टप अफ दी वर्ल्ड गल्फ क्लासिक उपाधि विष्टलाई
मुस्ताङ । मुस्ताङ गल्फको तेस्रो संस्करण आयोजक समेत रहेका इन्द्रधारा विष्टले जितेका छन् । विश्वकै अग्लो दाबी गरिएको मुस्ताङ गल्फ कोर्समा शनिबार सम्पन्न तेस्रो संस्करणको टप अफ द वर्ल्ड गल्फ क्लासिकको उपाधि विष्टले जितेका हुन् ।
स्टेवल फोर्ड फूल ह्याण्डिक्यापको फम्र्याटमा खेलाइएको ९ होलको खेलमा विष्टले ३ अन्डर हान्दै २१ स्कोर बटुलेका हुन् । ३ वटा होलमा पार, एउटामा त्रिपल बुगी र ५ वटा होलमा बुगी खेल्दै विष्टले उपाधि कब्जा गरे ।
प्रतियोगितामा नेपाल गल्फ एसोसिएनका उपाध्यक्ष समेत रहेका फुर्साङ लामा दोस्रो भए । उनले ५ वटा होलमा पार, एउटामा डवल बुगी र बाँकी ३ वटा होलमा बुगी हिर्काउँदै २ अन्डर २० स्कोर प्राप्त गरे । पुरुषतर्फको ग्रस उपाधि गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाबाट प्रतिनिधित्व गरेका निर्मल श्रेष्ठले जितेका छन् । उनले १४ स्कोर सहित ग्रस उपाधि पाएका हुन् । श्रेष्ठले तेस्रो होलको ‘पार थ्रि’मा बर्डी हिर्काए भने ४ वटा होलमा पार, एउटा होलमा डवल बुगी र बाँकी ३ होलमा बुगी हिर्काएका प्रतियोगिताका चीफ मार्सल भुवन गुरुङले जानकारी दिए । लगातार २ संस्करणमा उपाधि जितेका काठमाडौँका गल्फर श्याम तामाङ यस वर्ष भने ह्याट्रिक गर्नबाट चुके ।
महिला तर्फको स्पर्धामा पोखराकी बालकाशी गुरुङले उपाधि जितेकी छिन् । अघिल्लो वर्षदेखि गल्फ खेल्न थालेकी गुरुङले पहिलो पटक उपाधि जित्न सफल भएकी हुन् । उनले ५ अन्डर २३ स्कोरको नतिजा निकालिन् । उनी कास्की गल्फ संघकी जिल्ला उपाध्यक्ष हुन् । सोही प्रतियोगितामा धरानकी झुना राई दोस्रो भइन् । उपाधि विजेता गुरुङभन्दा १ स्कोर मात्रै कम पाएकी उनले ४ अन्डर २२ स्कोर प्राप्त गरिन् ।
प्रतियोगिताका उपाधि विजेताहरूलाई ट्रफी पुरस्कार दिइएको थियो । उपाधि विजेता विष्टलाई लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हूर्वू गुरुङले ट्रफी हस्तान्तरण गरे । उनले मुस्ताङ गल्फ कोर्सलाई अन्तर्राष्ट्रियकरण गर्न पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रतियोगिताकै दौरान कोर्स स्तरोन्नतिका लागि हिमालयन टाइगर गल्फ क्लब सेयाटल पोर्टल्याण्डको तर्फबाट अवैतनिक महावाणिज्यदूत एसी शेर्पाले १ हजार अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा ‘लङगेष्ट ड्राइभ’ संयोग शाहीले हिर्काए भने ‘क्लोजेष्ट टू दी पिन’ को ट्रफी महिला गल्फर मेदाङ लामाले प्राप्त गरिन् । कोर्सको तेस्रो होलमा ‘होल इन वान’ र क्लोजेष्ट टू दि पिन राखिएको थियो । ‘होल इन वान’ मा याक पुरस्कार राखिएको भएपनि कसैले उक्त पुरस्कार प्राप्त गर्न सकेनन् । प्रतियोगिता मुस्ताङको लोमान्थाङ गाउँपालिका ५ स्थित लोवथाङको ४ हजार ८ सय मिटर उचाइमा खेलाइएको थियो । मुस्ताङ गल्फ क्लबले ३ वर्षअघिदेखि लोवथाङमा गल्फ कोर्स सञ्चालन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेना र प्रहरीको अस्पतालमा सर्वसाधारणलाई सेवा
-
लोप हुँदै तरबार नाच
-
ट्रम्पका सहयोगी गेट्जमाथि गम्भीर आरोप : कार्यालयभित्रै लागूऔषध सेवनदेखि नाबालिकको यौन शोषणसम्म
-
उर्वर जग्गा रेल्वे ट्र्याकमा परेपछि अन्योलमा किसान
-
नेपाली विद्यार्थीलाई चीनमा सरकारी छात्रवृत्तिको अवसर, खुल्यो दरखास्त
-
१२ बजे, १२ समाचार : सभामुखलाई चिठी पुग्नासाथ रविको सांसदपद निलम्बनदेखि डीपी अर्याल कार्यवाहक सभापतिसम्म