१० बजे, १० समाचार
आज मिति २०८१ साल साउन महिनाको ३२ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमहित रातोपाटी डटकम आफ्नो नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ । रातोपाटी ब्रिफिङमा राति ‘१० बजे १० समाचार’ प्रस्तुत गर्ने गरिएको छ ।
१. सोलुखुम्बुमा अप्रत्यासित बाढी
जल तथा मौसम विज्ञान विभागले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा आएको बाढीबारे प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।
विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने जनाएको छ ।
बाढीका कारण कुनै मानवीय क्षतिको विवरण आएको छैन । तर, एक जना स्थानीय व्यक्ति सम्पर्कमा नआएको भन्ने खबर रहेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । । ‘ती मानिस चाहिँ बाढीमा परेको हो वा अन्यत्र भएको हो भन्ने विषय खुलेको छैन,’ उनले भनिन् ।
बाढीले ५ वटा होटल र ७ वटा घर पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ । यस्तै एउटा विद्यालय, एउटा क्लिनिक पनि पूर्णरूपमा क्षति भएको छ भने थप ७ वटा घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताइन् ।
२. भाडामा लुट
काठमाडौँबाट दक्षिण कोरियाको राजधानी सोल सिटीसम्मको हवाई दुरी तीन हजार ९६५ किलोमिटर छ । काठमाडौँबाट विभिन्न एयरलायन्सले नेपालदेखि सोलसम्म हवाई उडान गर्दै आएका छन् । जसमा नेपाल एयरलायन्स, थाई एयरएसिया, चाइना इस्टर्न, सिंगापुर एयरलायन्स, बाटिक एयर लगायतले नियमित हवाई उडान गर्दै आएका छन् ।
उनीहरूले एकतर्फीको हवाई भाडा ३० हजार २५५ देखि ५१ हजार रूपैयाँसम्म लिने गरेका छन् । तर, त्यही कोरियामा काम गर्न ईपीएसमार्फत जाने श्रमिकहरूले भने ८९५ अमेरिकी डलर (आजको विनिमय दर अनुसार ७५ हजार १३९ नेपाली रूपैयाँ) भाडा तिर्दै आएका छन् । यसअघि उनीहरूले १२०० अमेरिकी डलरसम्म भाडा तिर्दै आएका थिए ।
३. माओवादी बैठक
नेकपा माओवादी केन्द्रको हालै सम्पन्न स्थायी समिति बैठकमा फरक प्रस्ताव पेस गरेका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ अन्ततः एक्लो बृहस्पति बनेका छन् । उनको प्रस्तावलाई अन्य नेताले खुलेर समर्थन नगर्दा उनी एक्लिएका हुन् । यद्यपि उनको फरक प्रस्तावबारे आगामी केन्द्रीय समिति बैठकमा छलफल भने हुने भएको छ ।
४. बेचन झाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा तर्फका कानुन व्यवसायीले आफ्नो बहस पूरा गरेका छन् । शुक्रबार वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले झाको तर्फबाट बहस गरेका हुन् । मुद्दाको थप बहस नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
५. न्यायाधीश नियुक्ति प्रक्रिया
न्याय परिषद्को शुक्रबार बसेको बैठक निर्णयमा पुग्न नसकेपछि अनौपचारिक रूपमा सकिएको छ। परिषद्ले न्यायाधीशको रोष्टरमा रहेका नामहरूमा मात्र छलफल भएको र यसलाई औपचारिकता नदिइएको परिषद् स्रोतले बताएको छ।
. ६.गठ्ठाघर घटना
भक्तपुरको गठ्ठाघरमा भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रहरीले शुक्रबार छानबिन समिति गठन गरेको हो ।
उपत्यका प्रहरी कार्यालयका एसपी प्रदीप केसीको नेतृत्वमा छानबिन समिति बनेको र सो समितिले शुक्रबार बिहानैदेखि काम थालेको प्रहरी प्रवक्ता दानबहादुर दानबहादुर कार्कीले जानकारी दिए । प्रहरीले घटनाबारे छिट्टै सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएको छ ।
७. मन्त्रिपरिषद् बैठक
रराष्ट्र मन्त्री आरजु राणा नेतृत्वको टोली आगामी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणमा जाने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री राणा नेतृत्वको टोलीलाई भारत भ्रमण गर्न स्वीकृति दिएको हो ।
त्यसैगरी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको दुई दिने उज्वेकिस्तान भ्रमण पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
मन्त्री पौडेलको नेतृत्वमा एक प्रतिनिधि मण्डल असोज ९ र १० गते उज्वेकिस्तान समरखण्डमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सनको नवौँ वार्षिक बैठकमा सहभागी हुन त्यसतर्फ जाँदैछ ।
८. प्रदेश समाचार
सुदूरपश्चिम प्रदेशको नयाँ बजेट निर्माणमा कानुनी जटिलता देखिएको छ ।तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत विनियोजन विधेयक (बजेट) पास नभएपछि नवगठित सरकारले ल्याउन लागेको बजेट निर्माणमा कानुनी जटिलता देखिएको हो ।
९. धमाधम जमिन भ्वाङ
पछिल्लो समय काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा जमिन भासिने क्रम बढेको छ । पछिल्लो एक साताको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न तीन स्थानमा जमिन भासिने घटना भएका छन् ।
१०. सबै जिल्लामा फाइबर सेवा
नेपाल टेलिकमले हुम्लाको सदरमुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भर्चुअल रूपमा सो सेवाको शुभारम्भ गरेका हुन् । यससँगै नेपाल टेलिकमको एनटी फाइबर नेपालका सबै जिल्लामा पुगेको प्रवक्ता किशोर कुमार भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'क्षमता नभएका व्यक्ति ५० पटक परीक्षा दिँदा पनि लोकसेवा पास हुन सक्दैनन्'
-
दरबारमार्गको कफी कम्पनीमा आगलागी
-
बलात्कार आरोपमा युवक पक्राउ
-
निजामतीमा सेवा प्रवेश ३२ वर्ष कायम गर्ने लोकसेवाको प्रस्ताव
-
त्रिभुवन विश्वविद्यालयमा नियुक्तिसँगै किन हुन्छ धर्ना ?
-
भारतीय ब्याट्सम्यानको निराशाजनक प्रदर्शन, पहिलो दिन ११ विकेट खस्यो