बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

कुलमानलाई ऊर्जामन्त्रीको जवाफ : उद्योगको लाइन काटेर बस्नु घाँटी काट्नु सरह हो

शनिबार, ०१ भदौ २०८१, १५ : ४५
शनिबार, ०१ भदौ २०८१

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगहरूमा विद्युत् काट्नु नहुने बताएका छन् । शनिवार नेपाल विद्युत् प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम नतिर्ने उद्योगहरूको विद्युत् काट्नु नहुने बताएका हुन् । 

उनले सरकारले उद्योगीहरूले विद्युत् उपभोग गरेको रकम तिर्नुपर्दैन नभनेको भन्दै तिर्ने कुरा न्यायोचित छ वा छैन भन्ने कुराको जिम्मेवारी राज्यले लिनुपर्ने बताए । उनले बक्यौता रकम नतिर्ने उद्योगहरूलाई दण्ड, सजाय र जरिवाना गर्ने विकल्प हुँदाहुँदै एकैचोटी विद्युत् काट्नु नहुने बताए । 

उद्योगको लाइन काटेर बस्नु भनेको एउटा घाँटी काट्नुसरह भएको भन्दै मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई उद्योगको लाइन नकाट्न निर्देशन दिए ।

उनले भने, ‘अघि साथीहरूले भन्दै हुनुहुन्थ्यो ट्रंकलाइनको कुरा । विद्युत्का पैसा नतिरेका कुरा । विद्युत् प्रयोग गरेबापत पैसा तिर्नुपर्छ । र त्यसको मूल्य निर्धारण भएको छ । एउटा सामान्य झुपडीमा बस्ने मान्छेले त बत्ती नबाल्दा त ३० रुपैयाँ तिरिराखेको छ भनेपछि प्रयोग गरेको चिज तिर्नुपर्दैन र ? प्रधानमन्त्रीज्यूले पनि यही भन्नुभएको छ । यो केही व्यावसायिक साथीहरूको विषयमा उठेको प्रश्न हो । केही बक्यौताको कुरा हो । मैले पनि त्यही भनिराखेको छु । मैले अहिलेसम्म कसैले तिर्नुपर्दैन भनेको सुनेको छैन । तिर्नुपर्ने कुरा कति न्यायोचित छ कि छैन भन्ने कुराको जिम्मेवारी चाहिँ राज्यले लिनुपर्छ । ठिक छ, कहीँ कसैले बदमासी गरेको छ । दण्ड, सजाय हुन्छ । जरिवाना हुन्छ । तर दण्ड, सजाय, जरिवाना घाँटी काटेर हुँदैन । घाँटी काट्ने भनेको अन्तिम कुरा हो । एउटा उद्योगको लाइन काटेर बस्नु भनेको एउटा मान्छेको घाँटी काट्नु सरह हो । घाँटी काटिसकेपछि के बाँकी रह्यो ? त्यहाँ श्रमिक होलान् । त्यहाँ मजदुर होलान् । काम गर्ने मान्छे ज्यालादारी होलान् । दिनभरि काम गरेर बेलुका खानुपर्ने आश्रित वर्ग होला त्यहाँ । त्यो उसको उत्पादन होला । त्यहाँबाट राजश्व सङ्कलन होला । यदि तिरेनन् भने त जफत गर्ने कानुन छ नि । कानुनहरूको प्रयोग गर्नुपर्‍यो । एकैचोटी अन्तिम ठाउँमा पुग्नु भएन भनेको मात्रै हो । तिर्नु हुँदैन । लुटेर खानुपर्छ भन्ने मान्यता सरकारले राख्ला ? यस्तो दुष्प्रचार गर्नुहुन्छ ? हामी स्रोत, साधन हुँदा हुँदै पनि आर्थिक हिसाबले गरिब हुँला । तर मानसिक हिसाबले पनि गरिब हुनेप्रति मलाई दुःख लागेको छ । मानसिक हिसाबले गरिब हुन नेपालीहरूलाई छुट छैन । यतातिर लाग्नु हुँदैन । यस्ता दुष्प्रचारमा हामी रुमल्लिनु हुँदैन । अब अगाडी बढ्नुपर्छ । हामीलाई कुनै छुट छैन पछाडि फर्किने ।’

मन्त्री खड्काले ऊर्जा क्षेत्रले नै देशलाई समृद्ध बनाउने भन्दै सोही अनुरूप ऊर्जा क्षेत्रको स्रोत, साधन परिचालनमा सरकार लागेको बताए । उनले विद्युत्को बढी उत्पादन भएसँगै उपभोगलाई पनि बढाउनुपर्ने जिकिर गरे । 

विद्युत्को उपभोगलाई बढाउनका लागि बढी उपभोग गर्नेहरूलाई सहुलियत दिनुपर्ने उनको भनाई थियो । उनले देशका सबै ठाउँमा चार्जिङ स्टेसन राख्नुपर्ने भन्दै नीतिगत रूपमा मिलाएर यसमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने बताए

कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सरकारले नेपालभर विद्युतीय ट्याक्सी सञ्चालन गर्नेबारे सोचिरहेको बताए । उनले विद्युत् प्रसारण गर्ने तार कहीँ कतै पनि सिधा नदेखिएको भन्दै कसको कमजोरी हो ? भनेर प्रश्न गरे । 

विद्युत्का खम्बाहरू पनि अव्यवस्थित रूपमा गाडिएको बताउँदै तामाङले विद्युत्को तार र खम्बाहरू अव्यवस्थित रूपमा राखिएको पाए सम्बन्धित शाखाका कर्मचारीहरूलाई विभागीय कारबाही गर्ने चेतावनी दिए । उनले विद्युत् प्राधिकरण नाफामा गयो भनेर धेरै बोनस नबाँड्न पनि प्राधिकरणलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप