आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

प्रतिभावान् खेलाडी छनोट विधि

शनिबार, ०१ भदौ २०८१, १५ : ४५
शनिबार, ०१ भदौ २०८१

अन्तर्राष्ट्रिय खेलकुद जगत्मा सफल हुनका निम्ति कम उमेरमै खेलाडीको प्रतिभा वा क्षमता पहिचान गरिन्छ र त्यस क्षमतालाई अभिवृद्धि गर्न व्यवस्थित प्रशिक्षण दिइन्छ । 

स्वस्थ रहन र रमाइलोका जोसुकैले कुनै खेल खेल्न सक्छन् तर थोरै व्यक्तिले मात्रै खेल जगतमा उच्च सफलता हासिल गर्छन् । 

अन्तर्राष्ट्रिय खेलकुद जगत्मा सफल राष्ट्रहरूको अनुभवले यो सिद्ध गरेको छ कि सानैमा प्रतिभा पहिचान भएका खेलाडीले नै पछि गएर अन्तर्राष्ट्रिय स्तरमा सफल भएका छन् । त्यसैले सानै उमेरमा व्यक्तिभित्र रहेको खेला प्रतिभालाई पहिचान गरेर दीर्घकालसम्म वैज्ञानिक तरिकाले कठोर प्रशिक्षण र निरन्तर रूपमा प्रतियोगितामा सहभागी पनि गराउनुपर्ने हुन्छ । 

त्यस्तो व्यक्ति वा विद्यार्थी, जसलाई वैज्ञानिक प्रशिक्षणका माध्यमबाट कुनै खेलका लागि विकास गर्न सकिन्छ, उसैलाई भविष्यको प्रतिभावान् खेलाडी मान्न सकिन्छ ।

प्रतिभा लुुकेको खेलाडीका लागि वंशानुगत क्षमताले पनि प्रभाव पारेको हुन्छ । यस्तै, ऊ हुर्केको समाज र देशको खेलकुद वातावरणले पनि उसको प्रतिभालाई प्रभाव पार्छ । कुनै विद्यार्थीमा कुनै खेलसम्बन्धी न्यूनतम आधारभूत क्षमता देखिँदैन भने जतिसुकै वैज्ञानिक तरिकाले कठोर प्रशिक्षण दिए पनि सोचे अनुसारको लक्ष्य प्राप्त गर्न गाह्रो हुन्छ । 

आस्ट्रान्ड र रोडाल (१९८६) का अनुसार खेल प्रतिभा भएको व्यक्तिलाई वंशानुगत गुणले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्ने हुन्छ । खेलाडीमा प्रतिभा भए पनि ऊ हुर्केको वा बसेको समाज वा देशले खेलका लागि कस्तो वातावरण उपलब्ध गराएको छ भन्नेले पनि अर्थ राख्छ । वैज्ञानिक प्रशिक्षण दिन सक्ने आवश्यक जनशक्तिको उपलब्धता र उसको क्षमतालाई प्रस्फुटन गराउने खालका प्रतियोगिताहरु नहुँदा पनि कतिपयको खेल प्रतिभा त्यसै खेर गइरहेको हुन्छ । अर्कोतिर उसले कुनै दबाब वा तनावविना खेलमा लाग्ने अवसर पनि पाउनुपर्छ ।

विभिन्न विज्ञानको सहायताबाट पनि व्यक्ति कुन खेलका लागि प्रतिभावान् हो भनेर यकिनका साथ भन्न सकिरहेको अवस्था पाइँदैन । यी विज्ञानको सहायताले जीवयान्त्रिक प्यारामिटर (जस्तै ः अक्सिजन लिन सक्ने क्षमता, शरीरमा भएको मांसपेशी अनुपात अर्थात् छिटो र ढिलो तन्कने वा खुम्चने मांसपेशी) पत्ता लगाउन सके पनि पर्याप्त हुँदैन । मानव स्नायु प्रणालीको अध्ययन र मनोविश्लेषणबाट पनि सम्भावना बोकेको खेलाडीका बारेमा यकिनका साथ भन्न सकेको पाइँदैन । अर्थात् प्रतिभावान् खेलाडीको पहिचान गर्न सहज छैन । यद्यपि विभिन्न देशमा खेलकुदविज्ञ, वैज्ञानिक, प्रशिक्षकहरुले यस क्षेत्रमा काम गरिरहेका छन् । वैज्ञानिकले खासगरी मानिसको वंशानुगत विज्ञानको सहायताले प्रतिभावान् खेलाडी पत्ता लगाउने क्षेत्रमा गरिरहेका छन् । 

साधारणतया पुरुषहरूको कुम (काँध)को चौडाइ नितम्बको चौडाइभन्दा फराकिलो हुन्छ । महिलाहरूमा प्राकृतिक रूपमै नितम्बको चौडाइ कुमको चौडाइभन्दा बढी हुन्छ । कुनै छात्राको नितम्बभन्दा कुमको चौडाइ ठुलो छ भने ऊ कुनै छोटो दूरीको दौड र जम्पिङजस्ता वेग र शक्ति लगाउनुपर्ने खेलका निम्ति उपयुक्त हुन सक्छन् ।

प्रतिभावान् खेलाडीको पहिचानका लागि विभिन्न देशमा फरक–फरक तरिका अपनाएको पाइन्छ । सन् १९६० र १९७० को दशकमा धेरैजसो पूर्वी युरोपका देशले खेलाडीको प्रतिभा पहिचान र प्रस्फुटनका लागि वैज्ञानिक तरिका अपनाएर ओलम्पिक र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेख्य सफलता प्राप्त गरिसकेको उदाहरण पाइन्छन् । 

विभिन्न खेलकुदका वैज्ञानिक अनि अनुभवी प्रशिक्षकको सामूहिक प्रयासले अन्तर्राष्ट्रिय खेलकुदका प्रतियोगिताका प्राप्त गरेका नतिजालाई नाटकीय भन्दा बढी मान्नुपर्छ । यस क्षेत्रमा सबैभन्दा बढी सफलता पाएको पूर्वी जर्मनको उदाहरण अग्रपंक्तिमा आउँछ । 

सन् १९७२ को ओलम्पिकमा पूर्वी जर्मनका केही स्वर्ण पदक विजेता खेलाडीलाई प्रतिभावान् खेलाडीका रूपमा सानै उमेरमा छानिएको थियो । त्यस्तै सन् १९७६ को ओलम्पिकमा बुल्गेरियाका करिब ८० प्रतिशत पदक विजेता यसरी नै प्रतिभावान् खेलाडीका रूपमा बाल्यकालदेखि नै छानिएका थिए । 

डुङ्गा खियाउने (रोइङ) खेलका विशेषज्ञको समूहले २७ हजार युवतीबाट १०० जना प्रतिभावान् खेलाडीका रूपमा छानेका थिए । त्यसमा पनि सन् १९८७ सम्म आइपुग्दा २५ जनालाई उत्कृष्टका रूपमा छानिएको थियो र सन् १९८० को मस्को ओलम्पिकमा तिनै खेलाडीले एक स्वर्ण दुई कास्य प्राप्त गरेका थिए । 

त्यस्तै, सन् १९७० मा छानिएको अर्को समूहले १९८४ को लसएन्जल्स ओलम्पिकमा पाँच स्वर्ण, एक रजत र सियोल (१९८८) ओलम्पिकमा नौवटा पदक जित्न सफल भएका थिए । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिभा पहिचान र विकासको नीति अँगाल्ने राष्ट्रहरूमा पूर्वी जर्मन अग्रपंक्तिमा आउँछ । त्यसवेला पूर्वी जर्मनको कम्युनिस्ट सरकारले प्रतिभा पहिचान र विकास कार्यक्रमलाई पूर्ण रूपमा समर्थन गरेको थियो र निकै सफलता पनि प्राप्त गरेका थिए । 

त्यस बेला ती खेलमा विद्यालयका स–साना विद्यार्थीका बिचमा वैज्ञानिक प्रतिभा पहिचान गरिन्थ्यो । पूर्वी बर्लिनको सिलेन्वाइन्डर खेलकुद स्कुल प्रतिभा पहिचानका लागि लागि विशेष रूपमा चिनिन्थ्यो । त्यहाँ जिम्नास्टिक जस्ता खेलका निम्ति कक्षा ३ देखि प्रतिभा छनोट गरिन्थ्यो भने भारत्तोलन, ‘रोइङ’जस्ता खेलहरूका लागि कक्षा ९÷१० का विद्यार्थीबाट प्रतिभा छनोट गरिन्थ्यो । यस कारण यस स्कुलबाट तयार गरिएका खेलाडीले कुनै एक राष्ट्रले प्राप्त गरेको ओलम्पिक पदकभन्दा बढी पदक प्राप्त गरेका छन् । 

हामीलाई थाहा छ कि सन् १९९० मा दुवै जर्मनीको एकीकरण भएदेखि सन् २००० सम्म जर्मनीको ओलम्पिक टिमको प्रदर्शन त्यति राम्रो मान्न सकिँदैन । पदक तालिकामा प्रथम पाँचभित्र परे पनि प्रत्येक ओलिम्पिकमा जर्मनीको पदक संख्या घट्दै गइरहेको पाउँछौँ । सन् १९९० मा एकीकरणपश्चात् कम्युनिस्ट खेलकुद प्रणाली भनेर हेय वा घृणा दृष्टिले हेरे पनि सन् १९९२ देखि १९९६ का ओलम्पिकमा जति पदक जितेका थिए, त्यसको दुईतिहाइ पदक पूर्वी जर्मनीका खेलाडीले जितेका थिए । त्यस्तै सन् २००२ को विश्वकप फुटबलका प्रथम ११ खेलाडीमध्ये ६ खेलाडी पूर्वी जर्मनीका थिए । हाल आएर संयुक्त जर्मनी सरकारले पूर्वी जर्मनीको पहिलेको खेलकुद नीतिलाई बिस्तारै अँगालेको छ । त्यहाँ खेलकुद स्कुलहरुलाई केन्द्रीय सरकारले प्रत्यक्ष सहयोग गर्न थालेको पाइन्छ । 

कम जनसंख्या भएको देश अस्ट्रेलियाको गएको पाँच ओलम्पिक पदक तालिका हेर्ने हो भने उक्त देशको पदक संख्या बढ्दै गएको पाउँछौँ । अस्ट्रेलियाले पनि पूर्वी जर्मनीको खेलकुद प्रतिभा पहिचान र विकासका केही पद्धतिलाई सन् २००० को सिड्नी ओलम्पिकभन्दा अगाडिदेखि नै अँगालेको पाइन्छ । 

  • गएका पाँच ओलम्पिक खेलकुद प्रतियोगितामा पाँच उत्कृष्ट देशका पदक (प्रतिशतमा)

pdf1

माथिको तालिकाबाट प्रतिभावान् खेलाडीको पहिचान र विकासका नीति अँगालेका देशको पदक जित्ने प्रतिशत वृद्धि हुँदै गएको पाइन्छ । जर्मनीको पदक संख्या प्रतिशत प्रत्येक ओलम्पिकमा कम हँुदै गएको पाइन्छ । अर्कोतर्फ अत्यधिक र कम जनसंख्या भएका देशहरू (क्रमशः चीन र अस्ट्रेलिया)को पदक प्रतिशत बढ्दै गएको पाइन्छ । 

नेपालजस्तो विकासोन्मुख देशमा खेलकुदको महत्त्व नबुझिएको अवस्था छ । हामीकहाँ खेलकुदका लागि खास नीति तथा कार्यक्रमको कमी छ । यस्तै वैज्ञानिक प्रशिक्षण र खेल सम्बन्धी अनुसन्धानलाई जोड दिइएको पाइँदैन । त्यसैले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद जगत्मा सफल हुन नसकिरहेको अवस्था छ ।

खेलकुदमा प्रतिभा पहिचान र त्यसको वैज्ञानिक विकास अति जटिल विषय हो । यो अतिरिक्त क्रियाकलापलाई व्यवस्थित, व्यावहारिक र वैज्ञानिक रूपमा अगाडि लैजान आवश्यक छ । अर्कोतर्फ नेपालमा खेलकुद विज्ञानको पूर्ण विकास नभइसकेको अवस्था छ । यस क्षेत्रको ज्ञान समस्त खेलाडी वर्ग र खेलकुद प्रशिक्षकले राम्ररी अध्ययन मनन गरी व्यवहारमा ल्याउने कार्यको थालनी भइनसकेको मैले महसुस गरेको छु । 

हाम्रो देशमा केही खेलमा स्वदेशी र विदेशी साधन तथा स्रोतको उपयोगमा विगतमा र हाल पनि खेलकुद प्रतिभा पहिचान गरी कार्यक्रम सञ्चालन भएको र गरिरहेको पाइन्छ । यस्ता कार्यक्रम के–कस्तो अवस्थामा सञ्चालन भए भन्ने कुरा वैज्ञानिक अनुसन्धानको विषय हुन सक्छ । भविष्यमा यस्ता कार्यक्रम सञ्चालन गर्दा सफल देशबाट सिक्नुपर्ने हुन्छ । उनीहरुको अनुभव र प्राप्त सफलताका बारेमा जानकारी दिनेतर्फ ध्यान दिन नसकेको पाइन्छ ।

वंशानुगत क्षमता र सानैमा पाउने वातावरणले प्रतिभावान् खेलाडीले केही न केही लक्षण देखाएको हुन्छ । कुनै विद्यार्थीमा त्यस्ता न्यूनतम आधारभूत क्षमता नभएको खण्डमा जतिसुकै वैज्ञानिक तरिकाले कठोर प्रशिक्षण गर्दा पनि सोचे अनुसारको लक्ष्य प्राप्त गर्न गाह्रो हुन्छ । 

प्रतिभावान् खेलाडीको छनोट गर्ने धेरै तरिकामध्ये विनाउपकरण र विनाप्रविधि कसरी खेलाडी छनोट गर्न सकिन्छ भन्ने यहाँ चर्चा गरिँदै छ । 

  • खेलाडीको विभिन्न अंगको परीक्षण 

विशेषगरी छात्राका औँलाहरू, कुमको चौडाइ, पैतालाको किसिम (सम्म परेको वा आर्कयुक्त) आदि अवस्थाबाट राम्रो प्रतिभा भएको खेलाडी छुट्ट्याउन सकिन्छ । 

 

1

(महिला राष्ट्रिय भलिबल टिमका खेलाडी माथिदेखि तल क्रमशः आरती शाह, मनीषा चौधरी, मन्जु गुरुङ, विनिता बुढाथोकी, रेश्मा बुढायर उषा विष्ट र कोपिला उप्रेती नेविका चौधरीको हात ।)

प्रस्तुत हातका तस्बिरहरू अरु कसैको नभएर १२औँ दक्षिण एसियाली खेलकुदमा सहभागी हुन गइरहेका महिला भलिबल टिमका खेलाडीका हुन् । अचम्म के छ भने राष्ट्रिय भलिबल टिमका सबै भलिबल खेलाडीका चौथो औँला (साइँली औँला) चोर औँला (दोस्रो औँला)भन्दा अलि लामा छन् । त्यसैले त उनीहरू राष्ट्रिय भलिबल टिममा छनोट हुन सफल भएका छन् । 

हाम्रा प्रशिक्षक र खेलकुद शिक्षकलाई अनुरोध गर्न चाहन्छौँ कि आफ्ना विद्यार्थीको पन्जालाई ध्यानपूर्वक हेर्नुहोस् । धेरैजसो छात्राको चोर औँला र साइँली औँलाको लम्बाइ बराबर हुन्छ । 

साधारणतया सामान्य नारीको पन्जामा यस्तै पाउनुहुन्छ, तर कुनै छात्राको देखाएजस्तै चोर औँलाभन्दा साइँली औँला लामो भेटाउनुहुन्छ, यसो हो भने ढुक्क हुनुहोस् कि उनीहरू वेग र शक्ति लगाउनुपर्ने खेलका निम्ति उपयुक्त छन् । 

  • के कारणले यस्तो हुन्छ ?

साधारणतया छात्राहरू वा महिलाहरूको चोर औँला र साइँली औँलाको लम्बाइ बराबर हुन्छ, तर आमाको पेटमा रहेको भ्रूणको विकासको तेस्रो महिनामा टेस्टोस्टेरोन (पुरुष सेक्स हर्मोन)को मात्रा केही बढी भएमा उनीहरूमा बढी पुरुषत्व र आक्रामक व्यवहार देखापर्ने हुन्छ । त्यसैले कुनै छात्राको हातमा चोर औँलाभन्दा साइँली औँला लामो भएमा खेलकुद क्रियाकलापका निम्ति उपयुक्त हुन्छन् । 

साइँली औँला लामो भएमा फ्याँक्ने क्रियाकलाप गर्दा बिचको औँलासँग मिलेर वस्तुमा स्थिरता र ठिक ठाउँमा ल्याउन वा पु¥याउन मद्दत गर्ने हुन्छ । त्यसैले साइँली औँला लामो भएका छात्रा विभिन्न खेलकुदका निम्ति प्रतिभावान् हुन्छन् । 

1

साधारणतया पुरुषहरूको कुम (काँध)को चौडाइ नितम्बको चौडाइभन्दा फराकिलो हुन्छ । महिलाहरूमा प्राकृतिक रूपमै नितम्बको चौडाइ कुमको चौडाइभन्दा बढी हुन्छ । कुनै छात्राको नितम्बभन्दा कुमको चौडाइ ठुलो छ भने ऊ कुनै छोटो दूरीको दौड र जम्पिङजस्ता वेग र शक्ति लगाउनुपर्ने खेलका निम्ति उपयुक्त हुन सक्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिवाकर लाल अमात्य
दिवाकर लाल अमात्य
लेखकबाट थप