बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
कृषि उपज

चार वर्ष अघिको तुलनामा धानबाट हुने खुद आम्दानी किसानका लागि उस्तै

शुक्रबार, ३२ साउन २०८१, ०६ : ३३
शुक्रबार, ३२ साउन २०८१

काठमाडौँ । चार वर्ष अघिको तुलनामा महँगी निकै बढे पनि धान खेती गर्ने कृषकको आम्दानीमा खासै परिवर्तन हुन सकेको छैन । प्रतिक्विन्टल धान उत्पादनको लागत र समर्थन मूल्यका आधारमा कृषकले गर्ने आम्दानी चार वर्षमा खासै फरक नदेखिएको हो ।

आर्थिक वर्ष २०७७-०७८ मा मोटा धान प्रतिक्विन्टल उत्पादन लागत दुई हजार १०३ रुपैयाँ रहेकोमा धानको समर्थन मूल्य दुई हजार ७३५ रुपैयाँ तोकिएको थियो । एक क्विन्टल धान बेच्दा किसानले लागत कटाएर जम्मा ६३२ रुपैयाँमात्र आम्दानी गर्दथे ।

यस्तै मध्यम धानको प्रतिक्विन्टल लागत दुई हजार २१९ रुपैयाँ रहेकोमा समर्थन मूल्य दुई हजार ८८५ रुपैयाँ थियो । यस आधारमा किसानले एक क्विन्टल मध्यम धान बेच्दा लागत रकम कटाएर जम्मा ६६६ रुपैयाँ आम्दानी गर्दथे ।

चार वर्षपछि अर्थात् आर्थिक वर्ष २०८१-०८२ मा मोटा धानको प्रतिक्विन्टल लागत मूल्य दुई हजार ७७८ रुपैयाँ रहेकोमा समर्थन मूल्य ३ हजार ४१० रुपैयाँ तोकिएको छ । यस आधारमा एक क्विन्टल मोटा धान बिक्री गर्दा किसानले लागत रकम कटाएर जम्मा ६३२ रुपैयाँमात्र आम्दानी गर्दछन् । मध्यम धानतर्फ लागत रकम प्रतिक्विन्टल दुई हजार ९१९ रुपैयाँ पुगेको छ, जसको समर्थन मूल्य ३ हजार ५८० रुपैयाँ तोकिएको छ । यस आधारमा किसानले एक क्विन्टल मध्यम धान बेच्दा लागत रकम कटाएर जम्मा ६६१ रुपैयाँ आम्दानी गर्दछन् ।

धानको प्रतिक्विन्टल समर्थन मूल्यबाट उत्पादन लागत घटाएर किसान पाउने नाफा विवरणः

nafa1

 कृषि विभागका उप–महानिर्देशक तथा प्रवक्ता डा. अरूण काफ्लेले बर्सेनि लागतअनुसार धानको समर्थन मूल्य वृद्धि भएको बताए । ‘हिमाल, पहाड, तराईमा उत्पादन गरिने धानलाई आधार मानेर हामीले मूल्य निर्धारण गर्छौं,’ उनले भने, ‘पछिल्लो समय धानको मूल्य समयमै निर्धारण हुने गरेको छ । सोही अनुसार किसानले मूल्य पाउने गरेका छन् ।’

सरकारले निर्धारण गरेकै समर्थन मूल्यका आधारमा निजी खरिदकर्ताले खरिद गर्नुपर्ने भएकाले किसानले निर्धारित मूल्यमै धान बेच्ने गरेको उनको भनाइ छ ।

यद्यपि, चार वर्ष अघि धानको लागत मूल्य कटाउँदा हुने आम्दानीको तुलनामा अहिलेको आम्दानी दर लगभग उस्तै भएका कारण आफू मर्कामा परेको किसान बताउँछन् । चार वर्षअघि मोटा धान एक क्विन्टल बेच्दा हुने खुद आम्दानी ६३२ रुपैयाँ थियो भने अहिले पनि त्यति नै रहेको तर यसबिचमा अन्य उपभोग्य वस्तुको मूल्य आकासिएका कारण मारमा पर्दै आएको उनीहरूको भनाइ छ ।

धानको उत्पादन प्रतिक्विन्टल लागत मूल्य विवरणः

lagat2

धानबाली विज्ञ डा. रामवरण यादवका अनुसार तीन वर्ष पहिला प्रतिहेक्टर धान उत्पादन गर्न करिब ७० हजार रुपैयाँ लाग्ने गरेकोमा हाल करिब ९२ हजार रुपैयाँ खर्च लाग्छ । सिँचाइ, जोताइ, रोपाइँ, मलखाद, गोडमेलदेखि भित्र्याउँदासम्म किसानले प्रतिहेक्टर ९२ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने उनको भनाइ छ ।

कृषि विज्ञ राम बहादुर केसीले किसानले सरकारले निर्धारण गरेको मूल्य पाए–नपाएकोबारे नियमन गर्नुपर्ने सुझाए । उनले समय–समयमा किसानले उचित मूल्य नपाएको विषय बाहिरिने गरेको भन्दै यसबारे निगरानी गर्नुपर्ने बताए ।

कृषि विभागको प्राविधिक समितिले प्रतिक्विन्टल धानको लागत निकालेर समर्थन मूल्य सिफारिस गर्दछ । सिफारिस गरेको रकम कहिले–काहीँ फरक पनि पर्ने मन्त्रालयका प्रवक्ता काफ्लेको भनाइ छ । ‘हामीले सिफारिस गरेको धानको मूल्य कहिलेकाहीँ फरक पर्न सक्छ,’ उनले भने, ‘सिफारिस गरिएको रकमभन्दा पनि बढेरै धानको समर्थन मूल्य निर्धारण हुने गरेको छ ।’

धानको प्रतिक्विन्टल समर्थन मूल्य विवरण :

samarthan multa3

आर्थिक वर्ष २०७८-०७९ मा मोटा धानको समर्थन मूल्य अघिल्लो वर्षको तुलनामा ०.६२ प्रतिशतले बढेको थियो । यस्तै मध्यम धानको समर्थन मूल्य अघिल्लो वर्षको तुलनामा ०.८३ प्रतिशतले बढ्यो ।

जबकि आर्थिक वर्ष २०७८-०७९ मा मोटा धानको उत्पादन लागतमा ६.५५ प्रतिशत र मध्यम धानको ६.६४ प्रतिशतले वृद्धि भएको थियो ।

आर्थिक वर्ष २०७९-०८० मा मोटा धानको समर्थन मूल्य ७.८१ र मध्यम धानको ७.५२ प्रतिशतले बढ्दा सोही वर्ष मोटा धान र मध्यम धानको लागत मूल्य समान ७.८० प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष २०८०-०८१ मा समर्थन मूल्य ७.७८ प्रतिशतले बढेको मोटा धानको लागत मूल्य ७.६३ प्रतिशतले र समर्थन मूल्य ७.४८ प्रतिशतले बढेको मध्यम धानको लागत मूल्य ७.३१ प्रतिशतले बढेको थियो ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप