आहुतिका तीन कविता
१) मैले घाँस खान सकिनँ !
माल्दाइ !
मैले घाँस खान सकिनँ !!
तिम्रो प्रशिक्षणमा तिम्रो साथमा बसेर
खाइरहेछन् एक जमात प्राणीहरू घाँस
तर मैले आँखा लगाउन पनि सकिनँ
म एक्काइसौँ शताब्दीको नागरिक हुँ माल्दाइ !
मैले घाँस खान सकिनँ !!
माल्दाइ !
आफ्नो वंश नै फेर्नुपर्ने घाँस खान नसकिने रहेछ
हिमगिरीमा सल्केको भिरङ्गीजस्तो तिम्रो गिरीको म खलक होइन
वेश्यावृत्तिलाई जीवन–कृति ठान्ने कृतघ्न राधाकृष्ण होइन
आमाको गालाबाट तिम्रो जुत्ताको छाला बनाउने
गोरेबहादुर मण्डलको भाँती निकृष्ट पेशेवर नोकर पनि होइन
तिम्रो कलाविहीन नाटकको पात्र गोल्छे जोकर पनि म हुँदै होइन
म एक्काइसौँ शताब्दीको नागरिक हुँ माल्दाइ !
मैले घाँस खान सकिनँ !
माल्दाइ !
बच्चाहरूले नरुचाउने चिज छुन पनि नसकिने रहेछ !
मैले घाँस खान थालेँ भने तिमीलाई सजिलो हुनेछ
सुनाउन पाउनेछौ अनगिन्ती खरीका रूखबाट अनिर्वाचित उर्दीहरू
तर सेरिएको गुलाफी जिब्रोहरू कदापि बोल्ने छैनन्
गुञ्जनेछ तिम्रो जयजयकारमा सहस्राब्दीको शेष विभत्सता
शयनकक्षको हरेक सिँढीमा तिमीले समात्ने
मेरा विवश चेलीका नाङ्गÞा स्तन पनि बोल्ने छैनन्
दूधको सट्टा पीप पिएर टाक्सिन बाध्य हुनेछन् बच्चाहरू माल्दाइ !
नाई ! नाई !! बच्चालाई पीप पियाउने साहस गर्न सकिनँ
म एक्काइसौँ शताब्दीको नागरिक हुं माल्दाइ !!
मैले घांस खान सकिनँ !
माल्दाइ !
पुर्खाले नखाएको चिज खान नसकिने रहेछ !
मैले घाँस खान थालेँ भने पशुहरू छक्क पर्नेछन्
काटिएको आफ्नो टाउको बोकेर आउनेछन् ठुल्बा लखन थापा
उनले घाँस खान निहुरिएको मेरो ढाडमा थुक्नेछन्
सरहदका निम्ति सरहदमै काटिएका आउनेछन् काका बाङ्गे सार्की
उनले मैले खाइरहेको घाँसमा मुत्नेछन्
तर हसिनादेवीलाई थुम्थुमाउँदै
युवा गङ्गालालले मलाई सोध्नेछन् माल्दाइ !
‘तिमी मानिस हौ कि पशु ?’
ग्वार ! ग्वार ! पशु बन्ने रहर गर्न सकिनँ
म एक्काइसौँ शताब्दीको नागरिक हुँ माल्दाइ !
मैले घाँस खान सकिनँ !!
माल्दाइ !
अन्ततः तिमीले पस्किएको घाँस मैले खान सकिनँ !
तिमी नै निर्णय गर मलाई कहाँ काट्ने–
गाउँमा ? सहरमा ? मेरो छाप्रोमा या तिम्रो दरबारमा ?
घाँस नखाँदा कहिलेकाहीँ काटिनुपर्ने
तिम्रो रीत म पूरा गर्नेछु
अन्तिम इच्छा ?!
हा.. हा... हा... !
मानिसको परम्परागत रीतको सम्झना नै काफी छ माल्दाइ !
घाँस खाने प्राणीहरू आज या भोलि
रेटिन्छन् बलीबेदीमा
मानिसहरूको उत्सवमा !!!
००
२) किरो
किरा विशेषज्ञहरू भन्छन्–
किस्मती किराहरू सक्रिय हुन्छन्
पातमा बसे पातै खान्छन्
डाँठमा बसे डांठ ।
परजीवी किराहरू अल्छी हुन्छन्
ती पनि जहाँ झुन्डिन्छन् त्यही अङ्ग खान्छन्
आन्द्रामा घुसे आन्द्रै चुस्छन्
छालामा लुके छाला ।
सूक्ष्म किराहरू खन्चुवा हुन्छन्
तिनको पनि मूल स्वभाव एउटै हुन्छ
रगतमा घुलेर रगतै तान्छन्
खकारमा लुकेर खकार ।
विशेषज्ञहरू भन्छन्–
किराहरू आहारामा टाँस्सिन मन पराउँछन्
जुन चीजमा बस्छन् त्यसैलाई खान्छन् ।
आजभोलि किरा विशेषज्ञ हैरान छन्
किनकि
धर्तीमा भेटियो किराको नयाँ प्रजाति ।
किस्मती किराहरूभन्दा पनि सक्रिय !
परजीवी किराहरूभन्दा अल्छी !!
सूक्ष्म किराहरूभन्दा खन्चुवा !!!
यो किराको प्रजाति
जहाँ जन्मिन्छ
जहाँ बसेर आराम गर्छ
जहाँ टाँस्सिरहन्छ
त्यो चीजलाई पटक्कै खाँदैन
बरू त्यसलाई सिँगारिरहन्छ !
विशेषज्ञहरू भन्छन्–
यो किराले मानिसको रगत खुब मन पराउँछ
गजब त के छ भने
यसले नछोइकनै मानिसको रगत चुस्छ
यसको स्वभाव माकुरासँग मिल्दोजुल्दो छ
यसका बच्चाले पनि प्रायः आमालाई खान्छन् !
विशेषज्ञहरू चिन्तित छन्
मानिसको रगत यति वेगले तान्दै छ यो किरो
लाग्छ नसाहरू क्रमशः खाली हुँदै छन्
रगत निखिएपछि के खान्छ यो किरो ?
सिङ्गै देश
अनि क्रमशः पृथ्वी !
विशेषज्ञहरूले यो नयाँ किराको दुइटा नाम राखेका छन्
वैज्ञानिक नाम हो– जियान्ट सी आई– ५०००
बोलाउने नाम– कुर्सी किरो !
००
३) गहुँगोरो अफ्रिका
मेरो रातो रगत
मानिसको पवित्र रातो रगत
नीलो पसिनाको बुँद बनेर जब झर्दछ
तिमी आफ्ना नरम अञ्जुलीहरूमा आली लगाएर थाप्दछौ
जब म त्यो श्रमको सुवासयुक्त पसिना सुँघ्न खोज्छु
तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ
आँखा जुधाउने आँट गर पुजारी
म बीसौं शताब्दीको ‘अछूत’ हुँ ।
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ ।
म न्याय चाहन्छु
म मुक्ति चाहन्छु ।
तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ
ओदानीमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ
आँखा जुधाउने आँट गर धर्माती मान्छे
कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर
कि मेरो अपमान गर्ने शास्त्रका पानाहरूलाई
च्यात्ने या जलाउने साहस गर
म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ ।
तिम्रो बस्तीको सफा भुइँलाई सुँघ
बस्तीको हर चोक्टामा मेरो रगतको गन्ध आउँछ
आँखा जुधाउने आँट गर सफा मान्छे ।
कि मेरो रक्त नलीहरूमा पानी भर
कि आफ्नो दिमागको फोहोर सफा गर
म तिम्रो बस्तीको फोहोर सोहोर्ने च्यामे हुँ ।
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ ।
तिम्रो मनका मनोरञ्जित ग्रन्थीहरूलाई च्यात
त्यहाँ मेरो सङ्गीतको मधुर सरसराहट सुनिन्छ
आँखा जुधाउने आँट गर चेतनायुक्त मान्छे ।
कि मलाई जनावरसंग बाँध र घाँस खुवाउने आँट गर
कि तिमी आफूलाई जनावरभन्दा फरक पार्ने साहस गर
म सारङ्गी रेट्ने, मादल ठोक्ने, गाइने हुँ–वादी हुँ ।
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ ।
माटोमा धस्सिएको मेरो जीवनलाई छाम
त्यहाँ मेरो आँसुको आहाल भेटिन्छ
आँखा जुधाउने आँट गर अघाएको मान्छे ।
कि तिम्रो गाँसमा मेरो आँसुको गन्ध छैन भन्ने आँट गर
कि मेरो दलित जीवनको सम्मान गर्ने साहस गर
म तिम्रो गोरुसँगै माटोमा पौडिने मुसहर हली हुँ ।
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
तिम्रो पैतालाको जुत्तादेखि शिरको टोपीसम्म
तिम्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्म
म कहाँ छैन ? म सर्वत्र छु ।
मलाई तिमी कसरी ’अछूत’ बनाउन सक्छौ ‘छुत’ मान्छे ?
कि इतिहासको कठघरामा उभिने आँट गर
कि आफूलाई बदल्ने साहस गर
आँखा जुधाउने आँट गर पुजारी ।
म बीसौं शताब्दीको ‘अछुत’ हुँ ।
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ ।
म अपमानित इतिहासको हिसाब चाहन्छु
म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु ।