बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

बेचन झालाई अदालतको १५ प्रश्न, वकिलले जेजे सिकाए त्यहीमात्र बयान दिए (पूर्णपाठ)

दुई करोडको चेकमा कसैलाई नचिन्ने दाबी
शुक्रबार, ३२ साउन २०८१, १६ : ३५
शुक्रबार, ३२ साउन २०८१

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाले  आफ्ना कानुन व्यवसायीले सिकाए अनुरूप काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएर बयान दिएका छन् । जिल्ला अदालतमा थुनछेक बयानका लागि उपस्थित हुँदा उनी आफ्ना कानुन व्यवसायीले जेजे भन्नु भनी सिकाएका थिए त्यहीमात्र बोलेर अरू कुरामा मौन रहेका हुन् ।

उनलाई न्यायाधीशले १४ वटा प्रश्न गरेपनि वकिलले सिकाएअनुसार नै जवाफ दिएको एक कानुन व्यवसायीले जानकारी दिए ।  काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा ठगी, लिखत किर्ते र राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा बयान दिँदै उनले आफूले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै पनि रकम कसैसँग नलिएको दाबी गरे । 

उक्त प्रकरणमा पूरक अभियोग पत्र दायर भएपछि अदालत पेस भएका उनीसँग शुक्रबार थुनछेक बहसअघि बिहीबार बयान गराइएको थियो । उक्त बयानमा उनले मुख्य प्रमाणलाई नै अस्वीकार गरेका छन् ।   १५ सवालमध्ये ७ देखि ११ सम्मका प्रश्नमा झालाई चेकै वरिपरि र यसअघि दायर भएका प्रतिवादीको बारेमा सोधिएको थियो । उनको स्वास्थ्य अवस्थादेखि बरामद प्रमाणसम्म सोधिएको प्रश्नमा उनले जवाफ दिएका थिए । 

जिल्ला अदालतमा उनलाई सवाल नम्वर ९ मा रामशरण केसीले आफ्नो नाउँको हिमालयन बैंकको दुई करोडको चेक वानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि  भेटी दिएको विषयमा प्रश्न सोधिएको थियो । 
जवाफमा उनले आफूले रामशरण केसी भन्ने व्यक्तिलाई तथा सानु भण्डारीलाई नचिनेको दाबी गरे । उनले  रामशरण केसीलाई नभेटेको र चेक पनि नलिएको दाबी गरेका छन् । तर प्रहरीले उनको नाममा काटेर र सटही भएको चेकको अर्धकट्टी समेत अदालतमा प्रमाणको रूपमा पेस गरेको छ। 

झाले यसरी बयान दिनुको कारण नै उनका कानुन व्यवसायीले केसीलगायतलाई ‘चिन्नै अस्वीकार गर्नु’ भनी दिएको सुझाव थियो । कनेक्सन भएका भनिएकालाई चिन्न अस्वीकार गर्दा र चेक लिएको कुरा अस्वीकार गर्दा जिल्लाले सहजै धरौटीमा छोड्ने आधार देखेर उनले यस्तो बयान गरेका बताइएको छ । 

 झाले  रामशरण केसीले गरेको पोल बयान सबै झुट्टा र काल्पनिक भएको समेत दाबी गरे ।  उनले सवाल जवाफ ७ मा ‘यसअघि मुद्दा दायर भएका प्रतिवादीहरूलाई चिन्नु हुन्छ’ भनी सोधेको प्रश्नमा पनि यही जवाफ दिएका थिए । 

उनले आफूमाथि आरोप लागेको समयमा आफू नेपालमा नभई भारतमा उपचाररत रहेको दाबी पनि गरेका छन् । झाविरुद्धको थुनछेक बहस जिल्ला अदालतमा शुक्रबार हेर्दाहेर्दैमा रहेको छ। अब उनी थुनामा जाने कि रिहा हुन्ने भन्नेबारे आइतबार आदेश आउने अपेक्षा गरिएको छ ।

1234

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप