१० बजे, १० समाचार
आज मिति २०८१ साल साउन महिनाको ३१ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. माओवादी बैठक
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाउनुअघि प्रदेशस्तरीय संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ । बिहीबार सकिएको स्थायी समिति बैठकले सबै प्रदेशमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जवसरमोर्चाको संयुक्त बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले बागमती प्रदेशमा भदौ ५ र ६ गते, विशेष र सम्पर्क समन्वय प्रदेशमा भदौ ७ र ८ गते बैठक बस्ने जानकारी दिए । यस्तै असोज पहिलो साता केन्द्रीय समिति बोलाइनेछ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान केपी ओली सरकारको काम कारबाहीबारे केही दिनमा संसद्मै बोल्ने भएका छन् ।
बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘यो सरकारको विषयमा म केही दिनमा संसद्मै बोल्छु ।’ त्यसैगरी पार्टी विभाजनबारे चलेको हल्ला पनि गलत भएको प्रचण्डले बताए ।
२. ओलीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई आगामी तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने तथा नयाँ कीर्तिमान राख्ने किसिमका ठोस योजना ल्याउन निर्देशन दिएका छन् ।
नेपाल सरकारका मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै सरकारको १०० दिनभित्र गरिने मुख्य कामबारे सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । उनले देश र जनताका लागि गर्नुपर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र कङ्क्रिट तयारी गर्न पनि निर्देशन दिएका छन् ।
३. राष्ट्रियसभा बैठक
प्रतिनिधिसभाले पारित गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ (टीआरसी) राष्ट्रियसभामा टेबल भएको छ ।
राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग लिखित र मन्त्रीहरूसँग मौखिक प्रश्नोत्तर कार्यक्रम भएको छ । राष्ट्रियसभामा प्रश्नोत्तरको कार्यक्रम भएको बिहीबार नै पहिलो पटक हो ।
३. संसदीय विशेष छानबिन समिति
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति सहकारीका अध्यक्ष तथा सञ्चालकहरूसँग सोधपुछ गरेको छ । बिहीबार बसेको समितिको बैठकले विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित सहकारीका अध्यक्ष तथा सञ्चालकहरूसँग सोधपुछ गरेको हो ।
४. साना वामपन्थीमा पहिरो
एक महिनाको बिचमा मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी दुई पटक विभाजन भयो । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबाट चोइटिएर बनेको नेकपा बहुमत र मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट अलग भएको सन्तबहादुर नेपाली समूहसँग एकता गरी महाधिवेशनको तयारीमा थिए वैद्य ।
तर एकता प्रक्रियाबाट सहसंयोजक धर्मेन्द्र बास्तोला समूह अलग्गिएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई ठुलो धक्का लागेको छ । पार्टीको कार्यदिशा वैज्ञानिक समाजवादी हुने कि नहुने भन्ने विषयमा वैद्य र बास्तोलाबिच मतभेद बढेपछि साउन १ गते पार्टी विभाजन भएको थियो ।
५. राज्य व्यवस्था समिति
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि व्यापक छलफलको आवश्यक रहेको बताएका छन् ।
बिहीबार राज्यव्यवस्था तथा सुशासन समितिमा बोल्दै उनले २०५९ र अहिलेको राजनीतिक अवस्था फरक भइसकेकाले समयानुकूल ऐन संशोधन हुनुपर्ने बताए ।
६. रास्वपा विवाद
रास्वपाको महामन्त्रीबाट पदमुक्त भएका डा मुकुल ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्पष्टीकरण सोधेको छ । मुकुललाई महामन्त्रीबाट पदमुक्त गरेको निर्णय निर्वाचन आयोगमा विचाराधीन रहेकै बेला रास्वपाले बुधबार अर्को स्पष्टीकरण सोधेको हो ।
७. अर्थ मन्त्रालयमा प्रस्ताव
प्रहरीको तल्लो दर्जाका कर्मचारीलाई १६ वर्ष सेवा गरेपछि पेन्सन दिनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ । गृह मन्त्रालयले निर्माणाधीन नयाँ प्रहरी ऐनको मस्यौदामा सो व्यवस्था राख्नुपर्ने प्रस्ताव अर्थको राय लिन पठाएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।
८. सेयर बजार
सेयर बजारमा हालसम्मकै उच्च कारोबार हुँदै झण्डै ३० अर्ब रुपैयाँ रेकर्ड राखेको छ ।
साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार कारोबार खुलेको केही मिनेटमा नै सेयर बजारले ३ हजारको विन्दु क्रस गरेको थियो भने ६ अर्बमाथिको कारोबार भएको थियो ।
थप समाचार
९. दुर्घटना
ट्रकले स्कुटरलाई ठक्कर दिएपछि तनावग्रस्त बनेको भक्तपुरको गठ्ठाघर क्षेत्रको अवस्था सामान्य बनेको छ । दिन भरजसो तनावपूर्ण बनेको गठ्ठाघर ठक्कर दिएको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएपछि अहिले अवस्था सामान्य बनेको हो ।
१०. कुलमानको गुनासो
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङ हुँदा खुसी हुने जमातले आफ्नो विरोध गरेको गुनासो गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बाल्दै उनले यस्तो बताएका हुन् ।
यो पनि..
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामतीमा सेवा प्रवेश ३२ वर्ष कायम गर्ने लोकसेवाको प्रस्ताव
-
त्रिभुवन विश्वविद्यालयमा नियुक्तिसँगै किन हुन्छ धर्ना ?
-
भारतीय ब्याट्सम्यानको निराशाजनक प्रदर्शन, पहिलो दिन ११ विकेट खस्यो
-
वरिष्ठ अमेरिकी सेना थिए ट्रम्पको होटल अगाडि पड्किएको ट्रकको चालक
-
पशुपति क्षेत्र विकास कोषका दुई जना परिषद् सदस्यविरुद्ध दायर रिट खारेज
-
कर्तव्यज्यान मुद्दाका आरोपी प्रहरी कार्यालयमा हाजिर