बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

किष्ट मेडिकल कलेजमा अभद्र व्यवहार र तोडफोड गर्नेलाई कारबाही गर्न माग

बिहीबार, ३१ साउन २०८१, २० : ४८
बिहीबार, ३१ साउन २०८१

काठमाडौँ । ललितपुरको इमाडोलमा अवस्थित किष्ट मेडिकल कलेजमा अभद्र व्यवहार देखाउने र तोडफोड गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । बुधबार कलेजको इमर्जेन्सी विभागमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको अभद्र व्यवहार र अस्पतालमा भएको तोडफोडको संघले गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

महासचिव डा. सञ्जीव तिवारीका अनुसार शल्यक्रिया गरिएको केही दिनपछि स्वास्थ्यमा जटिलता आएर एक जना बिरामीको साउन २६ गते उपचारको क्रममा मृत्यु भएको थियो । चिकित्सकहरूको अथक प्रयासका बाबजुद मृत्यु भएको विषयमा बिरामी पक्ष तथा नेपाल प्रहरीका प्रतिनिधिहरूसँग पटक पटक छलफल तथा वार्ता गरी जिल्ला प्रशासन कार्यालय ललितपुर तथा प्रहरी प्रशासनलाई उपचारका विषयमा जानकारी गराइएको थियो ।

‘यसरी जानकारी गराउँदा गराउँदै पनि अस्पतालको इमर्जेन्सी विभागजस्तो संवेदनशील क्षेत्रमा प्रवेश गरेर इमर्जेन्सी सेवा नै अवरुद्ध पार्ने प्रयास गरी बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीहरूमाथि अभद्र व्यवहार गर्ने, अस्पतालको भौतिक संरचनामा क्षति पुर्‍याउने, नाराबाजी, जुलुस, हुलहुज्जत, तोडफोड गर्ने र विशेषज्ञ चिकित्सकलाई समेत धम्की दिने कार्य भएको छ,’ तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  

संघले दोषीहरूको पहिचान गरेर अविलम्ब कानुनको दायरामा ल्याउन विज्ञप्तिमार्फत माग गरेको छ । ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (पहिलो संशोधन), २०७९ बमोजिम कानुनी कारबाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन नेपाल चिकित्सक संघ सम्बन्धित निकायसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप