आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
प्राकृतिक विपत्ति

पत्ता लाग्नै सकेन– थामेमा कसरी आयो बाढी ?

३२ सुरक्षाकर्मीद्वारा उद्धार कार्य जारी
शुक्रबार, ३२ साउन २०८१, २० : ४९
शुक्रबार, ३२ साउन २०८१

विराटनगर । दिउँसो २ बजे अचानक लेदोसहित आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे बस्तीका १४ वटा घर तथा भवन क्षतिग्रस्त बनाएको छ । तर, ठुलो पानी पनि नपरेको अवस्थामा अचानक कसरी आयो भन्ने कुरा अझै अन्योल छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बाढीको कारण पत्ता नलागेको बताइन् । ‘अहिलेसम्म सुक्खा पहिरो हो कि ? हिमताल फुटेको हो कि ? हिम पहिरो हो कि ? के हो भन्ने विषय यकिन भएकै छैन,’ उनले भनिन् ।

उनका अनुसार बाढीका कारण कुनै मानवीय क्षतिको विवरण आएको छैन । तर, एक जना स्थानीय व्यक्ति सम्पर्कमा नआएको भन्ने खबर रहेको उनले बताइन् । ‘ती मानिस चाहिँ बाढीमा परेको हो वा अन्यत्र भएको हो भन्ने विषय खुलेको छैन,’ उनले भनिन् ।

बाढीले ५ वटा होटल र ७ वटा घर पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ । यस्तै एउटा विद्यालय, एउटा क्लिनिक पनि पूर्णरूपमा क्षति भएको छ भने थप ७ वटा घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताइन् ।

त्यस स्थानमा तल्लो थामे र पल्लो थामे भन्ने दुई वटा बस्ती छन् । तल्लो थामेमा बाढी आएको कारण त्यहाँका बासिन्दालाई पल्लो थामेमा सारिएको उनले जानकारी दिइन् । ‘तल्लो थामेबाट पल्लो थामेमा पठाउने काम भइरहेको छ । जनताको महत्त्वपूर्ण सामान त्यहाँ भएको भए सुरक्षित ठाउँमा लाने काम नेपाली सेना र नेपाल प्रहरीले गरिरहेको छ,’ उनले भनिन्, ‘त्यहाँ भएका पशु चौपायालाई पनि सुरक्षित ठाउँमा लाने काम भइरहेको छ ।’

तल्लो थामे पूर्णरूपमा जोखिम भएकाले त्यहाँका बासिन्दालाई जोखिम नभएको पल्लो थामेमा लगिएको उनको भनाइ छ । अहिले उक्त स्थानमा बादल लागेको भए पनि पानी परेको छैन । दुधकोशीको बाढी पनि केही कम भएको छ ।

प्रजिअ खत्रीले भनिन्, ‘अहिले त्यहाँ वर्षा रोकिएको छ । हल्काफुल्का बादल लागेको छ । दुधकोशीमा पानीको बहाव कम भएको छ । उर्लिएर आएको खोला अब घट्ला भन्ने अपेक्षा गरिरहेका छौँ ।’

प्रदेश प्रहरी कार्यालय कोशीका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद दाहालले त्यहाँ १ सय जना मानिस विस्थापित भएको बताए । ‘थामेका १ सय मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ,’ दाहालले भने ।

उक्त स्थानमा नेपाली सेनाको २१ जना र नेपाल प्रहरीका ११ जनाले उद्धार कार्य गरिरहेको बताइएको छ । दाहालका अनुसार खास बाढी थामे खोलामा आएको हो । ‘त्यहाँ बाढी आएको खोलालाई थामे खोला भन्दारहेछन् । थामे खोलामा बाढी आएको हो । थामे खोला आएर त्यहाँको स्थानीय भोटेकोशीमा मिसिँदो रहेछ । त्यो भोटेकोशी गएर दुधकोशीमा मिसिन्छ,’ दाहालले भने ।

दाहालले त्यहाँ बाढी आएको देखिए पनि माथि के भएको हो भन्ने विषय नखुलेको बताए । ‘अहिले बाढीमात्रै आएको देखिन्छ । माथि पोखरी फुटेको भन्ने कुरा केही पनि पुष्टि भएको छैन,’ उनले भने ।

थामे बस्ती पर्यटकीय र सुन्दर रहेको स्थानीय बताउँछन् । ‘थामे गाउँ राम्रो थियो बिगार्‍यो,’ सोलुखुम्बुका राजनीतिकर्मी भोजराज कार्की भन्छन् । उनका अनुसार स्थानीयले भने हिमताल फुटेको अनुमान गरेका छन् । थामेबाट एक दिन उकालो चढेपछि ‘थामु हिमताल’ भन्ने ठाउँमा पुगिने र सोही ताल फुटेको हुनसक्ने स्थानीयको अनुमान रहेको उनले बताए ।

‘स्थानीयले भने हिमताल फुटेको अनुमान गरेका छन् । तर, स्थलगत अनुगमन नगरेसम्म त्यो पुष्टि नहुने अवस्था छ । कटान जारी छ । त्यसो हुँदा नदी थुनिन सक्ने र थप क्षति गर्नसक्ने जोखिम पनि छ,’ सोलुखुम्बुका राजनीतिकर्मी भोजराज कार्कीले त्यहाँका स्थानीयसँग गरेको कुराकानीलाई उद्धृत गर्दै भने ।

थामे बस्तीबाट पैदल जाँदा थामु हिमताल भएको ठाउँमा पुग्न झण्डै एक दिन लाग्ने उनको भनाइ छ ।

दुधकोशी नदी सोलुखुम्बु र खोटाङको सीमा भएर बग्छ । उक्त नदीले सोलुखुम्बु र खोटाङको तल्लो तटीय क्षेत्रमा क्षति पुर्याउन सक्ने भएकाले उच्च सतर्कता अपनाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको खुम्बु पासाङल्हामु, माप्यदुधकोशी गाउँपालिका, सोताङ, थुलुङ दुधकोशी र नेचा सल्यान गाउँपालिकाका नदी किनारका बस्तीमा क्षति पुग्न सक्ने त्यहाँका स्थानीय बताउँछन् ।

यसैबिच थामे बस्तीमा आएको बाढीको विषयमा अध्ययन गर्न शनिबार विज्ञ टोली त्यसतर्फ जाने बताइएको छ । राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनीकरण व्यवस्थापन प्राधिकरणको टोली त्यसतर्फ जान लागेको हो । उक्त टोली शुक्रबार नै जान चाहे पनि मौसमको खराबीका कारण नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान सकेन । नेपाली सेनाको टोली पनि शनिबार बिहानै त्यसतर्फ जाने तयारी गरेको बताइएको छ ।

यसैबिच जल तथा मौसम विज्ञान विभागले बाढीबारे प्रारम्भिक धारणा सार्वजनिक गरेको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने जनाएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप