जनार्दनसँगको सम्बन्धबारे प्रचण्ड : हामी अगुल्टो ठोस्सिएझैँ ठोस्सिने गरेका छौँ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने भ्रम असत्य साबित भइसकेको बताउँछन् । पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशङ्काको तुवाँलो लागेको भए पनि त्यो तुवाँलो पार्टी भित्रको छलफलपछि हटेको र त्यो भ्रम चिरिएको अध्यक्ष दाहालको भनाई थियो ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफूले भने कहिल्यै पनि शर्माले पार्टी फुटाउँछन् भनेर नसोचेको जिकिर पनि गरे । अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई टुटाउन लागिपरेको आरोप समेत लगाए ।
उनले उपमहासचिव शर्मासँग आफूबिच आगो ठोस्सिएजस्तो ठोसिने सम्बन्ध रहेको पनि बताए । तर त्यो सम्बन्धले पार्टीलाई एकताबद्ध बनाउन मद्दत पुर्याएको अध्यक्ष दाहालको निष्कर्ष थियो । उनले पार्टी स्थायी समिति बैठकले पनि उपमहासचिव शर्माले पार्टी फुटाउने भन्ने कुराको भ्रमलाई खारेज गरिदिएको बताए ।
अध्यक्ष दाहालले भने, ‘कमरेड प्रभाकरसँग मेरो भेट भएदेखि अहिलेसम्म हामी अक्षुण्ण रूपले सँगै काम गर्दै आएका छौँ । तर उहाँले भनेजस्तो उहाँको स्वभाव र मेरो के हो भन्ने कुरा त सिङ्गै देशले बुझेकै कुरा छ । त्यो स्वभावको कारणले हामी बेलाबेलामा अगुल्टो ठोस्सिएझैँ ठोस्सिने चाहिँ गरेका छौँ । अहिले मात्रै होइन । जनयुद्ध कालमा पनि, जनयुद्ध पछि पनि र अहिले पनि । तर यो अगुल्टो ठोस्सिएजस्तो ठोस्सिनु आगो बाल्नका लागि, खान पकाउनका लागि, राम्रोको लागि हुँदै आएको छ । म विश्वास गर्छु–यो पटक अझ राम्रो हुनेछ । यो विवाद र बहसले अझ पार्टीलाई एकताबद्ध गर्न, अझ उहाँको र मेरो बिचमा बेलाबेलामा हुने आशङ्काहरू दूर गर्न र आफ्नो समझदारीलाई मजबुत गर्न मद्दत गर्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु । यो पटकको बैठकहरू मैले अलि भिन्न रूपले सञ्चालन गर्ने सोचेको छु । र विवाद र आशङ्काको बिचमा पनि, विवाद र बहसको बिचमा पनि मैले सबै कमरेडहरूसँग प्रभाकरजीसँग पनि कसरी लैजाने त बैठकलाई भन्ने सल्लाह गरेर खुला छलफल गर्न दिऊँ, यसले पार्टीलाई बलियो बनाउन मद्दत गर्छ भन्ने समझदारी अनुसार बैठक अघि बढेका छन् । हामीले खुला हृदयले मन भित्र भएका सही हुन वा गलत । मनोगत हुन वा वस्तुगत हुन् । जे छन् भित्र, त्यो बाहिर आओस् । मलाई भनिएको थियो–प्रचण्डको अगाडि पर्दा मिठा राम्रा कुरा गर्ने, हाम्रो महान् नेतृत्व भन्ने । कोठाबाट निस्केर गएपछि धारे हात लगाउने सङ्ख्या बढेको छ । मलाई थाहा चाहिँ हुन्थ्यो । को को ले के गर्दछन् भनेर । तर मैले भित्र जे छ, त्यो बाहिर आओस् भन्ने सोचेर नै बैठकलाई नयाँ ढङ्गले लिएर जाने जमर्को गरियो । स्थायी समितिसम्म आउँदा प्रभाकरले भनेजस्तै त्यो राम्रोतिर अगाडि बढेको छ । एउटा भ्रम पार्टी फुट्ला कि भन्ने मैले त प्रभाकरले पार्टी कहीँ फुटाउँदैछन् भनेको पनि छैन । सोचेको पनि होइन । तर भ्रम नै भ्रम, वरिपरीकाले भन्दैजाने, अर्कोले भन्दै जाने गर्दा साँच्चै पार्टी फुटाउन त हिजो पनि प्रतिक्रियावादीहरू लागेका हुन् । आज पनि लागेका छन् । माओवादी पार्टीलाई टुटाउन त प्रतिक्रियावादीहरू लागि नै रहन्छन् । कहीँ न कहीँ आशङ्काको तुवाँलो थियो । स्थायी समिति बैठकको समापनसम्म आउँदा म तपाईँहरूलाई बडो गर्वका साथ भन्न सक्छु–त्यो तुवाँलो हटेको छ । पार्टी फुटको भ्रम चिरिएको छ । र प्रतिक्रियावादी षड्यन्त्रलाई स्थायी समिति बैठकले खारेज गरेको छ । प्रभाकरले पार्टी फुटाउँदैछ भन्ने कुरा असत्य हो भन्ने मान्यता स्थापित गरिएको छ । यो तपाईं हामी सबैको लागि खुसीको कुरा हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन