बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय
नियात्रा

श्रीलङ्कामा सात दिन...

शनिबार, ०१ भदौ २०८१, १४ : ००
शनिबार, ०१ भदौ २०८१

आँसुको थोपा आकारको नक्सा भएको दक्षिण एसियाको एउटा द्विपीय देश श्रीलङ्कामा पाइला टेक्ने अवसर मिल्यो, पोहोर साल माघको पहिलो साता । विमानस्थलका सबै प्रक्रिया पूरा गरेर बाहिर निस्केपछि ढोकैमा त्यहाँको लोक संस्कृति झल्कने बाजागाजासहितको एउटा नृत्य टोली आगन्तुकलाई नाच देखाइरहेको थियो । 

काठमाडौँमा माघको चिसोले आत्तिएका हामीलाई त्यहाँको न्यानो हावाको स्पर्शसँगै नृत्य टोलीको स्वागतले रोमाञ्चित तुल्यायो । करिब दुई करोड मानिसले बसोबास गरेको यस देशमा बहुसङ्ख्यक रूपमा सिंहाली जाति र त्यसपछि तमिलहरू रहेछन् । 

विश्वमै पहिलो महिला प्रधानमन्त्री भएको देश, करिब ९२ प्रतिशत जनता साक्षर भएको देश, उच्च प्रतिव्यक्ति आय साथै सबैभन्दा धेरै जैविक विविधता भएको देश भनेर चिनिन्छ  श्रीलङ्का । सन् १५०५ मा पोर्चुगिजहरू यहाँ आएर यसको नाम ‘सिलाओ’ राखे । तत्पश्चात् ब्रिटिसकालमा सिलोन र सन् १९७२ बाट श्रीलङ्का रहन गएको रहेछ । श्रीजयवर्धनपुरा कोट्टे र कोलम्बो समेत गरी दुईवटा राजधानी भएको यो विश्वको एउटा अनौठो देश पनि हो । 

हामीलाई लिनका लागि विमानस्थलमै त्यहाँका एकजना सम्पर्क व्यक्ति आएका थिए । उनीसँगै हामी ६ जना नेपाली टोली पनि बदुल्ला (बेडुला)का लागि निस्कियौँ । गम्पहा जिल्लाको एउटा रेस्टुरेन्टमा दिउँसोको खाना खाएर अगाडि बढ्यौँ । सडकका दायाँबायाँ दुवैतिर घना जङ्गल र नरिवलका अग्ला–अग्ला रुख छिचोल्दै हाम्रो गाडी एकनासले गुडिरहेको थियो । बाटोमा पर्ने विश्वसम्पदा सूचीमा परेको सिगिरिया थप अनौठो लाग्यो । बाटोको छेवैमा पर्ने यस ठाउँमा रातो ठुलो (करिब २०० मिटर अग्लो) एउटा ढुङ्गो रहेछ । त्यसको माथि कुनै बेलाको शक्तिशाली राजाको दरबारको भग्नावशेष रहेछ । तलतिर चारैतिर जङ्गलै जङ्गलको हरियालीले यस ठाउँलाई अरु सुन्दर बनाएको थियो । पहिले यो दरबारको निर्माण रावणका पिता विश्रवाले गरेको भनिन्थ्यो, अचेल रावण स्वयंले निर्माण गरेको भनिँदो रहेछ । जसका पालामा जसले बनाएको भए पनि टाढैबाट हेर्नेबित्तिकै यस दरबारले बेग्लै प्राचीनताको आभास गराउँछ । 

एक किंवदन्ती अनुसार रावणकी आमा कैकसी शिवभक्त थिइन् । आमालाई पूजा गर्नका लागि त्यहाँ भएको शिवलिङ्ग निकाल्न खोज्दा ननिस्केपछि रावण रिसाएर यो सिङ्गै ढुङ्गा नै काटेर लैजान खोजेका थिए । अहिले पनि एकातिरको चट्टान तरबारले चट्ट दुई भागमा कसैले काटेको जस्तै देखिन्छ ।

बाटोको चारैतर्फ ठुल्ठुला अजङ्गका रुख र अकासै छुन तँछाडमछाड गर्ने लहराहरूले गर्दा अँध्यारो सुरुङमा हिँडेजस्तो पनि भएको थियो । मानिसहरू बस्ने घर र होटलहरू भने ठ्याक्कै ढोकामै पुग्दा मात्र देखिन्थ्यो । घना जङ्गलबिचमा सानो सियोजस्तो लाग्ने सडक हुँदै अगाडि बढ्दा कताकता लाग्थ्यो, हामी कतै गलत ठाउँमा त जाँदै छैनौँ ! आखिर मान्छेको मन न हो, एकै क्षणमा के के सोच्छ सोच्छ, पत्तै पाइँदैन । 

साँझको ७ बज्नै लाग्दा हामी बदुल्लास्थित होटलको गेटमा पुग्यौँ । हिउँदको छोटो दिन भएकाले अँध्यारोले झपक्कै छोपिसकेको थियो । होटलको काउन्टरमा प्रवेश गर्नेबित्तिकै करिब पाँच फिट जति अग्लो खण्ड–खण्ड भएको एउटा सुन्दर पानसमा बत्ती बाल्न लगाएर होटल व्यवस्थापनले स्थानीय बाजासहित हाम्रो भव्य स्वागत गरे । त्यसपछि आएका आगन्तुकलाई स्थानीय रूपमा बनाइएको एक–एक गिलास चिसो पेयले स्वागत गरियो । 

खाना खाने हलमा एकजना व्यक्तिले मिठो स्वरमा गीत गाइरहेका थिए । सिंहाली भाषाको गीत भएकाले बुझ्न सम्भवन भएन तर उनले हामीलाई मनैदेखि स्वागत गरिरहेका छन् भन्ने प्रस्ट देखिन्थ्यो । 

होटल व्यवस्थापनको पाटो हेर्दा कतैबाट पनि खोट लगाउने ठाउँ थिएन, बरु मिल्ने भए पटक–पटक यही ठाउँमा आइरहन पाए हुन्थ्यो जस्तो लाग्यो । बाहिर सिमसिम पानी परिरहेको भए पनि भोलिपल्ट हामी सबै बिहानैबाट होटल कम्पाउन्डभित्र भएको रङ्गीविरङ्गी फूलहरू भएको बगैँचा र स्विमिङ पुलको सुन्दर दृश्यहरू आ–आफ्नो मोबाइलमा कैद गर्न लाग्यौँ । यी फोटोहरूले पछिसम्म पनि त्यस ठाउँको यादलाई ताजगी गरिराख्ने नै छन् । त्यसपछि बिहानको खाजा खाएर कार्यक्रम अनुसार हामी त्यहाँबाट बिदा भयौँ । 

दोस्रो दिनको हाम्रो गन्तव्य ट्रिन्कोमाली थियो । यो ठाउँ सुन्दर समुद्री किनारा र अनगिन्ती मन्दिरका कारणले प्रख्यात रहेछ । हामी सिधै हिन्दु मन्दिर कोनेश्वरम (थिरुकोनमलाई कोनेसर) तिर लाग्यौँ । तीनतिरबाट हिन्द महासागरले घेरेको अजङ्गको चट्टानको टुप्पोमा बनेको यो मन्दिर निकै आकर्षक रहेछ । मन्दिरको वरिपरि चित्तल, मृग र मयुरहरू प्रशस्त सङ्ख्यामा देखिन्थे । मृगहरू त मानिस देखेपछि खानेकुरा दिन्छन् भन्ने आशाले झन्झन् नजिक आउँदा रहेछन् । मन्दिरबाहिर नै शिवको एउटा ठुलो मूर्ति रहेछ, तर यो मूर्ति हामीले नेपालमा देखिराखेको शिवका मूर्तिहरू भन्दा केही फरक खालको लाग्यो । 

मन्दिरभित्र हिन्दु देवी–देवताका मूर्ति ठाउँठाउँमा राखिएका थिए । बाहिर सबैभन्दा तल अर्थात् समुद्रतिर रावणको पूरा कदको दुई हात जोडेर मन्दिरतर्फ फर्किएको मूर्तिले यहाँको शोभा अझ बढाएको देखिन्छ । एक किंवदन्ती अनुसार रावणकी आमा कैकसी शिवभक्त थिइन् । आमालाई पूजा गर्नका लागि त्यहाँ भएको शिवलिङ्ग निकाल्न खोज्दा ननिस्केपछि रावण रिसाएर यो सिङ्गै ढुङ्गा नै काटेर लैजान खोजेका थिए । अहिले पनि एकातिरको चट्टान तरबारले चट्ट दुई भागमा कसैले काटेको जस्तै देखिन्छ । त्यहाँको दृश्यावलोकनपश्चात् समुद्रको किनारासँगै रहेको हामी बस्ने होटलमा आयौँ । एसियाको सबैभन्दा राम्रा समुद्री किनारा श्रीलङ्कामै छन् भनिँदो रहेछ । हामीले पनि त्यो साँझ त्यहाँको दृश्यको भरपूर आनन्द लियौँ । तमिलहरूको बाहुल्य भएको यस भूभागका जनताको अवस्था अवलोकन गरौँ भन्ने ध्येयले त्यस साँझ होटल नजिकैको बजारतिर गएर बितायौँ । 

तेस्रो दिनको यात्रा गोल्डेन टेम्पल दम्बुलाको थियो । यो मन्दिर मताले जिल्लाको क्यान्डीमा पर्दो रहेछ । महिला वा पुरुष कसैले पनि यहाँका बौद्ध मन्दिरभित्र छोटो लुगा लगाएर पस्न नपाइने रहेछ । यस मन्दिरभित्र बुद्धको सुनौलो रङ्गको बडेमानको मूर्ति, म्युजियम, गुफा आदि रहेछन् । 

त्यहाँबाट करिब ६०० वटा सिँढी उक्लेपछि केही सम्म परेको स्थानमा अर्काे मन्दिर र म्युजिएम बनाइएका छन् । यहाँबाट सजिलै धेरै टाढासम्म देख्न सकिन्छ । धेरै ठुल्ठुला ढुङ्गाको पहाड त्यो पनि सगरमाथा जत्तिकै अग्लो लाग्ने । त्यहाँ पुगेपछि मलाई लागेको थियो, म संसारकै अग्लो ठाउँमा छु कि ! 

सँगै गएका मित्रहरू कता लागे कुन्नि ! म त त्यहीँ थुचुक्क बसेर टाढा टाढासम्म नियालेँ— परपरसम्म, आँखाले भ्याएसम्म । मेरो मन आफ्नो प्यारो गाउँ जुम्ला पुग्यो । म मन्त्रमुग्ध भएँ । म आफ्नै मनलोकमा ओहोरदोहोर गरिरहेकी थिएँ । यस्तै डाँडामाथि बसेर ठाडी भाका हालेर देउडा गीत गाएको सम्झँदै दिवास्वप्नामा हराइरहेकी रहेछु, एकजना भाउजू आएर धाप मार्दै मेरो फोटो खिची दिनु न भन्दा पो झसङ्ग भएँ ।

मैले आजसम्म हाम्रो देशको रुपैयाँको मूल्यभन्दा कम मूल्य भएको देश जाने अवसर पाएकी थिइनँ । यहाँ त हाम्रो एक रुपैयाँ बराबर २.२५ श्रीलङ्कन रुपैयाँ हुँदोहेछ । जे किन्दा पनि सस्तोजस्तो लाग्ने ।

त्यसपछि हामी १५९७ देखि १८१५ सम्म श्रीलङ्काको राजधानी भएको क्यान्डी आइपुग्यौँ । कैयौँ कथा र कहानी आफ्नो छातीमा लुकाएर मुस्कुराइरहेको थियो क्यान्डी । यो सहर मात्र होइन, हरियालीले भरिएको जङ्गल जस्तो पनि लाग्यो । अगाडि महावेली नदी शान्त र सालीन भएर बगिरहेको थियो । यस नदीले संवेग र भावुकता कति हो कति बगाइसकेको थियो । त्यहाँ हामीले स्थानीय सांस्कृतिक कार्यक्रम हे¥यौँ । कलिलादेखि पाका उमेर समूहसम्मका व्यक्तिले आ–आफ्नो क्षमता अनुसार आगोमा हिँड्नेदेखि विभिन्न थरीका विभिन्न अवसरमा नाचिने नाचहरू देखाए । त्यसपछि करिब ६ बजे हामी मालिगवा अर्थात् बुद्धको दाँत राखिएको पवित्र मन्दिरतर्फ लाग्यौँ । विश्वसम्पदा सूचीमा परेको यो मन्दिर पुरानो राजाको दरबार परिसरमा रहेछ । हामी पुग्दा त्यहाँ मानिसको ठुलो भिड थियो, तर पनि सबै कुरा अति व्यवस्थित थियो । ठाउँठाउँमा सहजकर्ताले सहयोग गरिरहेकाले कोहीकतै अलमलिनुपर्ने अवस्था थिएन । त्यति धेरै मानिसले भरिएको विशाल त्यो मन्दिर परिसरमा कतै पनि फोहोर थिएन । 

साँझको समय सेतो रङको विशाल मन्दिर अनि सुनको छाना, त्यहाँको सौन्दर्य धित नमरेसम्म हेरिरहुँ जस्तो थियो । ठुलो आँगन, आँखाले हेर्न भ्याउन सक्ने जति सबै हरियाली, बगैँचाका साथै ठुल्ठुला रूखहरूले भरिएको रहेछ । यहाँको वातावरणले हामी सबैलाई यो ठाउँ पटक्कै छाड्न मन लागेको त थिएन तर पनि साँझ झमक्क परिसकेको हुनाले दुई–चारवटा फोटो खिचेर वासस्थानतर्फ लाग्न बाध्य भयौँ ।

चौथो दिन, हामी श्रीभक्त हनुमान मन्दिर रामबोधा पुग्यौँ । यो ठाउँ नुवारा एलियाबाट करिब ३० किलोमिटर उत्तरतर्फ पर्दोरहेछ । यो मन्दिर श्रीलङ्काको चिनमाया मिसनले निर्माण गरेको रहेछ । सानो डाँडामा अवस्थित यो मन्दिरभन्दा तलको भूभाग सिङ्गै दुवो र आवश्यकता अनुसारका फूलहरूले सिँगारिएको थियो । हामी त्यहाँ पुग्दा बिहानको करिब १० बजेको थियो । घामका किरण टाढा–टाढा फैलिएका थिए । नीलो आकाश, हरियो दुबोले सजिएको सफा र सुन्दर डाँडो । बिहानको शान्त, सफा र हराभरा परिवेशमा हाम्रो शरीर र मन रमाइरहेको थियो । मलाई यस्तो क्षण धेरै नै रमाइलो लाग्छ । मेरा आँखाले यो दृश्यलाई कैद गर्ने मन हतारियो । अहिले पनि यो ठाउँको फोटोहरू देख्दा मिठो अनुभूति हुने गर्छ । 

त्यहाँबाट हामी दाम्रो चिया बगान गयौँ । वारिपट्टि चियापत्ती बनाउने कारखाना, कार्यालय, पसल आदि रहेछन् । ठिक त्यसैको पारिपट्टि ऐना हेरेजस्तो चिया बगान र त्यसैमा अङ्ग्रेजीमा ठुला अक्षरमा ‘दाम्रो टी’ लेखेको देख्दा अमेरिकाको क्यालिफोर्नियामा हलिउड भनेर लेखिएजस्तो आभास दिँदोरहेछ । 

पाँचौँ दिन, अघिल्लो दिनको थकाइ बिर्सेर सूर्यको पहिलो किरणसँगै नयाँ ठाउँको यात्रा सुरु ग¥यौँ । त्यस दिनको यात्रामा हामी नुवारा इलिया गयौँ । यो श्रीङ्काको पहाडी भाग हो । यस सहरको स्थापना सन् १८४६ मा खोजकर्ता स्यामुअल बेकरले गरेका थिए । 

यहाँको तापक्रम बेलायतसँग मिल्दोजुल्दो छ, वातावरण पनि शान्त । सिकार गर्नका लागि जङ्गली जनावरले भरिभराउ र अशोक प्रजातिका रुख प्रशस्त भएकाले यसलाई उनले श्रीलङ्काको इलाकामा उल्लेख गरेका थिए । 

भोलिपल्ट अर्थात् छैटौँ दिन हामी सीता आमा मन्दिर आइपुग्यौँ । त्यहाँ रावणले सीतालाई हरेर लगी राखेको अशोक वाटिका, ढुङ्गामा भएको खाल्डोमा हनुमानको पाइला र यो जङ्गलमा हनुमानले आगो लगाएकाले माटो कालो छ भन्ने जनविश्वासले सीता र हनुमानको मन्दिर बनेको रहेछ । यो मन्दिर कलात्मक हुनुका साथै सुन्दर पनि रहेछ । म त्यति धार्मिक व्यक्ति होइन । धार्मिक विषयमा कुरा गर्दा धेरै मानिस युवावस्थामा आफूलाई नास्तिक भन्न रुचाउने र उमेर बढ्दै गएपछि उनीहरूको धार्मिक विश्वासमा परिवर्तन भई कट्टर धार्मिक भएको देखेकी छु, तर मेरो सोचमा अहिलेसम्म यस्तो परिवर्तन आएको छैन । जेहोस्, यस्ता स्थानमा रहेका संस्कृति र इतिहास झल्काउने सुन्दर कलालगायत वस्तुले मलाई अचम्मसँग तान्छन् । यहाँ पनि यही अवस्था रह्यो । 

यात्राको क्रममा बाटो बाटोमा बिक्रीका लागि राखिएको किङ कोकोनट (विश्वको ठुलो नरिवल), मैले पहिलोपटक खाएको रामबुतान र म्याङ्गोस्टिन नाम गरेका फलले यात्रालाई थप रमणीय बनाउनमा मद्दत गरेका थिए ।

छैटौँ दिन हामी कोलम्बो आइपुग्यौँ । अरु ठाउँमा एक–एक रात बिताए पनि यहाँका लागि दुई रात राखेका थियौँ । लामो गृहयुद्धले पीडित बनाएको यो सहर अरु विकसित देशका सहरभन्दा कुनै कम छ जस्तो लागेन । त्यहाँको बसाइमा हामीले गन्गरामाया मन्दिर, इन्डेपन्डेन्ट मेमोरियल हल, विहारमाहादेवी पार्क, कपिकावाथा शिव मन्दिर, लोटस टावर, बन्डारा नाइके मेमोरिएल हाउस आदि पर्यटकीय स्थलको भ्रमण ग¥यौँ ।

मैले आजसम्म हाम्रो देशको रुपैयाँको मूल्यभन्दा कम मूल्य भएको देश जाने अवसर पाएकी थिइनँ । यहाँ त हाम्रो एक रुपैयाँ बराबर २.२५ श्रीलङ्कन रुपैयाँ हुँदोहेछ । जे किन्दा पनि सस्तोजस्तो लाग्ने । जिन्दगीमा आफ्नो देशको पैसा महङ्गो भएको आनन्द लिनुको मजै अर्कै हुँदो रहेछ । स्वदेशी काठ, छाला र ढुङ्गाबाट बनेका वस्तुले बजार भरिएको देखिन्थ्यो । कति होटलहरूमा ठुल्ठुला ढुङ्गाका लोभलाग्दा जनावर बनाएर सजाइएको थियो । हामी हिँडेको बाटो कतै पनि खाल्डाखुल्डी देखिएनन् । यो देशलाई प्रकृतिले बिछट्टै कृपा गरेको रहेछ भन्दा कतै पनि अत्युक्ति हुँदैन । 

जैविक विविधताले भरिपूर्ण यस देशको भलो चाहनेले प्राकृतिक सम्पदाको भरपूर फाइदा लिएजस्तो लाग्यो तर आन्तरिक कलहले ग्रस्त पारेकाले आर्थिक सङ्कटले मुद्राको पतन, अत्यावश्यक वस्तुको अभावका कारणले मानवीय सङ्कट देखिन्छ । हामी पुगेको अन्य स्थानको तुलनामा तमिलहरूको बस्तीमा अलि बढी गरिबी र विकास निर्माणको काममा कमी हो कि जस्तो अनुभूति भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. राधिका बुढ्थापा
डा. राधिका बुढ्थापा
लेखकबाट थप