बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
खेलकुद

यसकारण एकपछि अर्को विवादमा मुछिँदै छ देशकै सबैभन्दा पुरानो रङ्गशाला

शुक्रबार, ३२ साउन २०८१, ०६ : ५८
शुक्रबार, ३२ साउन २०८१

काठमाडौँ । एएफसी च्यालेन्ज लिग फुटबल प्रतियोगिता मङ्गलवार दशरथ रङ्गशालामा खेलियो । त्यो खेल नेपाल सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब र भुटानको पहिलो श्रेणीको लिग विजेता पारो फुटबल क्लबबिच खेलिएको थियो ।

उक्त खेलमा भुटानी क्लबले नेपालको चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोलले हरायो । करिब आठ महिनापछि दशरथ रङ्गशालामा खेलिएको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । यो खेल हुनुअघि दशरथ रङ्गशाला एसियाली फुटबल महासंघ (एएफसी) को निलम्बनमा परेको थियो ।

तर, मङ्गलवार खेलिएको चर्च ब्वाइज र पारो फुटबल क्लबबिचको प्रतिस्पर्धामा खेल र हार–जितभन्दा पनि रङ्गशालाको दयनीय अवस्थालाई लिएर बढी चर्चा भयो । खेल हुनुभन्दा एक दिनअघि जापानका चर्चित खेलाडी केइसुके होण्डाले दशरथ रङ्गशालाको विषयमा गरेको टिप्पणी पनि चर्चित बनेको थियो ।

तीनपटक विश्वकप फुटबल खेलिसकेका होण्डाले दशरथ रङ्गशालाको अवस्था निराशाजनक रहेको टिप्पणी गरेका थिए । उनी पारो फुटबल क्लबबाट खेल्न नेपाल आएका थिए । होण्डासँगै भुटानी क्लबका प्रशिक्षक पुष्पलाल शर्माले पनि रङ्गशालाको अवस्थाको बारेमा प्रश्न उठाएका थिए ।

दुर्भाग्य, होण्डा र भुटानी क्लबका प्रशिक्षक शर्माले रङ्गशालाको विषयमा टिप्पणी गरेको भोलिपल्ट खेल सुरु हुनुभन्दा केही घण्टाअघि काठमाडौँमा भारी वर्षा भयो । साँझ ६ः०० बजे खेल सुरु हुँदा वर्षा त रोकियो तर, एएफसी च्यालेन्ज लिग वर्षाको पानीले थिलथिलो बनाएको रङ्गशालामा खेल्नु पर्यो ।

दशरथ रङ्गशालाको फुटबल मैदान चीन सरकारले बनाएको होइन । आठौँ साफका लागि फ्लड लाइट र एथलेटिक्सको सेन्थेटिक ट्र्याक भने चीन सरकारले बनाएको हो । त्यसैले त्यतिबेला चीनका प्राविधिकहरूले फ्लड लाइटलाई आफूहरूले नबनाएको फुटबल मैदानभन्दा पनि आफूहरूले बनाएको एथलेटिक्स ट्र्याकमा बढी फोकस गरिदिए । अहिले त्यही समस्या देखिएको हो ।

खेलका क्रममा हिलाम्मे भएको दशरथ रङ्गशालामा दुबै टोलीका खेलाडीले स्वाभाविक प्रदर्शन गर्न सकेनन् । खेलका क्रममा खेलाडीले एकातिर प्रहार गरेको बल अर्कोतिर जान्थ्यो भने, बल नियन्त्रणमा लिन दौडिएका खेलाडी बलसम्म पुग्नुअघि नै चिप्लिएर अर्कैतिर पुग्थे ।

अवस्था कतिसम्म निरीह थियो भने खेलका क्रममा दशरथ रङ्गशालाको मैदानमा धान रोप्न तयार पारिएको खेतजस्तो बन्न पुगेको थियो । खेल सकेर मैदानबाट बाहिरिँदै गरेका अधिकांश खेलाडी हिलोमा लत्पत्तिएर चिन्न सकिने अवस्थामा थिएनन् । 

त्यसपछि पाहुना टोलीका खेलाडी र प्रशिक्षकले लगाएको आरोपलाई थप बल पुगेको थियो । त्यो खेलमा पाहुना टोली विजयी भएकाले उनीहरुले खेलपछि यसलाई ठुलो गुनासोको विषय बनाएनन् । अनुमान गरौँ त, यदि त्यो खेलमा पराजित भएको भए भुटानी टोलीले त्यसको रिस केमाथि पोख्थे होलान् ?

निलम्बन फुकुवा होइन, सशर्त फुकुवा !

यसअघि दशरथ रङ्गशालामा अन्तिम प्रतियोगिता करिब आठ महिनाअघि खेलिएको थियो । गत मंसिरमा विश्वकप छनोटअन्तर्गत नेपाल र यमनबिच खेलिएको खेल नै दशरथ रङ्गशालामा खेलिएको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । 

त्यसपछि नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग दशरथ रङ्गशालामा विश्वकप छनोट खेल खेल्नु पर्ने थियो । त्यसका लागि दशरथ रङ्गशालाको निरीक्षण गर्न वैशाखमा एएफसीको प्राविधिक टोली नेपाल भ्रमणमा आएको थियो । प्राविधिकहरूले आफ्नो प्रतिवेदन एएफसीमा बुझाएका थिए ।

नेपाल र यूएईबिचको खेलको मिति नजिकिँदै गर्दा एकाएक एएफसीले दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल खेल्न रोक लगाएको समाचार बाहिरियो । यो समाचारले हजारौँ घरेलु फुटबल समर्थकलाई आहत बनाउनु स्वाभाविक थियो । 

यसरी, घरेलु खेलकुदमा प्रमुख खेल निकायहरूबिचको सम्बन्ध चिसिएको बेला एकाएक एएफसीले दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन रोक लगाएको थियो । त्यसपछि नेपालले घरेलु मैदानमा खेल्नु पर्ने युएईविरुद्धको विश्वकप छनोट खेल पनि साउदी अरेबियामा खेल्न परेको थियो ।

अझ रमाइलो पक्ष त के हो भने, एएफसीले दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल खेलाउन रोक लगाएको समाचार यस्तो बेला बाहिरिएको थियो, जतिबेला युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सम्बन्ध अखिल नेपाल फुटबल संघ (एन्फा)सँग चिसिएको थियो । 

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन खेल टोली पठाउँदा ठुलो सङ्ख्यामा अनावश्यक व्यक्तिलाई पठाएको भन्दै मन्त्रालयले राखेपमार्फत एन्फासँग पटक–पटक स्पष्टीकरण सोधिरहेको थियो भने अर्कोतिर, राखेपले दशरथ रङ्गशालाको रेखदेख पनि आफैले गर्ने परिपत्र समेत जारी गरेको थियो ।

यसरी, घरेलु खेलकुदमा प्रमुख खेल निकायहरूबिचको सम्बन्ध चिसिएको बेला एकाएक एएफसीले दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन रोक लगाएको थियो । त्यसपछि नेपालले घरेलु मैदानमा खेल्नु पर्ने युएईविरुद्धको विश्वकप छनोट खेल पनि साउदी अरेबियामा खेल्न परेको थियो ।

त्यतिबेला एएफसीले दशरथ रङ्गशालाको विषयमा खासगरी तीनवटा प्रश्न उठाएको थियो । पहिलो, दशरथ रङ्गशालाको खेल मैदान, दोस्रो रङ्गशालाको सुरक्षा अवस्था र तेस्रो फ्लड लाइट (रङ्गशालामा प्रयोग गरिने कृत्रिम प्रकाश) ।

जे होस, एएफसीको निलम्बनका कारण नेपालले घरेलु मैदानमा युएईविरुद्धको विश्वकप छनोट खेल खेल्न पाएन । त्यसपछि लामो समय दशरथ रङ्गशाला एएफसीको निलम्बनमा रह्यो र त्यसबिचमा नेपालले फुटबलको कुनै ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तालिका पनि थिएन । 

करिब आठ महिनापछि आएर अहिले नेपालले एएफसी च्यालेन्ज लिग आयोजना गर्नु पर्ने भयो । यो खेल साउन २९ गते हुन तय भएको थियो । त्योभन्दा पाँच दिनअघि साउन २४ गते राखेपद्वारा एक विज्ञप्ति सार्वजनिक भयो । त्यो विज्ञप्तिमा दशरथ रङ्गशालाले पुनः एएफसीको मान्यता पाएको उल्लेख गरिएको थियो । 

फुटबल मैदान बनाउँदा माटो र बालुवाको पनि उपयुक्त तालमेल मिलाउनु पर्छ । माटोलाई राम्ररी थिच्नु पर्छ । यो प्राविधिक काम हो । तर, दुबो उमारेर खेल मैदान राम्रो देखाउने काममात्र भयो । यो त्यसैको परिणाम हो । माटो राम्ररी नथिचिएकाले पानीसँगै हिलो पनि माथि आएको हो । त्यसमाथि ड्रेनेजको व्यवस्था पनि राम्रो छैन ।

राखेपले आफ्नो विज्ञप्तिमा एएफसीका प्राविधिकहरूले साउन ९ गते पुनः दशरथ रङ्गशालाको निरीक्षण गरेको उल्लेख गरेको थियो । प्राविधिकहरूकै प्रतिवेदनका आधारमा एएफसीले दशरथ रङ्गशालालाई पुनः अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन मान्यता दिएको राखेपले उल्लेख गरेको थियो ।

‘लामो समयदेखि एन्फाले संरक्षण गर्दै आएको खेलमैदानप्रति एएफसीले प्रश्न उठाएपछि राखेपका सदस्यसचिव टंकलाल घिसिङले २०८० चैतदेखि राखेप आफैले रङ्गशालाको खेलमैदान संरक्षण र मर्मतको जिम्मा लिने निर्णय गर्नुभएको थियो । राखेपले संरक्षण गर्न थालेपछि एएफसीले फेरि दशरथ रङ्गशालालाई मान्यता दिएको छ,’ राखेपको विज्ञप्तिमा भनिएको थियो । 

राखेपको विज्ञप्ति हेर्दा एन्फाले संरक्षण गर्न नसकेकै कारण दशरथ रङ्गशाला निलम्बनमा परेको र राखेपले संरक्षण गर्न थालेपछि पुनः मान्यता पाएको झल्को दिने खालको थियो । तर, राखेपको उक्त विज्ञप्तिमा एएफसीले प्रश्न उठाएको खेल मैदान, सुरक्षा र फ्लड लाइटको समस्या कसरी समाधान भयो भन्ने विषयमा भने केही बोलिएको थिएन । 

राखेपका एक अधिकारीका अनुसार, दशरथ रङ्गशालाको प्लड लाइट पहिले जुन अवस्थामा थियो, अहिले पनि त्यही अवस्थामै छ । ती अधिकारीका अनुसार, फ्लडलाइटको समस्या समाधान गर्ने प्रयास भइरहेको छ तर, काम हुन बाँकी छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राई भने अहिले पनि एएफसीले दशरथ रङ्गशालालाई पूर्णरुपमा निलम्बन फुकुवा नगरेको बताउँछन् । ‘निलम्बन फुकुवाका लागि एन्फाले नै एएफसीसँग पत्राचार गरेको हो । निलम्बन फुकुवाका लागि हामीले विभिन्न आधार पेस गरेका थियौँ । तर, एएफसीले पनि छिट्टै सबै समस्या समाधान गर्ने सर्तमा निलम्बन फुकुवा गरेको हो । यही कुरा हामीले राखेपमा जानकारी गराएका हौँ,’ उनले रातोपाटीसँग भने । 

दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन रोक लगाउनुको पछाडि एएफसीले खासगरी तीनवटा कारण खेल मैदानको अवस्था, फ्लड लाइट र रङ्गशालाको सुरक्षाको अवस्थाको विषयमा प्रश्न उठाएको थियो । अब यी तीनवटै विषयमा छुट्टाछुट्टै चर्चा गरौँ । 

खेल मैदानको अवस्था : २५ वर्षदेखि भएको छैन पुनर्निर्माण

दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को आठौँ संस्करण सन् १९९९ मा नेपालमा आयोजना भएको थियो । त्यसअघि लामो समयदेखि दशरथ रङ्गशालाको खेल मैदान पुनर्निर्माण गरिएको थिएन । आठौँ साफका क्रममा दशरथ रङ्गशालाको खेल मैदान पनि पुनर्निर्माण गरिएको थियो ।

त्यसयता २५ वर्ष समय बितिसकेको छ । यसबिचमा खेल मैदानको पुनर्निर्माण गरिएको छैन । राखेपअन्तर्गतको पूर्वाधार तथा मर्मत शाखाका एक अधिकारीका अनुसार, दशरथ रङ्गशालाको खेल मैदान पुनर्निर्माण गर्ने समय भइसकेको छ ।

यसका अतिरिक्त दशरथ रङ्गशालामा पानी निकासका लागि ‘ड्रेनेज’ को प्रविधिमा पनि सुधारको खाँचो देखिएको छ । ‘रङ्गशालाको खेल मैदान लामो समयदेखि पुनर्निर्माण हुन सकेको छैन । पानी निकासका लागि ड्रेनेजमा पनि सुधारको खाँचो छ । यसतर्फ ध्यान दिनुको विकल्प देखिँदैन,’ ति अधिकारीले रातोपाटीसँग भने ।  

गत चैतमा एन्फाबाट आफ्नो संरक्षणमा लिएपछि राखेपले रङ्गशालाको खेल मैदानमा केही सुधारको काम भने गरेको थियो । तर एन्फाका महासचिव किरण राईका अनुसार, त्यो काम पनि सही तरिकाले गरिएको थिएन । 

‘रङ्गशालाको खेल मैदान पुनर्निर्माण गरिनु आवश्यक छ । राखेपले यसबिचमा सामान्य सुधारको काम भने गरेको छ । तर, त्यो काम पनि राम्ररी भएको छैन । काम राम्ररी नभएको विषयमा एन्फाले राखेपलाई जानकारी पनि गराएको थियो । एन्फालाई यसको जिम्मा दिन आग्रह पनि गरेको थियो तर, राखेपबाट यसको सुनुवाइ भएन,’ उनले भनेका छन् । 

एन्फाका महासचिवले पछिल्लो समय खेल मैदान बनाउँदा माथिबाट मार्टो छरेर राम्ररी दुबो उमार्ने काम भए पनि त्यसलाई डोजरले राम्ररी नथिचिएकाले खेलका क्रममा हिलोको समस्या भोग्नु परेको पनि बताए । 

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पनि पछिल्लो समय दशरथ रङ्गशालाको खेल मैदान सुधार गर्दा प्राविधिक समस्या देखिएको बताउँछन् । ‘फुटबल मैदान बनाउनु भनेको प्राविधिक काम हो । बालुवा र माटोको उपयुक्त तालमेल मिलाउनु पर्छ । माटोलाई राम्ररी थिच्नु पर्छ । ड्रेनेजको व्यवस्था पनि राम्रो हुनुपर्छ । यसअघि पनि पानी पर्दा खेल हुने गरेको थियो तर, यतिधेरै समस्या देखिएको थिएन,’ उनी भन्छन् ।

‘फुटबल मैदान बनाउँदा माटो र बालुवाको उपयुक्त तालमेल मिलाउनु पर्छ । माटोलाई राम्ररी थिच्नु पर्छ । यो प्राविधिक काम हो । तर, दुबो उमारेर खेल मैदान राम्रो देखाउने काममात्र भयो । यो त्यसैको परिणाम हो । माटो राम्ररी नथिचिएकाले पानीसँगै हिलो पनि माथि आएको हो । यसअघि पनि वर्षा हुँदा धेरैपटक खेल भएका छन् तर, यस्तो स्थिति देखिएको थिएन,’ उनी भन्छन् । 

उनले रङ्गशालामा फुटबलदेखि बाहेकका अन्य गतिविधि पनि धेरै भएकाले खेल मैदानको अवस्था थप बिग्रिएको दाबी पनि गरे । ‘दशरथ रङ्गशालामा फुटबलदेखि बाहेकका थुप्रै गतिविधि हुने गरेका छन् । विद्यालयका खेलकुद कार्यक्रम पनि दशरथ रङ्गशालामै हुन्छन् । यसले राखेपलाई केही पैसा आम्दानी त होला तर, समग्रमा रङ्गशालाको अवस्थालाई खराब बनाउँदै लैजान्छ,’ उनले भने । 

एन्फा महासचिवले काठमाडौँमा अन्तर्राष्ट्रिय स्तरको छुट्टै फुटबल मैदानको आवश्यकता पनि औँल्याए । ‘फुटबलका लागि छुट्टै अन्तर्राष्ट्रिय रङ्गशाला आवश्यक छ । यसका लागि एन्फाले प्रयास पनि थालिसकेको छ । सम्भवतः एन्फाको आगामी बैठकमा यस विषयमा निर्णय हुनेछ,’ उनले थपे ।

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पनि पछिल्लो समय दशरथ रङ्गशालाको खेल मैदान सुधार गर्दा प्राविधिक समस्या देखिएको बताउँछन् । ‘फुटबल मैदान बनाउनु भनेको प्राविधिक काम हो । बालुवा र माटोको उपयुक्त तालमेल मिलाउनु पर्छ । माटोलाई राम्ररी थिच्नु पर्छ । ड्रेनेजको व्यवस्था पनि राम्रो हुनुपर्छ । यसअघि पनि पानी पर्दा खेल हुने गरेको थियो तर, यतिधेरै समस्या देखिएको थिएन,’ उनी भन्छन् ।

जटिल छ फ्लड लाइटको कथा !

सन् १९९९ मा नेपालमा दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को आठौँ संस्करण आयोजना भएको थियो । दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठुलो प्रतियोगिता भएकाले त्यतिबेला नेपाल सरकारले खेलकुदको भौतिक पूर्वाधारमा सघाउन चीन सरकारसँग अनुरोध गरेको थियो ।

सोही अनुरूप चीन सरकारले आठौँ साफका लागि नेपालमा थुप्रै सुविधासम्पन्न खेल पूर्वाधार निर्माण गरिदिएको थियो । दशरथ रङ्गशालाको सेन्थेटिक एथलेटिक्स ट्र्याक, फ्लड लाइट र डिजिटल स्कोर बोर्ड पनि त्यतिबेला नै चीन सरकारले निर्माण गरिदिएको हो ।

यसका अतिरिक्त ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुटिङ रेन्ज, पौडी पोखरीलगायतका पूर्वाधार पनि त्यतिबेलै चीन सरकारले बनाइदिएको हो । त्यतिबेला दशरथ रङ्गशालामा पूर्वाधार तयार पार्दा नै फ्लड लाइटमा समस्या आएको हो । 

‘दशरथ रङ्गशालाको फुटबल मैदान चीन सरकारले बनाएको होइन । आठौँ साफका लागि फ्लड लाइट र एथलेटिक्सको सेन्थेटिक ट्र्याक भने चीन सरकारले बनाएको हो । त्यसैले त्यतिबेला चीनका प्राविधिकहरुले फ्लड लाइटलाई आफूहरूले नबनाएको फुटबल मैदानभन्दा पनि आफूहरूले बनाएको एथलेटिक्स ट्र्याकमा बढी फोकस गरिदिए । उनीहरुलाई हाम्रा प्राविधिकले सुझाव पनि दिएनन् । अहिले त्यही समस्या देखिएको हो । यो कुरा धेरैलाई थाहा छैन,’ त्यतिबेलाको कामलाई नजिकबाट नियालेका एथलेटिक्सका एक पूर्वअधिकारी भन्छन् । 

राखेपअन्तर्गत पूर्वाधार तथा मर्मत शाखाका एक अधिकारी पनि यो कुरा स्विकार्छन् । ‘अहिले रङ्गशालाको फ्लड लाइटको फोकस फुटबल मैदानभन्दा पनि एथलेटिक्स ट्र्याकमा बढी छ । हामीले यस विषयमा चीनीया प्राविधिकहरूसँग पनि कुराकानी ग¥यौँ । तर, उनीहरुले चीन सरकारको अनुमति बिना परिवर्तन गर्न नमिल्ने बताए । त्यसपछि समय यो समस्या सुल्झाउन हामीले नेपालस्थित चिनिया राजदूतावासमार्फत प्रक्रिया अगाडि बढाएका छौँ । तर, हालसम्म जवाफ आएको छैन । हामीसँग यसका लागि प्राविधिक पनि छैनन् । राति फुटबल खेलाउन जति लक्स आवश्यक पर्छ अहिले दशरथ रङ्गशालाको खेल मैदानमा त्यति लक्स प्रकाश पुग्दैन,’ ति अधिकारी भन्छन् ।

रङ्गशालाको सुरक्षा अवस्था : प्राविधिक खटाएर परीक्षण आवश्यक

एएफसीले दशरथ रङ्गशाला पुरानो भएकाले खेलका क्रममा कुनै दुर्घटना हुनसक्ने आशंकाबिच दर्शक, खेलाडी र खेल पदाधिकारीहरूको सुरक्षाको प्रत्याभूति खोजेको हो । ६५ वर्षभन्दा लामो इतिहास बोकेको दशरथ रङ्गशालाको अवस्था बुझ्न राखेपले २०७२ सालको भूकम्पअघि नै प्राविधिकहरू खटाएर परीक्षण गरेको थियो । 

२०७२ सालको भूकम्पअघि राखेपले दशरथ रङ्गशालाको साधारण प्यारापिटतर्फ रेट्रोफिटिङको काम गरेको थियो । रेट्रोफिटिङको काम सकिएलगत्तै देशमा विनाशकारी भूकम्प गयो । त्यतिबेला भूकम्पले ‘रेट्रोफिटिङ’ गरिएको साधारण प्यारापिटतर्फ कुनै असर नगरे पनि भीआईपीए प्यारापिटतर्फ भने केही स्थानमा क्षति पुरयाएको थियो ।

त्यतिबेला ह्यामर टेस्ट, गन टेस्टजस्ता विभिन्न विधिमार्फत दशरथ स्टेडियमको साधारण र भीआईभी प्यारापिटको अवस्था परीक्षण गरेको थियो । त्यतिबेला प्राविधिकहरुको सुझावमा केही सुधारको काम पनि गरिएको थियो । 

यसैगरी, २०७२ सालको भूकम्पअघि राखेपले दशरथ रङ्गशालाको साधारण प्यारापिटतर्फ ‘रेट्रोफिटिङ’ को काम पनि गरेको थियो । रेट्रोफिटिङको काम सकिएलगत्तै देशमा विनाशकारी भूकम्प गयो । राखेप स्रोतका अनुसार, त्यतिबेला भूकम्पले ‘रेट्रोफिटिङ’ गरिएको साधारण प्यारापिटतर्फ कुनै असर नगरे पनि भीआईपीए प्यारापिटतर्फ भने केही स्थानमा क्षति पुर्याएको थियो । 

यसैगरी, सन् २०१९ मा दक्षिण एसियाली खेलकुदको १३औँ संस्करण नेपालमा आयोजना भएको थियो । त्यसलाई ध्यानमा राखी राखेपले दशरथ रङ्गशालाको भौतिक संरचना र पूर्वाधारमा केही परिवर्तन पनि गरेको थियो । 

त्यसक्रममा साधारण प्यारापिटतर्फ छाना हाल्ने र काम भएको थियो । त्यसअघि भीआईपी प्यारापिटतर्फ ढलान गरिएको छत थियो । तर, सन् २०१९ को साग खेलकुदअघि भीआईपी प्यारापिटतर्फ पनि पुरानो छतलाई हटाएर हल्का छत हाल्ने काम भयो ।

‘पछिल्लो पटक दशरथ रङ्गशालाको भौतिक संरचनामा परिवर्तन गरिएपछि रङ्गशालाको भौतिक पूर्वाधारको सुरक्षा परीक्षण गरिएको छैन । साधारण प्यारापिटतर्फ छानो हाल्ने काम गरिएकाले स्वाभाविक रूपमा भार थपिएको छ । यस विषयमा छिट्टै प्राविधिक खटाएर परीक्षण गरिने तयारी हुँदै छ,’ ती अधिकारीले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप