अग्लो स्थानको गल्फ कोर्स बन्ला भन्ने सायदै लागेको हुँदो हो, गण्डकीका पूर्व सांसद इन्द्रधारा विष्टलाई । 

अधिकांश गाउँलेलाई त गल्फ भनेको अहिले पनि थाहा छैन । सन् २००७ तिर जब उनी अमेरिकाको एरिजोना पुगे, त्यहाँ गल्फरहरुसँग सङ्गत भयो । त्यसअघि पोखराकै फूलबारी रिसोर्टमा रहेको गल्फ कोर्स पनि देखेका त हुन् । तर अमेरिका छिर्नुअघिसम्म उनलाई गल्फ धनीहरूको खेल भन्ने लागेको थियो । एरिजोना पुगेपछि उनलाई लाग्यो, लोवथाङमा पनि कोर्स बनाउन सकिन्छ र विश्वभरिका गल्फलरको गन्तव्य बनाउन सकिन्छ ।

IMG_1596

त्यति बेला उनीसँग सपना मात्रै थियो । जब गण्डकी प्रदेशको पहिलो सांसदको रूपमा माथिल्लो मुस्ताङबाट निर्वाचित भए त्यसपछि सरकारले बनाएको पर्यटन नीतिमा उनले हाइ अल्टिच्युड गल्फ कोर्सलाई समावेश गरे । ‘संयोगले मैले प्रतिनिधित्व गर्ने पार्टीको सरकार बन्यो । पर्यटन नीति बनाउँदा म पनि सहभागी हुने मौका पाएँ,’ विष्टले भने, ‘२० वर्षअघि देखेको सपना मैले सरकारको नीतिमा समावेश गराउन सफल भएँ । त्यही दिनदेखि गल्फ कोर्स बनाउन मरिमेटेर लागेको हुँ ।’

तत्कालीन सरकारले नीतिमा राखे पनि मुस्ताङ गल्फ कोर्सका लागि खासै बजेट विनियोजन भने गरेन । विष्टले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत ४० लाख रुपैयाँ छुट्याएर कोर्ससम्म पुग्ने बाटो बनाए, कोर्स बनाउनुअघि ।

‘गल्फ कोर्स बनाउन बाटो लैजान्छु भन्दा गाउँलेले मान्दैनथे । डोल्पा जोड्ने सडक, खर्क जान सजिलो हुन्छ भनेर फकाएँ,’ उनले भने, ‘गाउँले बल्लबल्ल कन्भिन्स भए । भित्री लक्ष्य चाहिँ गल्फ कोर्सको एक्सेस रोड नै हो ।’ सडक पुगेपछि उनले गल्फका प्राविधिकहरूलाई भ्रमण गराए । कोर्सको डिजाइन गरे । अनि २ वर्षअघि बन्यो, विश्वकै अग्लो स्थानमा नयाँ गल्फ कोर्स । ४ हजार ७ सय मिटर उचाइमा रहेको कोर्समा शनिबार तेस्रो संस्करणको एम्योचर गल्फ प्रतियोगिता आयोजना गरिएको छ । गल्फ खेल्नका लागि देशभरका गल्फरहरु लोमान्थाङ आइपुगेका थिए । यो वर्षको प्रतियोगितामा ५ महिला सहित ३६ गल्फरले प्रतिस्पर्धा गरेको विष्टले जानकारी दिए । 

IMG_4556

विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले आयोजना गरिएको तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि इन्द्रधारा विष्टले जितेका छन् । लोमान्थाङ गाउँपालिका र मुस्ताङ गल्फ कोर्सले आयोजना गरेको प्रतियोगिताको महिलातर्फको उपाधि भने पोखराकी बालकाशी गुरुङले जितिन् ।

अघिल्लो वर्षभन्दा यो वर्ष एक महिना अघि प्रतियोगिता आयोजना गरिएको हो । बर्खाको समयमा पहाड र तराई क्षेत्रमा गल्फ खेल्न सम्भव छैन । हिमालमा भने पानी नपर्ने भएकोले सबैभन्दा उत्तम मौसम साउनदेखि कात्तिकसम्म हुन्छ । ‘अन्यत्र बर्खामा गल्फ खेल्न सम्भव छैन । मुस्ताङमा बर्खाको असर पर्दैन,’ विष्ट भन्छन्, ‘यहाँको सबैभन्दा उत्तम समय नै साउनदेखि कात्तिकसम्म हो । यही समयलाई टार्गेट गरेर गल्फ प्रतियोगिता आयोजना गरिएको हो ।’ अहिलेसम्म वर्षको १ पटक प्रतियोगिता हुँदै आएको यहाँ केही प्रतियोगिता थप्ने योजना रहेको उनले सुनाए ।

गल्फका प्राविधिक भूबहादुर गुरुङ (भुवन) ले मुस्ताङ गल्फ कोर्स प्रो गल्फरका लागि समय उपयुक्त रहेको बताए । ‘यहाँ ठुला प्रतियोगिताहरू पनि आयोजना गर्न सकिन्छ । तर केही प्राविधिक कुराहरू मिलाउनुपर्छ । विशेष गरी ग्रिन यहाँको राम्रो छैन,’ उनले भने, ‘कोर्सलाई १८ होलमा विस्तार गर्न सकियो भने विश्वका गल्फरको लागि यो नयाँ गन्तव्य हुनेछ ।’ पहिलो प्रतियोगिता देखि नै भुवनले प्राविधिक बन्दोबस्त मिलाइदिएका छन् । गल्फरलाई आकर्षित गर्न नौलो प्रयोग पनि भइरहेको छ । अघिल्लो वर्षसम्म होल इन वानका लागि घोडा पुरस्कार राखिएकोमा यो वर्ष याक राखिएको थियो । यस्तै, कोर्समा स्थानीय जीवनशैली झल्किने ध्वजापतका र टेन्टहरू टाँगिएका थिए । स्थानीयले सांस्कृतिक प्रस्तुति पनि दिएका थिए।

गल्फर भक्तराज गुरुङ मुस्ताङ पुग्ने सडकमार्ग छिटो स्तरोन्नति हुन सके गल्फ कोर्सलाई अन्तर्राष्ट्रियकरण गर्न सकिने सुनाउँछन् । ‘सडक अझै कम्फर्टेबल छैन । अरू सबै ठिक छ,’ शुक्रबार अभ्यास खेलेपछि अनुभव साट्दै उनले भने, ‘अरू देशका गल्फरलाई पनि बोलाउन सकिन्छ । तर सडक नै राम्रो नभए पहिलो इम्प्रेसन नै नकारात्मक पर्न सक्छ । त्यसैले अर्को वर्ष अलि व्यवस्थित गरेर कोर्सलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ ।’

मुस्ताङ गल्फ कोर्स देशकै सम्पत्ति भएकोले राज्यले अपनत्व लिनुपर्ने उनको सुझाव छ । पर्यटनमा बर्खा लागेपछि अफ सिजन चल्छ । मुस्ताङ खास गरी पर्यटनकै लागि परिचित छ । गल्फ कोर्सले अफ सिजनमा पनि खेल पर्यटक आकर्षित गरेर आम्दानी बढाउन सकिने स्थानीयको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप