आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
प्राकृतिक विपत्ति

सोलुखुम्बुमा हिमताल फुटेको आशंका, एकाएक भीषण बाढी, थामे गाउँमा बाढी पस्यो

शुक्रबार, ३२ साउन २०८१, १४ : ५५
शुक्रबार, ३२ साउन २०८१

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको छ । हिमताल फुटेर एकाएक बाढी आएको हुन सक्ने आशंका गरिएको छ । 

खुम्बु गाउँपालिका वडा नम्बर४ का अध्यक्ष लक्ष्मण अधिकारीले माथिबाट एकाएक बाढी आउँदा तल्लो भेगमा रहेको थामे भन्ने स्थानमा बाढीले क्षति पुर्‍याएको रातोपाटीलाई जानकारी दिए । 

‘माथिबाट एकाएक बाढी आयो । खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ५ थामे भन्ने ठाउँमा रहेका घरहरुमा बाढी पसेको छ’, उनले बताए । 

प्रारम्भिक विवरण अनुसार धनमालको क्षति भएपनि हालसम्म मानवीय क्षतिको जानकारी छैन । ‘अहिलेसम्म कसैलाई पनि केही भएको जानकारी छैन । तर, उद्धार कार्य जारी छ’, उनले भने । उनले तल्लो तटीय क्षेत्रमा सबैलाई खबर गरिसकिएको जानकारी दिए । 

उनका अनुसार थामेमा रहेका एउटा विद्यालयको होस्टेलमा फसेका विद्यार्थीहरूको उद्धार गरिएको छ । यस्तै स्थानीयलाई पनि उद्धार गर्ने काम धमाधम भइरहेको छ । 

उनले हिमताल फुटेको आशंका गरिएको भन्दै एकाएक ठुलो आवाजका साथ लेदोसहितको बाढी आएको बताए । ‘माथितिरबाट एकाएक बाढी आयो । थामेगाउँलाई मात्रै असर छ । घरहरु डुबेका छन्’, उनले थप बताए । घटनास्थल सोलुखुम्बु सदरमुकामबाट ३ दिन टाढाको दुरीमा पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप