उपत्यकामा किन बढिरहेको छ जमिन भासिने क्रम ?
काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा जमिन भासिने क्रम बढेको छ । पछिल्लो एक साताको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न तीन स्थानमा जमिन भासिने घटना भएका छन् ।
साउन २५ गते काठमाडौँ प्लाजानजिकको सडक भासिएको थियो । दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्कने बाटोमा जमिन भासिएपछि सडक अवरुद्ध हुन पागेको थियो । सडक भासिएको खण्डमा टुकुचा खोला पर्छ ।
यसैगरी, साउन ३० गते ललितपुर–काठमाडौँ जोड्ने इमाडोल सडक खण्डमा जमिन भ्वाङ परेर भासिएको थियो । महालक्ष्मी नगरपालिका–३ बाल्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल बोझे पोखरी हुँदै इमाडोलतर्फ जाने भित्री खण्डमा करिब तीन मिटर सडक भासिएको थियो । जमिन भासिदा सडक अवरुद्ध भएको थियो ।
यसैगरी, साउन ३१ गते तारकेश्वर नगरपालिका–५ अर्यालटारमा खोला पुरेर बनाएको खेल मैदान भासिएको थियो । उपत्यकामा परेको भारी वर्षापछि खेल मैदान भासिएको थियो । रुद्रेश्वर खोला पुरेर उक्त खेल मैदान बनाइएको स्थानीयले जनाएका छन् । सुरुमा एक महिनाअघि ढल फुटेर खेल मैदान भासिने क्रम सुरु भएको थियो ।
आखिर, उपत्यकामा जमिन भासिने क्रम किन बढिरहेको छ त ? खानी तथा भूगर्भ विभागकी प्रवक्ता मोनिका झाका अनुसार, यस्तो घटना हुनुको पछाडि एक मात्र नभई विभिन्न कारण रहेका हुन्छन् । त्यसमध्ये काठमाडौँ उपत्यकाको भू-बनोट पनि एउटा कारण हो ।
प्रवक्ता झाका अनुसार, वरपर डाँडाकाँडा देखिए पनि काठमाडौँ उपत्यका पहिले तलाउको रूपमा रहेको थियो । पछि पानी निकास गरेर बस्ती बस्न थालेको हो । त्यसैले उपत्यकाको जमिनमा बालुवा, माटोजस्ता पदार्थको मिश्रण पाइन्छ । यस्तोमा वर्षा हुँदा वा अन्य कारणले जमिनको भित्री भागमा पानी पसेर जमिन भासिने गर्छ ।
यसैगरी, अव्यवस्थित सहरीकरण र बसोबास यसको अर्को कारण हो । ‘खोला–नाला मिचेर बस्ती बस्ने र सडक बनाउने क्रम बढेको छ । यसो हुँदा पानीले स्वाभाविक रूपमा निकास पाउँदैन । कस्तो जमिनमा कस्तो पूर्वाधार निर्माण गर्ने भन्ने विषयमा पनि हाम्रो ध्यान कम जाने गरेको छ । जमिन भासिने घटना बढ्नुको अर्को कारण यो पनि हो । खासगरी यस्ता घटना वर्षाको समयमा बढी हुने गरेका छन्,’ प्रवक्ता झा भन्छिन् ।
प्रवक्ता झाका अनुसार, विभिन्न सरकारी निकायबिच समन्वयको अभाव पनि अर्को कारण हो । ‘खानेपानी व्यवस्थापन, सडक निर्माण, ढल निकासजस्ता कार्यमा सक्रिय निकायहरूबिच समन्वयको अभाव देखिन्छ । यी सबै निकायले आ–आफ्नै तरिकाले काम गर्छन् । एउटा निकायले एउटा प्रयोजनका लागि जमिन खन्छ । लगत्तै अर्को निकायले त्यही स्थानमा अर्को प्रयोजनका लागि जमिन खन्ने काम गर्छ । जमिन भासिने यो पनि अर्को कारण हो । हाम्रो अनुगमन प्रणाली पनि प्रभावकारी छैन,’ प्रवक्ता झाको कथन छ ।
यस्ता घटनाहरू प्राकृतिकभन्दा पनि मानवीय कारणले हुने गरेको पनि उनले बताइन् । ‘पहिले काठमाडौँ उपत्यकामा सहरीकरण पनि व्यवस्थित थियो । खोला–नाला मिचिएको थिएन । अहिले माटोको परीक्षण नै नगरी ठुला–ठुला पूर्वाधार बनिरहेका छन् । यी घटना मानवीय कारणले भइरहेका छन् । प्रकृतिविरुद्ध जाने प्रयास गर्दा यस्ता घटना हुन्छन्,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छठ पूजाका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट
-
चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु
-
पूर्वमुमा बडामहारानीको स्वास्थ्यमा सुधार, दैनिक अस्पताल जान्छन् ज्ञानेन्द्र
-
अमेरिकी राष्ट्रपति निर्वाचन : चिसोको बाबजुद बिहानैदेखि मतदान केन्द्रहरूमा लामो लाइन, फोटोहरू
-
बीपी राजमार्ग पुनर्निर्माणका लागि जापानको मुख ताक्दै सरकार
-
भ्लगर कार्की भन्छन्, ‘जिब्रो चिप्लियो, माफ गरिदिनुहोला’