बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

नेपालका सबै जिल्लामा पुग्यो एनटी फाइबर सेवा, ओलीले साटे खुसीयाली

शुक्रबार, ३२ साउन २०८१, २० : २५
शुक्रबार, ३२ साउन २०८१

काठमाडौँ । नेपाल टेलिकमले हुम्लाको सदरमुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भर्चुअल रूपमा सो सेवाको शुभारम्भ गरेका हुन् ।  यससँगै नेपाल टेलिकमको एनटी फाइबर नेपालका सबै जिल्लामा पुगेको प्रवक्ता किशोर कुमार भट्टले जानकारी दिए ।

सो अवसरमा मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अभियानमा सरकार लागेको र नेपालका सबै स्थानीय निकायका कार्यालय सम्म दूरसञ्चार सेवा पुर्‍याउने कार्यका लागि नेपाल टेलिकमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले सरकारको एक महत्त्वपूर्ण कदमको रूपमा देशका ७७ वटै जिल्लामा फाइबर सेवा पुगेको बताउँदै यसबाट आगामी दिनमा अझै महत्त्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरे ।

नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले कम्पनी र सरकारका लागि यो महत्त्वपूर्ण दिन भएको बताइन् । उनले आगामी दिनमा समेत सेवालाई अझै प्रभावकारी बनाउनका लागि सबैको सहयोगको अपेक्षा गरिन् ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पहिले कपर प्रविधिबाट इन्टरनेट सेवा उपलब्ध भइरहेकोमा अब अन्य जिल्लामा जस्तै हुम्ला जिल्लामा पनि फाइबरबाट इन्टरनेट सेवा उपलब्ध हुने र सेवामा पनि स्तरोन्नति हुने बताइन् ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्धक मिलन श्रेष्ठ, कर्णाली प्रदेश प्रादेशिक निर्देशनालयका निर्देशक उमेश प्रसाद साह र दू.सं.का. सुर्खेतका कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर सुष्मा गौतमले हुम्ला र समग्र कर्णाली प्रदेशमा नेपाल टेलिकमको सेवा बारेमा जानकारी प्रदान गरेका थिए ।

कार्यक्रममा हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य छिरिङ डम्डुल लामा र अन्य जनप्रतिनिधिहरूका साथै मन्त्रालय र नेपाल टेलिकमका उच्च पदस्थ अधिकृतहरूको समेत सहभागिता रहेको थियो ।

हाल हुम्लामा उपलब्ध गराइएको एनटी फाइबर सेवामार्फत साविकमा उपलब्ध हुँदै आएको एडीएसएल सेवाको तुलनामा थप गुणस्तरीय सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लामा पनि अब हाई स्पिड इन्टरनेट सुविधा पुगेको भन्दै खुसी व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘पूर्वाधार विकास र भौगोलिक हिसाबले दुर्गम रहेको हुम्लामा आजदेखि उच्च गतिको इन्टरनेट सेवा (फाइबर टू द होम–एफटिटिएच) प्रविधिबाट टेलिफोन तथा इन्टरनेटसहितको ‘एनटी फाइबर’ सेवा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङज्यूले आज माउस क्लिक गरेर यसको सुरुवात गर्नु भयो । उहाँलाई धन्यवाद !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप