शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
राजनीति

जनार्दनले पार्टी फुटाउँछन् भन्ने आशङ्का थियो, अब हट्यो : प्रचण्ड

‘पार्टी फुटाउन लाग्यो भनेर सुनाउन आउँथे’
शनिबार, ०१ भदौ २०८१, ११ : २३
शनिबार, ०१ भदौ २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी फुटाउँछन् भन्ने आशङ्का नगर्न पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् । शनिबार पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारणसभामा बोल्दै उनले स्थायी समितिको बैठकपछि यो आशङ्का हटेको बताउँदै पार्टी विभाजन नहुने बरु एकताबद्ध भएर अघि बढ्ने स्पष्ट पारेका हुन् ।

केही मानिसहरूले ‘जनार्दनले पार्टी फुटाउँदै छन्’ भनेर सुनाउँदा आफूलाई पनि के भएको भन्ने लागे पनि स्थायी समिति बैठकको अन्त्यसम्ममा सबै आशङ्का हटेर गएको प्रचण्डले बताए । उनले शर्मासँग भएको पछिल्लो छलफलमा पनि पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा नै कुराकानी भएको जानकारी दिएका हुन् ।

‘स्थायी समिति बैठकमा केही कमरेडले भिन्न ढङ्गले कुरा राख्नुभएको थियो । कमरेड जनार्दन शर्माले लिखित रूपमा प्रस्तुत गरेको दस्ताबेजमा फरक मत भनेर राख्नुभएको थिएन । त्यहाँ फरक मत भनेर लेखिएको पनि छैन । उहाँले पनि यसलाई आफ्नो मतको रूपमा व्याख्या गर्दै अरूले मुखले भनेको तर आफूले लेखेर ल्याएको भन्नुभयो । त्यो बाहिर जाँदा तरङ्ग र आशङ्का पैदा भए । तर, स्थायी समितिको अन्त्यसम्म आइपुग्दा त्यो मुख्य रूपमा सम्बोधन गरिएको छ,’ उनले भने ।

उनले थपे, ‘प्रभाकरले पार्टी फुटाउन खोजेका छन् भनेर लिडरसिपले कहिले पनि भनेको थिएन । तर विभिन्न मानिसहरूले आएर सुनाउँथे– पार्टी फुट्दै छ, फुटाउँदै छन्, विभिन्न तत्त्व मिलेका छन् । यसले यदाकदा के भयो भन्ने भएको थियो । तर, बैठक अन्त्यसम्म जनार्दन शर्माको पार्टी फुटाउने कुनै उद्देश्य पनि छैन, नियत पनि छैन भनेर उहाँले प्रष्ट पार्नुभयो । जनार्दनले पार्टी फुटाउन खोज्यो भन्ने कसैलाई आशङ्का छ भने त्यसबाट मुक्त हुन अपिल गर्न चाहन्छु । तपाईंले लिए पनि, मैले लिए पनि त्यो निराधार हो भन्ने चाहन्छु ।’

उनले आज बिहान मात्र पनि उपमहासचिव शर्मा आफ्नो निवास खुमलटार आएको र अब एकताबद्ध भएर जाने कुरा गरेको जिकिर गरे । शर्माले उठाएका व्यवहारिक विषयहरू गम्भीर रहेको र त्यसलाई अध्ययन अनुसन्धान गरेर स्पष्ट पारिने पनि उनले जिकिर गरे ।

अध्यक्ष प्रचण्डले पार्टीको पदाधिकारी र स्थायी कमिटीको बैठकपछि अब केन्द्रीय समितिको बैठकको तयारी भइरहेको जानकारी दिए । उनले बैठकमा पार्टी एकतालाई सुदृढ गर्ने र पार्टीभित्र शङ्का–उपशङ्का, विवाद मतभेदहरूलाई कसरी समाधान गरेर पार्टीलाई एकताबद्ध गरेर जनतामा लिएर जाने विषयमा छलफल भएको पनि बताए ।

‘हाम्रो सापेक्षतामा त्यसलाई समाधान गर्ने दिशामा अघि बढेका छौँ । यस्तो बेलामा मैले पोस्टबहादुर बोगटीलाई अझ बढी सम्झेका छौँ,’ उनले भने, ‘उहाँ भइदिएको भए के हुन्थ्यो होला रु पार्टी लाइनलाई विकसित गर्ने सन्दर्भमा र पार्टीको एकतालाई सुदृढ गर्ने सम्बन्धमा हामीलाई उहाँ अपरिहार्य थियो ।’

उनले पार्टीमा विभिन्न समस्या देखिएको स्वीकार गर्दै पार्टीमा नयाँ सङ्कल्पका साथ जानुपर्ने जिकिर गरे । लिडरसिपको अगाडि हुँदासम्म सबै राम्रो छ भन्ने तर पछाडि हुँदा चाहिँ गाली गर्ने प्रवृत्ति भएकाले यस पटक सबैलाई आफ्ना कुरा खुलस्त राख्न भनिएको पनि जानकारी दिए । ‘साथीहरूले दुई दुई घण्टासम्म पनि बोल्नुभयो । मलगायत अरू लिडरले धैर्यतापूर्वक उहाँहरूका कुरा सुन्नुभयो,’ उनले भने । 

फरक प्रसङ्गमा प्रचण्डले आफ्नो पार्टीले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल नारा अन्तरत काम सुरु गरेपछि सङ्ख्या भएका दलहरूले बढो अपारदर्शी र षडयन्त्र तरिकाले सरकार परिवर्तन गर्न मध्यरातमा सहमति गरेको आरोप लगाए । आफ्नो सरकारलाई हटाउन आफ्नो पङ्क्तिलाई पनि जानकारी नदिइकन जमर्को गरिएको उनको भनाई थियो ।

उनले भने, ‘मैले अन्तिम पटक विश्वासको मत लिँदा मैले ती सबै कुराको प्रतिवाद र व्याख्या गर्दै के गर्ने भनेर भनेको थिए । समीकरण परिवर्तन गरेर नेकपा एमालेसँग मिलेर विश्वासको मत लिँदै गर्दा एमाले नेताले नेपाली कांग्रेसका नेतालाई हाम्रो बोलचाल बन्द भयो भन्नुभयो र तलबाट कांग्रेसका नेताले बोलचाल खोल्ने हो भनेर बोलेको कुरा प्रतिकात्मक थियो । मैले कुरा बुझेँ र मैले तपाईंहरु मिल्नुहोस् भने । तपाईंहरु मिल्नुहोस्, हामी प्रतिपक्षमा बस्छौँ भनेर भनेको थिएँ । जे भयो भयो ।’

उनले भ्रष्टाचारविरुद्ध लड्दा लड्दै आफूलाई हटाएको हो भनेर जनताले बुझेको दाबी गरे । यसबाट पार्टीलाई चुनौती र अवसर दुवै रहेको उनको भनाई थियो ।  ‘कांग्रेस र एमाले डरका कारणले एक हुनुभयो– कारबाहीबाट बच्न । भ्रष्टलाई जोगाउन एक हुनुभयो । बहानाबाजी जरुरी नै छैन । तर, म तपाईंहरुलाई धन्यवाद भन्न चाहन्छु, हामीलाई जनता र हाम्रो वर्गसँग जोडिन वातावरण बनाइदिनुभयो,’ उनले भने ।

बोगटी कम्युनिस्ट आन्दोलनका धरोहर

कार्यक्रममा अध्यक्ष प्रचण्डले पोस्टबहादुर बोगटी कम्युनिस्ट आन्दोलनका धरोहरका साथै सधैँ शिक्षा लिइराख्नुपर्ने व्यक्तित्व भएको जिकिर गरे । कम्युनिस्ट आन्दोलनमा साधारण किसान परिवारबाट उठेर नेतृत्वको उचाइमा मात्र नपुगेर बोगटीले आफ्नो व्यक्तित्व र चरित्रले सिङ्गो समाजलाई नै प्रभावित गर्ने हैसियत पनि बनाएको प्रचण्डले बताए ।

‘उहाँ पार्टीको नेतृत्व तहमा आउने कुरा या मन्त्री बन्ने कुरा होइन, उहाँले आफ्नो विशेषता र चरित्रद्वारा आफ्नो इमानदारिता र पारदर्शिताद्वारा सिङ्गो समाजलाई प्रभावित गर्नुभयो,’ उनले भने, ‘पार्टीमा विभिन्न भूमिका निर्वाह गर्नुभयो । जुन भूमिकामा गए पनि त्यसलाई सफलतापूर्वक निर्वाह गर्नुभयो । त्यस्तो व्यक्तित्व कम्युनिस्ट आन्दोलनमा विरलै पाइन्छ ।’

उनले भने, ‘अप्ठ्यारो स्थिति परेको बेला हामी भरोसा गरेर जिम्मेवारी दिन्थ्यौँ, वहाँले सफलतापूर्वक सम्पन्न गर्नुभयो । पार्टीको अन्तरसंघर्षमा उहाँको भूमिका अतुलनीय थियो । उहाँले सिद्धान्त र निष्ठामा कुनै सम्झौता गर्नुभएन । पार्टीको लाइन र लिडरसिप प्रति आशङ्का पैदा गर्न कहिले पनि भूमिका खेल्नुभएन । बरु लाइनलाई परिमार्जन गर्न र लिडरसिपलाई बलियो गर्न सकिन्छ भन्नेमा लाग्नुभयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप