बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
स्थायी समिति बैठक

जनार्दनको फरक प्रस्ताव समेट्ने प्रचण्डको आश्वासन

बिहीबार, ३१ साउन २०८१, २१ : ४१
बिहीबार, ३१ साउन २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टी निर्माणसम्बन्धी उपमहासचिव जनार्दन शर्माले पेस गरेको फरक प्रस्तावलाई प्रदेशस्तरमा छलफल चलाउने गरी सम्बोधन गरेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार सम्पन्न बैठकले पार्टीको निर्णयसहित शर्माको फरक प्रस्तावलाई छलफलमा पठाउने सहमति भएको एक पदाधिकारीले जानकारी दिए ।

साउन २५ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘वर्तमान परिस्थिति र पार्टी निर्माणको नयाँ कार्यभार’ सम्बन्धी मौखिक प्रस्ताव पेस गरेका थिए । तर अध्यक्षको प्रस्तावमा असहमति जनाउँदै शर्माले १४ पृष्ठ लामो पुरक प्रस्ताव पेस गरेका थिए । सोही विषयमा छलफल गर्न प्रचण्डले स्थायी समिति बैठक बस्नुअघि पदाधिकारी बैठक बोलाएका थिए । दिउँसो १ बजेदेखि बसेको पदाधिकारी बैठक ३ बजेसम्म बसेको थियो ।

बैठकमा उपमहासचिव शर्माले आफ्नो फरक प्रस्ताव तल्लो तहसम्म छलफलका लागि लैजानुपर्ने अडान लिएपछि प्रदेशस्तरीय छलफलमा लैजाने सहमति भएको ती सदस्यले बताए ।

‘अध्यक्ष र उपमहासचिवबिच सवाल जवाफ भएको छ । आन्तरिक छलफलका विषय बाहिरिएकोमा प्रचण्डले असन्तुष्टि पोख्नो भयो । प्रभाकरजीले पनि आफूले अहिले नै नेतृत्वको विकल्प खोज्नुभन्दा फरक प्रस्तावलाई तल्लो तहसम्म लैजानुपर्ने अडान राख्नुभयो’, ती सदस्यले भने, ‘पार्टीको निर्णयसहित राय, सल्लाह, सुझाव तथा परामर्शका लागि प्ररक प्रस्तावलाई समेत छलफलका लागि लैजाने अध्यक्षले आश्वासन दिएपछि सहमति भएको हो ।’

बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले स्थायी समिति बैठकमा उच्च जनवादी बहस र छलफल भएको दाबी गरे । शर्माले उठाएका वैचारिक र राजनैतिक विषयलाई समेटेर जान कुनै समस्या नभएको अध्यक्ष प्रचण्डको भनाइ रहेको सापकोटाले बताए ।

‘बैठकमा प्रभाकरजीले उठाउनुभएको वैचारिक र राजनीतिक विषय समेटेर जान कुनै समस्या छैन । नेतृत्वको विषयमा छलफल चलाउँदै जाउँला । विचार संश्लेषण र पार्टी निर्माणमा छलफल र सुझाव लिन प्रदेशस्तरमा परामर्श गरौँ भन्ने प्रस्ताव राख्नुभयो । प्रभाकरजीले पनि नेतृत्वलाई थप बलियो बनाउने हिसाबले आफूले प्रस्ताव ल्याएको भन्नुभयो’, सापकोटाले भने ।

प्रवक्ता सापकोटाले प्रदेशस्तरबाट आएका परामर्श र सुझावका आधारमा दस्तावेज तयार गरी असोजको पहिलो साता पूर्ण केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको बताए । 

फरक प्रस्तावसहित पार्टीको निर्णय प्रदेशस्तरमा थप छलफल गर्ने 

एक पदाधिकारीका अनुसार खासगरी नेतृत्वको विकल्पको शर्माले राखेका तीन बुँदामा प्रचण्डले असन्तुष्टि जनाएका थिए । प्रचण्ड र शर्माबिच मतभेद अन्त्य भएसँगै पार्टी निर्माण तथा संगठन सुदृढीकरण अभियानमा एकताबद्ध भएर जानेमा नेताहरूले विश्वास लिएका छन् ।

राजनीतिक दस्ताबेजका लागि परामर्श गर्न भदौ पहिलो हप्तादेखि अन्तिम हप्तासम्म प्रदेशस्तरीय संयुक्त परामर्श बैठक बोलाएको छ । परामर्श बैठकमा अध्यक्षदेखि उपमहासचिवसम्म सहभागी हुने सापकोटाले बताए । साथै उक्त बैठकमा केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जवस/मोर्चाका पदाधिकारी सहभागी हुने बैठकले निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप