बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनीका मुख्यमन्त्री आचार्य एमाले संसदीय दलको नेता चयन

शनिबार, ०१ भदौ २०८१, २० : ०७
शनिबार, ०१ भदौ २०८१

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् । एमाले लुम्बिनी प्रदेश संसदीय दलको आज बसेको बैठकले आचार्यलाई संसदीय  दलको नेता चयन गरेको हो ।

मुख्यमन्त्रीमा आफूलाई पन्छाएपछि तत्कालीन दलका नेता लिला गिरीले सो पदबाट राजीनामा दिएका थिए । संसदीय दलका नेता रहेका पूर्व मुख्यमन्त्री लीला गिरीले दलको नेताबाट राजीनामा दिएपछि रिक्त रहेको दलको नेता पदमा मुख्यमन्त्री आचार्यलाई चयन गरिएको हो । 

मुख्यमन्त्री आचार्यलाई संसदीय दलको नेता चयन गरेको बैठकले उपनेतामा रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ । श्रेष्ठ एमाले लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष हुन् ।

यसैगरी बैठकले दलको प्रमुख सचेतकमा रुपन्देहीका तुल्सीप्रसाद चौधरी र सचेतकमा रोल्पाकी यमुना रोका तामाङलाई चयन गरेको छ । चौधरी यसअघि पनि प्रमुख सचेतक नै रहेका थिए ।

एमाले संसदीय दलको आजको बैठकमा नेता गिरीको पूर्वनिर्धारित कार्यक्रमअनुसार रुपन्देही बाहिर भएकाले बैठकमा सहभागी नभएको गिरीको सचिवालयले जनाएको छ । एमाले दलको बैठकमा एमाले प्रदेश कमिटी इन्चार्ज एमाले सचिव पद्मा अर्याल सहभागी रहेकी थिइन् ।

बैठकले भदौ ४  गते मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन ह्वीप समेत जारी गरेको छ । बैठकपछि प्रमुख सचेतक चौधरीले एकमतका साथ मुख्यमन्त्रीमा आचार्यलाई मत दिन ह्वीप जारी गर्ने निर्णय भएको बताए ।

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप