बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
कोटिहोम विवाद

विजय कृष्णमूर्तिलाई प्रहरीले ‘सोधपुछ’ गर्न खोजेको विषय के हो ?

शनिबार, ०१ भदौ २०८१, ०९ : ४८
शनिबार, ०१ भदौ २०८१

काठमाडौँ । पशुपतिको कोटीहोम स्थलमा शुक्रबार साँझ प्रहरी पुगेर विवादित कथाबाचक विजय कृष्णमूर्ति जी महाराजलाई भने, ‘महाराजजी एकछिन हामीसँग जानुपर्ने भयो ।’

कोटीहोम समापन गरेर पार्किङमा आएका कृष्णमूर्ति जी महाराज भनेर चिनिने विजय भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र गौशाला वृत्तका सादा पोसाकका प्रहरी कुरेर बसेका थिए । विजयले प्रहरीको आग्रह अस्वीकार गरे । 

उनीसँगै साथमा भएका सहयोगीले प्रतिकार गर्न थाले । फेसबुक लाइभमार्फत कृष्णमूर्तिले भने, ‘मलाई पक्राउ गर्न प्रहरी आएको छ, सबैजना पशुपति आउनुस् ।’

दुई पक्षको बिचमा झडप भयो । झडपमा परेर प्रहरी वृत्त गौशालामा कार्यरत एक जना प्रहरी सहायक निरीक्षक घाइते भएका छन् । राति काठमाडौँका एसएसपी बसन्त रजौरे गौशालामा गएर कृष्णमूर्तिसँग कुरा गर्न खोजे । तर, कृष्णमूर्तिले रजौरेसँग पनि भेट्न मानेनन् । प्रहरी वृत्त गौशालामा रजौरेले उनका सहयोगीलाई बोलाएर कुरा गरेर फर्किए ।  

कृष्णमूर्तिले लिएको ‘प्रहरी चारित्रिक प्रमाणपत्र’को बारेमा सोधपुछ गर्न खोजिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । यसअघि उनी विभिन्न मुद्दामा पक्राउ परेको र अदालतबाट फैसला भए अनुसार ठगी मुद्दामा १ वर्ष २ महिना थुनामा बसेर ८१ लाख ८५ हजार जरिवाना तिरेको प्रहरीको ‘अपराध रेकर्ड’मा देखिन्छ ।

तर, अपराध रेकर्डमा भएको कुरा अहिले उनले लिएको प्रहरी चारित्रिक प्रमाणपत्रमा उल्लेख छैन । प्रहरी चारित्रिक प्रमाणपत्रमा कुनै मुद्दा नलागेको भन्ने विवरण ‘लेखाएर’ लिएको आरोप छ ।

प्रहरी रिपोर्ट ‘कहाँबाट लिनुभयो ?’ भनेर उनीसँग सोधपुछ गर्न मात्रै खोजिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँलाई पक्राउ गर्न खोजेका होइनौँ, सामान्य विषयमा बुझ्न मात्रै त्यहाँ प्रहरी पठाएका थियौँ ।’

धेरै पटक पक्राउ परेको र कैदमा बसेको भए पनि पुलिस रिपोर्ट कसरी ‘क्लियर’ आयो भन्नेबारेमा प्रश्न उठेको छ । ‘मिलेमतो’मा प्रहरी रिपोर्ट लिएका आशङ्कामा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप